१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सद्भावको पर्याय नेपालगन्ज

सामाजिक तथा धार्मिक सद्भावका लागि नेपालगन्जमा मंगलबार निकालिएको बृहत् र्‍याली। तस्बिर: रासस

नेपालगन्जमा २०६३ सालमा हिन्दु र मुस्लिम समुदायबीच विवाद हुँदा भौतिक संरचनामा ठुलो क्षति पुग्यो। यहाँ बेलाबेलामा धार्मिक सद्भाव खलबल्याउने प्रयास भइरहन्छन्। सामाजिक तथा धार्मिक सद्भावको सहरका रूपमा परिचित नेपालगन्जले त्यस्ता प्रयासलाई चिर्दै आफ्नो परिचय भने जोगाउँदै आएको छ। फेरि अहिले पनि धार्मिक सद्भाव खल्बल्याउने प्रयास भएको छ। यो प्रयासलाई पनि निस्तेज पार्न धार्मिक अगुवा सक्रिय भएका छन्।

मुस्लिम समुदायको मोहम्मद दिवसका दिन गत असोज ११ गते एक युवकले सामाजिक सञ्जालमा मुस्लिम समुदायको धार्मिक आस्थामाथि ठेस पुग्ने गरी टिप्पणी लेखे। त्यसपछि उत्पन्न परिस्थितिले मंगलबार नेपालगन्ज तनावग्रस्त बन्यो।

प्रहरी, प्रशासन, राजनीतिक दल, धर्म गुरु र नागरिक समाजले विवाद मत्थर पार्न खोजे।हिन्दु र मुस्लिम समुदायबीचको विवाद समाधान गर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न बृहत् सद्भाव र्‍याली निकालियो। र्‍यालीमा हिन्दु र मुस्लिम समुदायका धर्म गुरुसहित राजनीतिक दल, नागरिक समाज, सर्वसाधारणलगायत सहभागी थिए।

सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले गरेको प्रदर्शन र ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीका क्रममा विवाद उत्पन्न हुँदा दिनभरि नेपालगन्ज अशान्त बन्यो।

परिस्थिति शान्त पार्न सद्भाव र्‍याली निकालिए पनि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधि हुन थालेपछि सर्वसाधारणको सुरक्षा गर्न र सम्भावित जोखिम रोक्न प्रशासनले अनिश्चितकालीन कफ्र्यु लगायो।

नेपालगन्ज नगर क्षेत्र (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाका) भित्र भेला, सभा, समारोह, जुलुस, हुल हुज्जत र हिँड्डुल गर्न बन्देज लगाइएको छ। अवस्था थप बिग्रिन नदिन प्रहरीले हवाई फायरसमेत गर्नुपर्‍यो।

धर्म गुरुहरूले धार्मिक सद्भाव कायम गरी एकअर्काप्रति सम्मान गर्नुपर्ने बताएका छन्। बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले धार्मिक सद्भाव कायम गर्नुपर्ने बताए। 

‘धर्म गुरुहरू एक ठाउँमा छौं,’ सद्भाव र्‍यालीलाई सम्बोधन गर्दै उनले भने, ‘नेपालगन्जमा धार्मिक एकता कायम गर्न सबै आआफ्नो ठाउँबाट जिम्मेवार हुनुपर्छ। सद्भाव बलियो बनाउनुपर्छ।’

त्यस्तै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पनि नेपालगन्जको परिचय सामाजिक तथा धार्मिक सद्भावलाई निरन्तरता दिनुपर्ने बताएका छन्। यहाँका बासिन्दाले पनि नेपालगन्ज सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुताको नमुना सहर भएकाले यसलाई बचाउनुपर्ने धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका छन्।

समाजिक सञ्जालमा शंकर न्यौपानेले बहुधार्मिक, बहुसांस्कृतिक र सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुताको नमुना सहर नेपालगन्जलाई शान्त, संयम र सुरक्षित राख्नुपर्ने बताएका छन्।

