यांगुन (म्यान्मार)- हरेक दिन रिक्सामा माइक राखेर बौद्धगान गाउँदै घरघर आउने भिक्षु केही दिनदेखि आउन छाडेका छन् ।
बिहान सबेरै ठूलो स्वरमा हुने धार्मिक अनुष्ठान पनि अचेल सुनिँदैनन् । भिक्षु र ‘गुम्बाका सहयोगी’ आउँछन् कि भनेर घर, कार्यालयदेखि व्यापारिक संस्थासम्म भिक्षा दिनेहरु पर्खेका छन् । यांगुन क्षेत्रीय प्रशासनले अचानक यस क्षेत्रका सार्वजनिक स्थानमा धार्मिक गतिविधिमा रोक लगाएको छ ।
म्यान्मार टाइम्सका पत्रकार चान थार लेख्छन्, ‘गत अगस्ट २५ देखि रखाइन प्रान्तमा भइरहेको बौद्ध–मुसलमान धार्मिक द्वन्द्वपछि दंगा नहोस् भनेर यांगुन प्रशासनले विज्ञप्ति जारी गरेको छ ।’
उनी यांगुनका समाज कल्याण मन्त्रीलाई उद्धृत गर्दै अगाडि लेख्छन्, ‘ठूला स्पिकर प्रयोग गरी वा अन्य धार्मिक भेला गरेर अरुलाई असर पर्ने काम गर्न पाइनेछैन ।’ हिउँदमा शान्त बग्ने म्यान्मारको इरावदी नदीलाई देखेर कसैले अनुमान लगाउन सक्दैन, बर्खामा यसको बदमासी कतिसम्म हुन्छ । इरावडी नदीजस्तै छ, म्यान्मारको बौद्ध समाज पनि । बाहिर देख्दा जति शान्त, विनम्र र बहुल छ, बहुल समाजबीचको सम्बन्ध भने ठ्याक्कै उल्टो देखिन्छ ।
म्यान्मारमा देखिने स्तूप, गुम्बा, मन्दिरको सुन्दरता र गरिमा अद्वितीय छ । गाउँसहर जताततै भेटिन्छन्, गेरु वस्त्रधारी भिक्षु–भिक्षुणी । उज्यालो अनुहार, मुण्डन गरिएको शिर र गेरु वस्त्रधारी यिनै भिक्षु–भिक्षुणीले म्यान्मारलाई संसारमै एउटा फरक देशका रूपमा चिनाएको छ ।
गल्लीगल्लीमा हरेक बिहान भिक्षाका लागि लस्करै हिँड्ने भिक्षु–भिक्षुणी देखेर छुट्टै आनन्द आउँछ । सानासाना नानी हिँडिरहेका हुन्छन्, कलेजी भेस पहिरिएर शालीन तरिकाले एउटै रेखामा । लाग्छ, सयौँ नानी सिद्धार्थ गौतमको भेसमा धर्तीमा आइरहेका छन् ।
बिहान ४ बजेदेखि नै गुम्बा र स्तूपमा बज्न थाल्ने घन्टीले दिन्छ, एउटा छुट्टै आनन्द । तर, म्यान्मार आएको केही दिनदेखि पंक्तिकारलाई एउटा प्रश्नले गाँजिरहेको छ, ‘मलाई जस्तै सबै धर्म–समुदायका मानिसलाई गुम्बा र स्तूपका घन्टीबाट निस्कने आवाजले आनन्द दिइरहेको छ कि पीडा ?’ ०००
पसल, स्विमिङपुल, पार्कलगायत सार्वजनिक स्थानमा म्यान्मारवासी खुलेर कुरा गर्छन् । कान्डवेगी लेकमा नियमित भेट हुने दाँत विशेषज्ञ ७२ वर्षीय ‘सा सा’ मजाले स्विमिङ गर्छन् । कहिलेकाहीँ प्रतिस्पर्धा नै चल्छ, पंक्तिकारसँग । अधिकांश बर्मेलीझैँ पंक्तिकारलाई उनको दोस्रो प्रश्न थियो, ‘तिमी कुन धर्म मान्छौ ?’
‘मलाई सबै धर्मप्रति सम्मान छ, केही वर्षदेखि म कुनै धर्म अभ्यास गरिरहेको छैन,’ पंक्तिकारको उत्तरले उनी दिन थाले लामो प्रवचन । त्यसपछि भन्न बाध्य भइयो, ‘म हिन्दू संस्कृतिमा हुर्किएको हुँ ।’ हिन्दू बुद्धलाई विष्णुको नवौं अवतार मान्छन् भन्ने सुनेर उनी खुसी भए ।
‘अल दी मुस्लिम्स आर टेरोरिस्ट,’ उनले भने । उनी मात्रै होइन, हाम्रो अपार्टमेन्टका गार्डलाई धेरै दिनदेखि खुलदुली थियो, हामी कुन धर्म मान्छौँ भनेर । धर्म र खासगरी मुसलमानबारे यति धेरै चिन्ता कहाँबाट आयो ? किन उनीहरू मुसलमानलाई आतंककारी ठान्छन् ?
