६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इलामका ६ जना समाजसेवी सम्मानित

सम्मानित व्यक्तित्वहरू। तस्बिर: भीम/नागरिक

विभिन्न क्षेत्रमा योगदान गर्ने ६ जनालाई इलाममा सम्मान गरिएको छ। जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले समाजका लागि लामो समय योगदान गर्ने अग्रजलाई नगदसहित सम्मान गरेको हो।

इलाम नगरपालिका-१, साखेजुङमा आयोजित समारोहमा ‘पूर्ण–टुंग आदर्श नागरिक सम्मान’ इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैद्यलाई प्रदान गरिएको छ। ५५ हजार पाँच सय ५५ रूपैयाँसहित वैद्यलाई सम्मान गरिएको छ। ‘शिवमाया-लक्ष्मण अग्रणी महिला सम्मान’ श्रीमती विष्णुकुमारी दाहाल लिम्बूलाई प्रदान गरिएको छ।

त्यसैगरी ‘पदम-टुंग आदर्श शिक्षक सम्मान’ मिलनचन्द्र सन्यासीलाई, ‘गजराज खम्बसिंह जानुकादेवी आदर्श समाजसेवी सम्मान’ हेममणि प्रधानलाई र ‘उदयरत्न सावित्री कृषक सम्मान’ रिन्जीफुर्वा शेर्पालाई प्रदान गरिएको आयोजक विमल वैद्यले जानकारी दिए।

यी सम्मानको राशि जनही ३३ हजार तीन सय ३३ रुपैयाँ छ। ‘रामहरि-नारायणप्रसाद उत्कृष्ट आधारभूत शिक्षक सम्मान’ कुसुमकुमारी राईलाई १० हजार रूपैयाँ नगदसहित प्रदान गरिएको आयोजक समितिले जनाएको छ।

सम्मान समारोहमा पुरस्कारका मुख्य संस्थापक गोपालकुमार बस्नेतले समाजमा असल काम गर्नेहरूलाई बिर्सन नहुने बताए। ‘नयाँ पुस्ताले पनि समाजमा असल काम गर्नेहरूको पहिचान र सम्मान गरून्, त्यसैअनुसार आफूलाई पनि अघि बढाउन सकून् भन्ने प्रतिष्ठानको उद्देश्य हो,’ उनले भने, ‘इलाम मात्र होइन, झापा, पाँचथर र ताप्लेजुङमा पनि यो कार्यक्रम गर्दै छौं।’

बस्नेतले समाज आदर्श व्यक्तिको खोजी र सम्मानमा लाग्नुपर्ने बताए। 

प्रकाशित: १६ कार्तिक २०८० ०३:१८ बिहीबार

इलामका ६ जना समाजसेवी सम्मानित