७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

सडक सुरक्षासम्बन्धी जागरणमूलक प्रभातफेरी

६८ औं प्रहरी दिवसको अवसरमा आइतबार ताप्लेजुङमा सडक सुरक्षा र अपराध नियन्त्रणसम्बन्धी जनचेतनामूलक प्रभातफेरीको आयोजना गरिएको छ। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा चेतनामूलक प्रभातफेरी आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीले जानकारी दिए।

प्रभातफेरीसँगै सडक सुरक्षाका उपाय तथा अपराध नियन्त्रणसम्बन्धी पर्चासमेत वितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरीक्षक गोपाल भुजेलले बताए। यात्रु तथा चालकलाई यातायात सुरक्षा उपायका बारेमा समेत जानकारी पुग्ने गरी चेतनामूलक सामग्री वितरण गरिएको प्रहरीले बताएको छ।

प्रहरीले पैदलयात्रीलाई फुटपाथको प्रयोग गर्न र फुटपाथ नभएको ठाउँमा सडकको दाँयाबाट हिँड्न आग्रह गरेको छ। यस्तै जेब्रा क्रस भएको ठाउँबाट मात्र बाटो काट्न र जेब्रा क्रस नभएको स्थानमा दायाँबायाँ राम्ररी हेरेर हतार नगरी बाटो काट्न आग्रह गरिएको छ।

मोड तथा रोकिएको सवारीका अगाडि वा पछाडिबाट बाटो नकाट्न, बालबालिकालाई सडकमा खेल्न नछाड्न, हतारमा तथा मोबाइल फोनको प्रयोग गर्दै बाटो नकाट्न, राति हिँड्दा सेतो वा चम्किलो लुगा लगाउन र बालबालिकालाई सडकको कुनातिर पारेर हिँड्नसमेत प्रहरीले आग्रह गरेको छ।

झुन्डिएर वा छतमा यात्रा नगर्न, चालकको ध्यान खल्बलिने कुनै कार्य नगर्न, गाडी रोकिएपछि मात्र चढ्ने र झर्ने गर्न, शरीरको कुनै पनि अंग सवारी साधनबाहिर ननिकाल्न, खाना खाने समयमा चालकमाथि निगारानी राख्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ।

यस्तै तोकिएको गतिभन्दा बढीमा सवारी नचलाउन, घुमाउरो र अप्ठेरो भागमा अर्को सवारीलाई ओभरेटक नगर्न, मोटरसाइकलमा दुईभन्दा बढी यात्रु यात्रा नगर्न, मोटरसाइकलमा बस्ने दुवैले अनिवार्य हेलमेटको प्रयोग गर्न प्रहरीले चालकलाई आग्रह गरेको छ।

मादक पदार्थ सेवन गरी सवारी नचलाउन, शारीरिक तथा मानसिक अवस्थामा थकित भएको समयमा सवारी नचलाउन, तीव्र गति र जिकज्याक गरी सवारी नचलाउन, सवारी साधन सञ्चालन गर्नुअघि सवारी साधनको अवस्थाको राम्रो चेकजाँच गर्न, बायाँ च्यापेर सवारी चलाउन र ओभरटेक गर्नुपरे दायाँबाट मात्र गर्न, सवारी चलाउँदा सिट बेल्ट तथा हेल्मेटको पेटी अनिवार्य बाँध्न, एम्बुलेन्स तथा दमकललाई सडक प्रयोगमा प्राथमिकता दिन सवारी चालकलाई प्रहरीले आग्रह गरेको छ।  

प्रकाशित: २९ आश्विन २०८० ०३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App