काठमाडौंका कतिपयले सबै मधेसी मूलकालाई भारतीय ठानेजस्तै यहाँका बौद्धमार्गीले सबै मुसलमानलाई आतंककारी ठान्दा रहेछन् । म्यान्मारका हिन्दूले पनि मुसलमानलाई हेर्ने दृष्टिकोणमा खासै फरक छैन । हिन्दू व्यापारीलाई के भ्रम छ भने, बौद्धमार्गी मुस्लिमको पसलमा किनमेल गर्न जाँदैनन् । त्यसैले उनीहरू आफ्नो पसलमा बुद्ध वा हिन्दू देवताका तस्बिर झुन्ड्याउँछन् । महिलाहरू हिन्दू संस्कारअनुसार शृंगार गर्छन् । पुरुषहरू नियमित दाह्री खौरिन्छन् र निधारमा चन्दन लगाई हातमा डोरा बाँध्छन् । म्यान्मारभित्र विभेदको राजनीति विचित्रको रहेछ, जसले मान्छेलाई धर्म र ढर्राको दास बनाइरहेको छ ।
०००
भारतका प्रसिद्ध सामाजिक अभियन्ता भीमराव अम्बेडकरको माक्र्स र बुद्धबारे एउटा विशेष आलेख केही साताअघि एउटा नेपाली अनलाइनमा प्रकाशित थियो । उनले नेपाल आएका बखत दिएको लिखित भाषणको अनुवाद थियो त्यो । भाषणमा उनले बर्मा आएका बखत यहाँका बौद्धमार्गीले जग्गा र सम्पत्तिको लोभ नगरेको उल्लेख गरेका छन् । तर, अम्बेडकरको अनुभव समेत सतही रहेछ ।
सम्पत्तिमाथि म्यान्मारका बौद्धमार्गीमा लोभ नहुनुको कारण बौद्धमार्ग हो वा यहाँको राजनीतिक अभ्यासले विकास गरेको नागरिकको त्रसित मानसिकता ? दशकौँअघि अम्बेडकर आउँदा मात्र होइन, अहिले पनि सम्पत्तिबारे यहाँ उस्तै धारणा छ ।
कसैले सडक किनारामा एउटा छाता बाटोमा छाड्यो भने भोलिपल्ट पनि त्यहीँ हुन्छ । बर्मेलीभित्र लामो ब्रिटिस राज ठूलो युद्ध र त्यसपछिको सैनिक शासनले पैदा गरेको डरको उपज हुन सक्छ, सम्पत्तिप्रति मोह नहुनु । म्यान्मारका आममानिस विनम्र र सहयोगी छन् । तर, उनीहरूले मोह नराखेको सम्पत्ति संकलन एकमुष्ठ रूपमा बौद्ध गुम्बा, स्तूप र प्यागोडामा जान्छ ।
जनताको सम्पत्तिमाथिको हक र धर्मको राजनीति केलाउँदा बौद्धमार्गलाई आजको भौतिक र विलासी युगले गिज्याइरहेजस्तो देखिन्छ । यसबारे रिचार्ड ककडले आफ्नो पुस्तक ‘ब्लड, ड्रिम्स एन्ड गोल्ड ः चेन्जिङ फेस अफ बर्मा’ मा विस्तृत व्याख्या गरेका छन् ।
थाइल्यान्डबाट ठूलो ऋण लिएर १६ लेनको सडकसहित बनाइएको नयाँ राजधानी ‘नेपिटो’ र सत्ता साझेदारको विलासिताले म्यान्मार विवादित छ ।
सम्पत्तिमा उदार बर्मेलीले अरु धर्म र समुदायप्रति गर्ने व्यवहार पनि संसारभर आलोचित छ । सम्पत्तिको लोभ नगर्न सिकाउने बौद्धमार्गले बहुल समाज र अन्य धर्मप्रतिको अनुशासन सिकाउँदैन त ? विश्वभरबाट अहिले यही प्रश्न तेर्सिएको छ, म्यान्मारमाथि । त्यसका लागि धेरैले दिने उदाहरण बनेको छ, म्यान्मारको उत्तरपूर्वी प्रान्त ‘रखाइन’मा चलिरहेको धार्मिक दंगा र अल्पसंख्यक रोहिन्जा मुस्लिममाथिको हिंसा ।
०००
अहिले म्यान्मारको मुख्य समस्या संविधान संशोधन गरेर कसरी सबै जाति र धर्मलाई समान अधिकार दिने भन्ने नै हो । म्यान्मारमा सात प्रदेश र सात विशेष क्षेत्र छन् । सातै प्रदेश संख्यात्मक अनुपातमा ठूला सात जातिको आधारमा बनाइएको हो । सात क्षेत्र भने स्वतन्त्र रूपमा बनाइएका हुन् ।
सात राज्यबाहेकका सात क्षेत्रमा बर्मा भाषा बोल्ने बर्मन समुदायको बाहुल्य छ । बर्माका सबै प्रान्तमा समाज बहुल छ, सोच भने एकात्मक । चीन, कचिन, सानलगायत प्रान्तमा पनि आदिवासीबीच द्वन्द्व छ ।
रखाइन प्रान्तमा भइरहेको सरकारी दमन भने संसारकै मानवीय मुद्दा बनेको छ । रोहिन्जा मुसलमानसँग रखाइनका बौद्धमार्गीको द्वन्द्व ठ्याक्कै कहाँ र कसरी सुरु भयो भन्ने यकिन आधार छैन । तर, धेरैले त्यस क्षेत्रमा सक्रिय थेरावादी बौद्ध धर्मावलम्बीलाई मुख्य दोषी मान्दै आएका छन् ।
