बाँकेको नेपालगञ्जमा जारी कर्फ्यू थप खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेले नयाँ आदेश जारी गर्दै कर्फ्यू र निषेधाज्ञालाई थप खुकुलो बनाएको बताएको हो।
प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले नेपालगञ्जमा आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र त्यसपछि बिहान ४ बजेसम्म कर्फ्यु लागू रहने बताएका छन्।
गत सोमवारदेखि जारी गरिएको कर्फ्यू बिहीवारदेखि केही खुकुलो बनाइएको थियो। सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी नेपालगञ्ज उपमहानगरमा कर्फ्यू र निषेधाज्ञा जारी गरिएको थियो।
बिहीवारदेखि राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकोमा आजबाट थप सहज भएको हो।
निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर/पर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।
प्रकाशित: २१ आश्विन २०८० ०३:१८ आइतबार