९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भत्काउन दुई दिन, बनाउन कति?

खहरे खोला व्यवस्थापनका ढिलाइ भएको बताउँदै सोमबार आन्दोलनमा उत्रिएका कपनका सर्वसाधारण। तस्बिर: उपेन्द्र/नागरिक

चकुन्चा (खहरे खोला) खोलेको महिनौं दिन बित्दा पनि व्यवस्थापन नभएको भन्दै कपनका स्थानीय आन्दोलित भएका छन्। साउन अन्तिम साता काठमाडौं महानगरपालिकाको डोजरले कपनको चकुन्चा खोलेपछि बाढीको भेल खेप्दै आएका सर्वसाधारणले अहिले दुर्गन्धको सामना गर्नु परेको बताए।

कपनमा खोला मिचेर बनाइएका अनधिकृत संरचना हटाउने भन्दै काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाबीच साउनको अन्तिम साता तीन बुँदे सहमति भएसँगै खोल खोल्ने काम सुरु भएको थियो।

सोही समयमा व्यवस्थापनका अन्य कुरा चाँडो सक्ने भनिएको थियो। तर, अझै पनि व्यवस्थापन हुन नसक्दा सर्वसाधारण आन्दोलित भएका हुन्।

‘खहरे खोलेसँगै यो अहिले फ्याल्ने ठाउँ भएको छ,’ बुनपा-१० का राजकुमार श्रेष्ठ भन्छन्, ‘बाढीको भेलसँगै अब दुर्गन्धले सताउन थालेको छ।’

खहरेमा पानी घट्दै जादा दुर्गन्ध बढेकाले सर्वसाधारण आत्तिएका छन्। फोहोरमा लामखुट्टे धेरै देखिन थालेको छ। हैजाको डरले सताउन थालेको सर्वसाधारण बताउँछन्। ‘खहरे खोल्ने बेलामा यो पक्ष उ पक्ष भनेर छुट्यौं,’ नारद अधिकारी भन्छन्, ‘अहिले यसको दुर्गन्धले सबैलाई प्रभावित बनाएको छ।’

पानीको व्यवस्थापनका लागि कल्भर्ट बक्स राख्ने पहिलैको योजना उत्तम भएको भन्दै यसैलाई निरन्तरता दिनुपर्ने उनले बताए। ‘अदालतको आदेशअनुसार अगाडि बढ भनेर मंगलबार हामी उपत्यका विकास प्राधिकरणमा पनि ज्ञापनपत्र बुझाउन जाने छौं ,’ उनले भने, ‘कसैको लहड र लापरबाहीले हजारौं जनताले सास्ती भोग्दै छन्।’

बूढाीलकण्ठ-१० का वडाध्यक्ष नवराज भट्टराई महानगरले एकलौटी ढंगबाट अगाडि बढ्दा जोखिमको अवस्था सिर्जना भएको बताउँछन्। आफूहरूले उतिबेला जे भनेको अहिले त्यही समस्या देखिन थालेको उनको भनाइ छ।

‘व्यवस्थापनको रूपरेखा नबनाई न भत्काउन भनेका थियौं,’ उनले भने, ‘जबरजस्ती भत्काउँदा सर्वसाधारणले समस्या भोग्दै छन।’ खोला खोल्न हतार गर्ने महानगरले यसको व्यवस्थापनमा ढिलाइ गरे झनै जोखिम हुने उनी बताउँछन्।

यता, काठमाडौं महानगर भने खोलाको दुवै किनारमा ढल निकाससहितको कोरिडोर खोल्ने योजना रहेको बताउँदै आएको छ। ‘भताभुंग बनाउन होइन, सौन्दर्यकरण गर्न यो कार्य गरेका हौ,’ प्रवक्ता नवीन मानन्धर भन्छन्।

प्रकाशित: १६ आश्विन २०८० ०२:०० मंगलबार

चकुन्चा (खहरे खोला) भत्काउन दुई दिन बनाउन कति?