थेरावादी बौद्ध धर्मावलम्बीमध्ये म्यान्मारमा केही अतिवादी समूह क्रियाशील छन् । ‘९६९’ नामक समूहको नेतृत्व गर्छन्, असिन विरथु । उनी आफूलाई बौद्ध बिन लादेन भन्ने गर्छन् । यो समूहले म्यान्मारबाट मुसलमान हटाउने अभियान चलाएको छ । सन् २००३ मा धार्मिक अतिवाद फैलाएको आरोपमा उनी जेल परेका थिए । २०१२ मा राज्यले मुक्त गरेका दुई सय बन्दीमा उनी पनि परे ।
जेलबाट छुटेपछि उनी युट्युब र अन्य सामाजिक सञ्जालमार्फत मुसलमानविरोधी अभियानमा छन् । सन् २०१२ मा बौद्ध महिला र बालिकाको बलात्कारपछि रखाइनमा दुई मुसलमान र बौद्धबीच भिडन्त भयो । बौद्ध अतिवादीले खेल्ने ठाउँ पाए । असिन समूहका सदस्य धर्मका आधारमा देश बनाउन चाहन्छन् । ‘संसारमा ५७ मुसलमान देश छन्, म्यान्मारका मुसलमानलाई पनि कुनै मुसलमान मुलुकले स्विकारोस्,’ उनीहरूले भन्ने गरेका छन् । २०१२ को दुईतर्फी भिडन्तपछि सैनिक सत्ता क्रूर हुँदै गयो । सैनिकद्वारा रोहिन्जा मुसलमान महिला र बालिकाको बलात्कार भयो । दर्जनौँ मानिस मारिए ।
रोहिन्जा मुसलमानको नाममा पनि संगठन खुले । रखाइन रोहिन्जा मुक्ति मोर्चाको गतिविधि देखिन थाल्यो । म्यान्मार सरकारका अनुसार मोर्चाको उद्देश्य रखाइनमा रोहिन्जाको छुट्टै क्षेत्र निर्माण गर्नु हो । गत अगस्ट २५ मा मोर्चाका नाममा ३० वटा पुलिस पोस्ट र एउटा आर्मी क्याम्पमाथि आक्रमण गरेपछि राज्यको दमन चरम हुन पुगेको छ ।
रखाइनमा रोहिन्जालाई सैनिक सरकारले २०१० को चुनावका लागि भोट हाल्ने अधिकार दिन सेतो कार्ड बाँड्न लाग्दा बौद्धमार्गीले यांगुनमा आन्दोलन गरे । सेतो कार्डधारी म्यान्मारका नागरिक नभएकाले भोट हाल्न दिन नहुने आन्दोलनकारीको मागपछि सरकारले निर्णय फिर्ता लियो ।
त्यसको दुई वर्षपछि रखाइनमा भड्केको धार्मिक हिंसाका कारण धेरै रोहिन्जा बंगलादेश, भारतसहित विभिन्न मुलुकमा शरण लिन पुगे । म्यान्मार सरकारले उनीहरूलाई आतंककारीको रूपमा हेरेको छ ।
०००
म्यान्मारको समस्या बुझ्न वास्तवमा यहाँको निरंकुश शासन र धर्मको कट्टर परम्पराबारे जान्नु जरुरी हुन्छ । स्वतन्त्रतापछि समाजका सबै पक्षलाई सम्हाल्न नसक्दा धेरै मुलुक समस्याग्रस्त भएका छन् । जातीय र धार्मिक हिंसाको भुमरीमा पसेका छन् । म्यान्मारमा पनि त्यही कुरा प्रतीत हुन्छ । अहिले म्यान्मारको सबैभन्दा ठूलो समस्या भनेको संविधान नै हो । संविधानकै कारण सैनिक सरकारविरुद्ध बोल्ने हैसियत सुकीलाई समेत छैन । कुनै पनि बेला यहाँको सत्ता उल्टो दिशा फर्कन सक्छ ।
म्यान्मारमा अझै पनि प्रेस पूर्ण स्वतन्त्र छैन । असहमति सजिलै सडकमा पोखिन सक्दैनन् । विरोधीको तुरुन्तै चरम दमन हुन्छ । सामान्य सार्वजनिक कार्यक्रममा लागि सरकारको पूर्वस्वीकृति अनिवार्य छ ।
गएको अप्रिल ५ मा बिबिसी टिभीका पत्रकार फर्गल केनले आङसाङ सुकीसँग लिएको ११ मिनेट ५८ सेकेन्ड लामो अन्तर्वार्ता चर्चामा रह्यो । त्यसको कारण थियो, अन्तर्वार्तामा सुकीले आदिवासीको सफाया नभएको बताउनु । केनका प्रश्नमा उनले दिएको उत्तर मध्यमार्गी छ । सैनिक शक्तिशाली भएको सरकारमा बसेर उनले आफ्नो छविलाई पनि बचाउनु छ ।
सुकीले बारम्बार शान्तिप्रक्रियामा जोड दिएकी छन् । पत्रकार केनले सोधेका छन्, ‘तपाईं आर्मीलाई यातना र बलात्कारका लागि नरोकी शान्ति प्रक्रियाको कुरा गर्नुहुन्छ, के यी सबै कुरा गर्न आर्मी स्वतन्त्र छन् ?’