वरिष्ठ पत्रकार झलक गैरे सामाजिक सञ्जालमा लेख्छन्, ‘बिरालो तर्साउन जब बन्दुकले मान्छे ताक्न थालिन्छ, बुझ्नुपर्छ त्यो समाजको चेतनास्तर पशुवत् छ। नेपालगन्जमा बेलाबेला घर पोलेर न्यानो लिने दुष्प्रयासमा जो जति कारक र सहायक छन् तिनको पहिचान गर्न राज्यले मिहिनेत गरोस्, दण्डहीनतालाई प्रश्रय दिँदासम्म यो अपराधले निरन्तर नेपालगन्जलाई झस्काइ र तर्साइ रहनेछ। हाम्रो नेपालगन्ज जोगाऊँ।’

नेपाली कांग्रेस बाँकेले सामाजिक एवं धार्मिक विविधताभित्र देखिएको अभूतपूर्व एकता यहाँको विशेषता भएकाले हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिंग र समुदायको रंगिन फूलबारीरूपी नेपालगन्जको शान्त तलाउमा ढुंगा हानेर धार्मिक र जातीय विद्वेष फैलाउने कुचेष्टाविरुद्ध नेपालगन्जको अभूतपूर्व एकता फेरि हिमालझै अटल भएर उभिन जरुरी रहेको जनाएको छ।

बाँके क्षेत्र नम्बर २ का सांसद डा. धवलशमशेर राणाले प्रतिनिधिसभा बैठकबाट नेपालगन्जको धार्मिक एकता कायम राख्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा जातीय तथा धार्मिक द्वन्द्व बढाउने टिप्पणी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्।

धर्मगुरुहरू एकै ठाउँमा

अर्जुन ओली,नेपालगन्ज

नेपालगन्जमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न धर्मगुरु एकै ठाउँमा उभिएका छन्। केही दिनदेखि ‘अशान्त’ बनेको नेपालगन्जमा मंगलबार सद्भाव र्‍याली निकालिएको छ। र्‍यालीमा विभिन्न धर्मका गुरुहरू सहभागी भए। जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो।

बिपी चोकबाट निकालिएको सद्भाव र्‍याली सुर्खेतरोड हुँदै वीरेन्द्र चोक पुगेर समापन भएको थियो। र्‍यालीमा विभिन्न धर्मका गुरु, राजनीतिक दलका प्रमुख, प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सांसद, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता थियो।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै बागेश्वरी मन्दिरका मूल महन्त चन्दननाथ योगीले भने, ‘समाजलाई बिगार्न कुतत्वहरू चाहन्छन् तर हाम्रो सद्भावलाई तोड्न सक्दैनन्।’

मुस्लिम धर्म गुरु अब्दुल जब्बार मन्जरीले नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव गुलाबको फूलजस्तै रहेको बताए। ‘यो सामाजिक सद्भावलाई बचाइ राखौं, यसमा हामी सबै धर्मगुरु एकजुट छौं,’ उनले भने, ‘जसले सद्भाव बिगार्छ, त्यसको पक्षमा हामी छैनौं।’

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दुई दिनअघि भएको सामान्य घटनालाई लिएर केही तत्वले सद्भाव बिथोल्न खोजेको बताए। सद्भावको सहरका रूपमा नेपालगन्जले छुट्टै परिचय बनाएको उल्लेख गर्दै उनले भने, ‘नेपालगन्जमा बहुभाषिक, बहुधार्मिक समुदाय बसोबास गर्छन्। केही यस्ता तत्वहरू छन्, जसले सामान्य कुरालाई लिएर धार्मिक तथा सामाजिक सद्भाव बिथोल्न खोज्छन्। तर नेपालगन्जको धार्मिक तथा सामाजिक सद्भाव त्यति कमजोर छैन।’

सद्भाव बिथोल्न खोज्नेलाई प्रहरी प्रशासनले नियन्त्रणमा ल्याउनुपर्ने उनले बताए।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भावको सहर भएको बताए। व्यक्तिले गरेको गल्तीमाथि कानुनी कारबाही हुने बताउँदै उनले सद्भाव कायम राख्न सबैको भूमिका महत्वपूर्ण रहेको र हुने धारणा राखे।

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। सूचनामा कुनै पनि ब्यक्ति, संघसंस्था वा सम्प्रदायलाई कसैको धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मविरुद्ध हुनेगरी सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमका संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने र कानुनविपरीतका गतिविधि नगर्न आग्रह गरिएको छ।

प्रकाशित: १७ आश्विन २०८० ०१:१५ बुधबार

सद्भावको पर्याय नेपालगन्ज सामाजिक तथा धार्मिक सद्भाव