१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बम विस्फोटमा १४ महिने बालकसहित ५ घाइते

इटहरी– इटहरी उपमहानगरपालिका वडा नं. ९ भलादमी टोलमा कांग्रेस नेता विजयकुमार गच्छदार सहभागी कार्यक्रम स्थलनजिकै बिहीबार दिउँसो बम विस्फोट हुँदा १४ महिने बालकसहित पाँचजना घाइते भएका छन्।

दिउँसो १२ बजेतिर नेपाली कांग्रेसको कार्यक्रम भइरहेको स्थाननजिकै बम विस्फोट हुँदा इटहरी वडा नं. ९ की जानुका न्यौपानेका १४ महिने छोरा युमन, ४२ वर्षीया निर्मला अधिकारी, १६ वर्षीया सिम्रना अधिकारी, ४० वर्षीय धनबहादुर श्रेष्ठ र ४५ वर्षीया कुमारी कटुवाल घाइते भएका हुन्।

घाइते युमन र धनबहादुरको विराटनगरको न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सञ्जय राउतले बताए । युमन घरनजिकै खेल्दै बम विस्फोट भएको स्थाननिर पुगेका थिए।

प्रहरीका अनुसार घाइतेमध्ये अन्य तीनलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान लगिएको छ । घाइते पाँचैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनायो।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. ३ चुनाव परिचालन समितिका दीपक ढकालका अनुसार कार्यक्रम सुरु भएर स्वागत मन्तव्य राखेलगत्तै बम विस्फोट भएको हो । ‘कार्यक्रममा स्वागत मन्तव्यपछि म बोलिरहेको थिएँ, एक्कासि बम पड्कियो,’ उनले भने, ‘धन्न कार्यक्रमका सहभागीलाई विस्फोटले असर गरेन।’

कार्यक्रममा कांग्रेस नेता तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदार, राज्यमन्त्री सुमित्रादेवी थरुनी, निवर्तमान सांसद कल्पना गच्छदारलगायत सहभागी थिए । बम पड्किएपछि कांग्रेसको चुनावी कार्यक्रम बिथोलिएको थियो।

कार्यक्रम सुरु भएपछि बम विस्फोट भएको प्रहरीले जनाएको छ । असई ढकनारायण श्रेष्ठका अनुसार बाटोमा कार्यक्रम भइरहेकोमा छेउमै रहेको खाली जग्गाको कुनोमा बम पड्किएको थियो । प्रहरीको उपस्थितिमा बम विस्फोट भएकोमा प्रहरी पनि अचम्भित भएको छ।

ठूलो आवाजमा सबैलाई तर्साउने बम पड्किएको प्रहरीले जनायो । बम पड्किएलगतै प्रदेश नं. १ का एआइजी पशुपति उपाध्यायसहित सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेका थिए । कार्यक्रम स्थलमा पुगेका उपाध्यायले भने, ‘थप अनुसन्धान जारी छ।’

प्रकाशित: १५ मंसिर २०७४ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App