सुकीले त्यसको उत्तर दिँदै भनेकी छन्, ‘बलात्कार र हिंसाका लागि उनीहरू स्वतन्त्र छैनन्, तर संविधानमा युद्धका लागि जाने छुटको प्रावधान छ, त्यसमा परिवर्तनको प्रयास भइरहेको छ ।’ सुकीका लागि अहिले अझ अप्ठेरा दिन आएका छन् । दी गार्डियन पत्रिकाले त उनले सन् १९९९ मा पाएको नोबेल शान्ति पुरस्कारमाथि नै प्रश्न गरेको छ । यही प्रश्न अचेल अरु धेरै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिँदै छ ।
०००
सुकीको अहिलेको स्थिति बुझ्न जटिल छ । त्यसका लागि म्यान्मारको सरकार संरचना र सेनाको संयन्त्र बुझ्न जरुरी छ । ‘भित्री राजनीतिक संयन्त्र र शक्तिको खेललाई हेर्दा सुकीको आवाज राज्यले सुनिहाल्ने अवस्था छैन,’ १२ वर्षदेखि म्यान्मारमा एम्नेस्टी इन्टरनेसनलका लागि काम गरेका डेबिड स्कट भन्छन्, ‘उनले सार्वजनिक रूपमा विरोधको धारणा राख्दा स्थिति झन् भड्किने अवस्था छ, बौद्धमार्गी उनीमाथि भारी पर्नेछन् ।’
गत मार्च ५ मा सुकीका विशेष सल्लाहकार वकिल उ कोनीको यांगुन एयरपोर्टमा गोली हानी हत्या गरियो । उनी मुसलमान समुदायका थिए । कोनीले सुकीलाई संविधान संशोधनको मस्यौदा तयार पार्न सहयोग गरेका थिए ।
म्यान्मारमा सक्रिय अर्का मानवअधिकारकर्मी निकोलास भन्छन्, ‘सुकीलाई उनका पिताको लिगेसीले सजिलो भएको हो, अर्को व्यक्तिलाई यसरी अगाडि आउन सजिलो थिएन ।’ म्यानमारका स्वतन्त्रताप्रेमी नागरिकले ७० वर्षीया सुकीपछि उनको ठाउँ लिन सक्ने अर्को नेतृत्व देखेका छैनन् । म्यान्मारका राष्ट्रिय सुरक्षा सल्लाहकार यु थाङले यही सेप्टेम्बर ५ मा राजधानी नेपिडोमा पत्रकार सम्मेलन गरी जानकारी गराएअनुसार, रखाइनमा बसोबास गरिरहेको प्रमाण देखाउन सक्ने रोहिन्जा मात्र म्यान्मार फर्कन सक्छन् । तर प्रमाणका आधार के के हुन सक्छन् भन्ने खुलाइएको छैन । द्वन्द्वमा धेरै परिवारले सरकारी कागजपत्र गुमाइसकेका छन् ।
कति परिवार वर्षौंदेखि अस्थायी परिचयपत्रका आधारमा म्यान्मारमा बसोबास गरिरहेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार गत अगस्ट २५ को घटनापछि करिब एक लाख २३ हजार रोहिन्जा मुसलमान बंगलादेश शरणार्थीका रूपमा पुगेका छन् । उनीहरूमाथि राज्यको दमन बढिरहेको छ । त्यसको सबैतिर आलोचना भएपछि म्यान्मार सरकारले चीन, जापानलगायत मुलुकसँग सल्लाह गरी रोहिन्जाको विषयलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट टाढै राख्न निवेदन गरेको फ्रन्टिअर म्यागेजिनले लेखेको छ ।
नेपालमा रहेका भुटानी शरणार्थी फर्काउन नागरिकता पहिचान र प्रमाणीकरण धेरैपटक गरिएको थियो । तर, त्यो भुटान सरकारको देखावटीपन मात्रै थियो । लामो शरणार्थी जीवनपछि हजारौँ भुटानी नागरिक अहिले युरोप र अमेरिका सारिएका छन् । केही हजार भुटानी शरणार्थी नेपालमै अनागरिक जीवन बिताउन बाध्य छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार संगठन र सञ्चारमाध्यमको दबाबलाई बेवास्ता गरिरहेको म्यान्मारले शक्तिशाली छिमेकी मुलुकको दबाब बेगर रोहिन्जालाई स्विकार्ने सम्भावना ज्यादै कम देखिन्छ । अहिले पनि १० लाखभन्दा बढी रोहिन्जा चरम यातनासहित अनागरिक जीवन बिताइरहेका छन् ।
०००
म्यान्मारको पछिल्लो परिस्थितिले आङसाङ सुकीको नोबेल शान्ति पुरस्कार माथि जसरी प्रश्न उठेको छ, तर जब बाराक ओबामाले नोबेल शान्ति पुरस्कार पाउँदै थिए, उनका सेनाले अफगानिस्तानका चारवटा बिहे समारोहमा बम हान्दै थिए । ओबामाका सेनाले सांस्कृतिक उत्सवलाई आकाशबाट हेर्दा आतंकवादी भेला देख्थ्यो र बम हान्थ्यो । समालोचक कर्नेल वेस्टले तथ्यसहित ओबामा सरकारले हानेको बम र मारिएका मान्छेको संख्या उल्लेख गरेका छन् । उनका अनुसार ओबामा सरकारको आक्रमणमा परेर मर्ने अफगानीमा अमेरिकाले मार्न चाहेको संख्याको १० प्रतिशत छ भने युद्धसँग कुनै मतलब नभएका सर्वसाधारण ९० प्रतिशत मारिए ।
अमेरिका र उसका साझेदारले अफगानिस्तान मात्र होइन, संसारका धेरै मुलुकमा यस्तै मानवअधिकार उल्लंघन गरेका छन् । यसको मतलब अझै पनि संसारको जम्मा २० प्रतिशत जनसंख्या भएका गोराको अधिनायकवाद चलिरहेको छ । काला जातिमाथिको हिंसा चरम छ । मुसलमानमाथि अमेरिकाले लगाइदिएको ट्यागले संसारभर प्रभाव पारेको छ । अमेरिकाको प्रतिशोधका लागि मुसलमान अतिवादी पनि उग्र हिंसामा छन् ।
बेलायती उपनिवेशबाट मुक्त भएपछि स्वतन्त्रता सेनानी यु नु म्यान्मारका प्रधानमन्त्री भए । उनले देशभरि चलिरहेको विभिन्न जातीय आन्दोलनलाई सम्बोधन गर्न सकेनन् । १९६० को चुनावपछि सैनिकले सत्ता हŒयायो । सैनिक कमान्डर ने विन प्रधानमन्त्री भए । नेपालमा पनि त्यसै बेला महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्थ गरेर सत्ता हŒयाएका थिए । भनिन्छ ने विन र महेन्द्रबीच राम्रो मित्रता थियो । ने विनकै सिको गरेर महेन्द्रले पनि नेपालमा सबै राजनीतिक दललाई प्रतिबन्ध लगाएका थिए ।
सन् १९७० मा महेन्द्रले म्यान्मारको पहिलो भ्रमण गरे । सन् १९८८ मा म्यान्मारका दुई सहर यांगुन र मान्डलेयबाट सुरु भएको सैनिक शासनविरोधी आन्दोलनले आङसाङ सुकीलाई आन्दोलनको नेतृका रूपमा चुनेको हो ।
स्वतन्त्रता आन्दोलनमा सुकीको आगमन एउटा संयोग मानिन्छ । १९४८ मा म्यान्मार स्वतन्त्र हुनु केही दिनअघि सुकीका पिता आङसाङ र उनका केही साथीको हत्या भएको थियो । बाबुको हत्या हुँदा तीन सन्तानमध्येकी कान्छी सुकी दुई वर्षकी मात्रै थिइन् । १९६० मा सुकीकी आमा भारतका लागि राजदूत भएपछि १५ वर्षीय सुकी आमासँगै भारत गइन् । अक्सफोर्डमा पढ्न बेलायत पुगेकी उनले बेलायती नागरिकसँगै विवाह गरिन् । १९८८ मा बिरामी आमालाई हेर्न आएकी सुकी म्यान्मारमै बसिन् ।
म्यान्मारमा प्रजातान्त्रिक आन्दोलन सुरु भइसकेको थियो । उनीले ‘नेसनल लिग फर डेमोक्रेसी’ पार्टीको स्थापना गरिन् । सरकारले १९८८ मा घोषणा गरेको चुनाव १९९० मा मात्रै सम्पन्न भयो । चुनावमा ९० प्रतिशत सिट सुकीको पार्टीले जित्यो । सैनिक शासकले सुकीको पार्टीलाई ७५ प्रतिशत र सेनालाई २५ प्रतिशत सिट बाँडिनुपर्ने सर्त राख्यो ।
तत्कालीन सैनिक शासकले उनलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव पनि गरेका थिए । सरकार बनाए पनि पूर्ण नियन्त्रण सैनिककै हुने स्थितिका कारण सुकीको पार्टीले त्यसलाई स्विकारेन ।
सुकीको पार्टी प्रजातान्त्रिक आन्दोलनमा होमियो । त्यसलाई दबाउन तत्कालीन सैनिक शासकले सयौँ नेता कार्यकर्तालाई जेल हाल्यो । सुकीलाई लामो समय नजरबन्दमा राख्यो । सुकी र उनको पार्टीले निरन्तर आन्दोलन ग¥यो । २००७ को ‘सेफ्रन आन्दोलन’ अर्थात् बौद्ध भिक्षुको सडक आन्दोलनलाई तत्कालीन सैनिक शासकले दमन गरे । तर, त्यसले सैनिक सरकारलाई ठूलो दबाब सिर्जना ग¥यो । २०१० मा कडा नियमसाथ आमनिर्वाचन घोषणा गरियो । सुकीको पार्टीले त्यसलाई अस्वीकार ग¥यो ।
२०१२ र २०१५ मा भएको आमनिर्वाचनमा सुकीको पार्टीले भाग लियो । पछिल्लो चुनावमा सुकीको पार्टीले ८६ प्रतिशत सिट पाएको छ । तर, सरकारमा सेनाका तर्फबाट २५ प्रतिशत सहभागिता अनिवार्य छ । संविधान संशोधनका लागि ७५ प्रतिशत मत आवश्यक हुन्छ । यसैले म्यान्मारको प्रजातन्त्रलाई अझै पूर्ण मानिँदैन ।
०००
के धर्मले मानव सभ्यतालाई सधैँ उज्यालो बाटोतिर डो¥याएको छ ? खासगरी बहुल समाज निर्माणमा धर्मले योगदान गरेको छ ? यी प्रश्नको उत्तर खोज्दा लाग्छ, बहुल समाज निर्माणमा धर्मले धेरैपल्ट भाँजो हालेको छ । हिजो हिटलरको नेतृत्वमा जर्मनी र अन्य मुलुकमा नाजीले यहुदमाथि संसारकै सबैभन्दा क्रूर र बर्बर हिंसा गरे । धार्मिक र जातीय सफायाका निम्ति भर्खरै जन्मेका लाखौँ साना नानी समेत भट्टीमा पोलिए ।
हिटलरी यातनाको सिकार यहुदीमाथिको सहानुभूति नसेलाउँदै यहुदीले प्यालेस्टाइनमा मुसलमानमाथि जुन बर्बरता देखाए, त्यसले जुनसुकै धार्मिक अतिवादले मानव सभ्यताको दोहोलो काढ्दो रहेछ भन्ने प्रमाणित गर्छ । कुनै एउटा परिस्थितिमा थिचिएको मान्छे, युगले उसको पीडा बिर्सन नपाउँदै आफैँ कसरी हिंस्रक बन्न सक्छ ? म्यान्मार र आङ साङ सुकीमाथि अहिले यही प्रश्न संसारभरबाट गरिँदै छ । धार्मिक अतिवादकै कारण इजराइल–प्यालेस्टाइन लामो द्वन्द्वमा फसेका छन् ।
हाम्रा पुर्खाको खोजी गर्दै जाने हो भने संसारका सबै मानिस अफ्रिका पुग्नुपर्ने हुन्छ । मानव विकास क्रमको दुई लाख वर्ष लामो इतिहासमा हामी पाँचदेखि १० हजार वर्षअघि मात्र पूर्वी अफ्रिकाबाट आएका रहेछौँ ।
हामी केही दशक र केही सय वर्षलाई आधार बनाएर जातीय जरा खोज्दै मानिसलाई अनागरिक बनाउँदै छौँ । धर्तीमा मानव सभ्यता विकासका लागि केही हजार वर्षको यात्रा सामान्य हो । तर, दोस्रो विश्वयुद्धपछि संसारभरका यहुदीले प्यालेस्टाइन कब्जा गरेर इजरायल बनाए । यहुदीमाथिको हिंसालाई सारा संसारले रमिता हेरेर बस्यो । आज अंग्रेजको करिब एक सय २४ वर्षे र ५० वर्षे सैनिक शासनले थिलथिलो म्यान्मारका जनता सन् २०१२ पछि अल्पसंख्यकमाथि उसैगरी हिंस्रक भएका छन् । १५ वर्षको नजरबन्दबाट मुक्त भएर सत्तामा पुग्नेबित्तिकै सुकीको स्वरूप पुरानै सत्ताधारीसँग मिल्न पुगेको छ ।
सीमित धर्म, सत्ता र शक्तिमा हुनेले आफ्नो निहित स्वार्थका लागि आज एउटा समुदायका मानिसलाई म्यान्मारमा अनागरिक बनाइएको छ । भारत र चीनजस्ता शक्तिशाली मुलुकसँग सिमाना जोडिएको र जापानसँग बलियो सम्बन्ध रहेको देश म्यान्मारमा रोहिन्जाहरू बंगाली आप्रवासीका नाममा मारिइरहेका छन् । हिंसाको स्वरूप पहिलो र दोस्रो विश्वयुद्ध ताकाकै जस्तो देखिएको छ । तर, यसबारे कुनै राज्य बोल्दैन, कसैले समाधानको उपाय खोज्दैन ।
यो आजको विश्वमा अल्पसंख्यकमाथि अतिवादको पछिल्लो शृंखला हो । बहुल समाजको अवसान हो । एउटा भूमिमा बसिरहेको मानिसलाई अचानक ‘तँ यहाँको होइनस्, आजदेखि यहाँ नबस्’ भनेर कुनै राज्यले कसरी भन्न सक्छ ? त्यसो भन्नुअघि उसले आफ्नो भूमिबाट लखेटिएका उनीहरू कहाँ जालान् भनेर सोच्नुपर्छ कि पर्दैन ?
एकातिर हामी मानवअधिकार मात्र होइन, प्राणी अधिकारको समेत अभ्यास गरिरहेका छौँ । पशुहत्याको विरोध गर्छौं । कुनै मुलुकको वन्यजन्तु सिमाना नाघेर अर्को मुलुक पुग्दा उसलाई सुविधासम्पन्न गाडीमा राखेर स्वदेश फिर्ता गरिन्छ । अपराधीलाई आफ्नै मुलुकमा सुपुर्दगी गरिन्छ । तर, लाखौँ कमजोर नागरिकलाई केही शक्तिशाली मानिसको पागलपनका लागि रातारात अनागरिक बनाइन्छ । मानव विकास क्रमको पछिल्ला वर्षमा मात्रै धर्मको उदय भएकाले त्यसैका आधारमा ‘कुन मान्छे कुन भूमिको हो’ भन्न सकिँदैन । अझ धर्म र जातसँग जोडिएर आएको राष्ट्रवाद डरलाग्दो हुने रहेछ । १७औँ शताब्दीदेखि क्रिस्चियन अतिवादीले संसारका सबै मानिसलाई क्रिस्चियन बनाउने अभियान चलाइरहेका छन् । त्यही दौडमा लागेका छन्, हिन्दू, मुसलमान र बौद्ध अतिवादी पनि । हरेक धर्मका अतिवादी चाहन्छन्, संसारभरि त्यही धर्म मान्ने मानिस मात्रै होऊन् । त्यसो नभए पनि एक धर्म एक देश होस् । त्यति हुन नसके पनि एक समाज एक धर्म होस् । तर, आजको विश्वमा सबैतिर मान्छेको मिश्रण भएको छ । आधुनिकीकरण र यान्त्रिक आविष्कारसँगै मान्छे तुरुन्तै एउटा समाजबाट अर्को समाजमा स्थापित हुने स्थिति छ ।
हिजो वर्षौं लगाएर एक ठाउँबाट अर्को ठाउँमा पुग्नुपथ्र्यो । समाजमा घुलमिल हुने माध्यम सीमित थिए । अब मान्छेको उत्पत्तिका जरा खोज्ने तरिका फेरिएका छन् । समाज बहुल छ । बहुल समाजलाई कसरी सुन्दर बनाउने भनेर विद्वान्ले आफ्ना नवीन विचार दिएका छन् ।
बर्मामा बेलायती साम्राज्यलाई लामो समय टिकाइराख्न जोन सी फर्निबलको सिद्धान्तले काम गरेको थियो भनिन्छ ।
उनको पुस्तक ‘कोलोनियल पोलिसी एन्ड प्राक्टिस’ले भन्छ, एकतन्त्री शासन व्यवस्थालाई टिकाइराख्न पनि बहुल समाजलाई बलियो बनाउनुपर्छ । त्यसका लागि खुला बजार अवधारणा आवश्यक छ ।
उनका अनुसार बहुल समाजको उच्चतम अभ्यास त्यो हो, जहाँ एउटै समाजभित्र फरक–फरक धर्म र संस्कृति मान्ने मानिस बस्छन् । आ–आफ्नो भाषा बोल्छन् । आफ्नै खालको शैली र पद्धतिले जीवन बाँच्छन् र एकअर्कालाई अवरोध गर्दैनन् । आफ्ना उत्पादनको क्रय–विक्रयसहित बजारमा भेट्छन् । काम गर्ने ठाउँमा भेट्छन् । एकअर्कासँग जातीय वा धार्मिक प्रतिस्पर्धा गर्दैनन् ।
बहुल समाज सिद्धान्तको प्रतिपादक फर्निबललाई नै मानिन्छ । उनले लामो समय बेलायतको सरकारी कर्मचारी भएर भारत र बर्मामा काम गरे । उनी बहुल समाज राज्यको एउटै राजनीतिक प्रणालीमा अटाउनुपर्छ भन्ने मान्यता राख्थे । बहुल समाजलाई नर्वेली विद्वान् पे्रmडरिक बार्थले विषम समाजको एकता भनेका छन् । जहाँ सबै जातिको आ–आफ्नो आर्थिक निर्भरता र पर्यावरणीय विशेषता हुन आवश्यक छ ।
०००
साम्राज्यवादमा बहुल समाज टिक्नुका पछाडि निरंकुश सत्ताले सिर्जना गरेको डर पनि हो । जस्तो कि भारतमा झैँ म्यानमारमा पनि बेलायतले दर्जनौँ राज्यलाई एकै ठाउँमा मिलायो । नेपालमा पृथ्वीनारायण शाहले सैन्य शक्तिकै भरमा साना राज्यलाई एकीकरण गरे । साम्राज्यवादले बहुल समाजलाई शक्तिको आडमा एकीकरण ग¥यो । तर, साम्राज्यवादको अन्त्यसँगै स्वतन्त्रताका लागि लडेका समूह जब शक्तिमा आए, उनीहरूले नागरिक स्वतन्त्रको गतिलाई नयाँ दिशा दिन सकेनन् । कि त तिनीहरू इदी अमिन (युगान्डा १९७१), ने विन (म्यान्मार १९६०), लेनिनको अवसानपछिका स्टालिन (रसिया १९२४) जस्तै निरंकुश भए । स्पेन र अमेरिकासँगको लामो द्वन्द्वपछि मुक्ति पाएर अपवादका रूपमा क्युबा (फिडेल क्यास्ट्रो १९७६)ले आफूलाई सफल राष्ट्रका रूपमा प्रमाणित ग¥यो । बेलायती साम्राज्यको अन्त्यसँगै भारतको तत्कालीन नेतृत्वले बहुल समाजलाई सम्हाल्न नसक्दा तत्कालै पाकिस्तान र करिब २५ वर्षपछि पाकिस्तानबाट बंगलादेश बन्न पुग्यो ।
देश टुक्रिनु सीमा राजनीतिको सामान्य प्रक्रिया हो, तर राष्ट्रियतालाई धर्म र जातिसँग जोड्दा त्यसका नाममा लाखौँ मानिस मरे । दोस्रो विश्वयुद्धले बहुल समाजलाई ध्वस्त गरिदियो । प्यालेस्टाइन र इजरायल द्वन्द्व अर्को चरम रूप लियो । दक्षिण एसियामा भारत र पाकिस्तानको द्वन्द्वले बहुल समाजविरुद्ध ठूलो चुनौती थपेको छ । त्यसको ज्वलन्त उदाहरण हो, कश्मीर समस्या ।
कश्मीर मात्र होइन, भारतभित्रै पनि अतिवादी धार बलियो बन्दा बहुल समाजमाथि सधैँ संकट पैदा भइरहेको छ । बहुल समाजलाई ध्वस्त पार्ने शृंखला आज पनि जारी छ । सन् २००२ मा गुजरातमा धार्मिक हिंसा भड्काउने नरेन्द्र मोदी आज त्यसै देशको प्रधानमन्त्री छन् ।
अतिवादी हिन्दूको कर्तूत पर्दाफास गर्ने पत्रकार गौरी लंकेशको हत्या र म्यान्मारका रोहिन्जामाथिकोे अत्याचारलाई मोदी सत्ताले सकभर नदेखेजस्तै गर्छ । सयौँ रोहिन्जा लखेटिँदै गर्दा मोदी म्यान्मारमै थिए । तर, उनी केही बोलेनन् । उल्टै रखाइन प्रान्तमा आतंककारी नियन्त्रण गर्न सहयोगको प्रतिबद्धता जनाए ।
गत साता इन्डोनेसियाको बालीमा सम्पन्न ‘वल्र्ड पार्लियामेन्ट्री फोरम’मा रखाइनका रोहिन्जाबारे बंगलादेश, भुटान, नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, टर्कीलगायत ४९ देशले संयुक्त चासो देखाउँदा अन्तिम घडीमा राखिएको प्रस्ताव भन्दै भारतले बोल्न मानेन ।
यो घटनालाई भुटानी शरणार्थी समस्यासँग जोडेर हेर्न सकिन्छ । सन् १९९० मा भुटानले नेपालीभाषीलाई लखेट्दा उनीहरू भारतकै भूमिबाट नेपाल आए । त्यसबारे भारतले बोलेन । जब उनीहरू भुटान फर्किन चाहे, भारतले बाटो छेक्यो । अल्पसंख्यकको अस्तित्व आन्दोलनसँग भुटान र भारत दुवै डराए ।
भारतकै सिक्किम, दार्जिलिङ, आसामलगायत नेपालीभाषीले पहिचान खोजिरहेको अवस्था छ । यसलाई कमजोर बनाउन भुटानको नेपालीभाषी खेदाउने अभियानले भारतलाई मद्दत ग¥यो । अहिले पनि पश्चिम बंगालमा नेपालीभाषी आफ्नो अस्तित्व खोजिरहेका छन् । मोदी सरकारको सैनिक शक्तिले आन्दोलन दबाइरहेको छ ।
प्रकाशित: ३१ भाद्र २०७४ ०२:१० शनिबार