अमेरिकाको मिचिगनस्थित चेल्सी निवासी मार्सी पार्कर डार्विनको घरमा कुखुराले अण्डा कोरल्यो।धेरै कोरलिएका अण्डामध्ये एउटा कोरल्न ढिला भयो।मार्सीले सोचिन्, ‘शायद यो अण्डा बिग्रेछ।’ बिग्रेको अण्डालाई उनले नजिकैको पोखरीमा फ्याँक्ने विचारले उठाइन्।पोखरी छेउमा पुग्दा अण्डा चलमलाएको आभास भएर आयो।त्यसपछि उनले अण्डालाई कानछेउ लगेर गतिविधि नियालिन्।केही क्षणमा त अण्डा फुट्न पो थाल्यो।
यसरी सन् २००२ मा एउटी मर्दामर्दैको चल्ली जन्मिई।यसको नाम मार्सीले पिनट राखिन्।त्यो चल्ली यतिबेला संसारकै सबैभन्दा बूढी कुखुरी बन्न पुगेकी छे।एउटा कुखुराको उमेर बढीमा सात वर्ष हुन्छ।धेरै बाँचे, १० वर्षभन्दा बढी बाँच्दैनन्।पिनटले भने कीर्तिमान कायम गरेर यतिबेला २१ वर्ष लागेकी छे।
मार्सी भन्छिन्, ‘यो जन्मिदा पहिलो पटक आइपड जन्मिएको थियो।हेल बेरीले पहिलो काला जातिले अस्कर जितेको कीर्तिमान बनाएकी थिइन्।ब्रिट्नी स्पेयर्सले जस्टिन टिम्बरलेकसँग छुटानाम भएको हल्ला मच्चिदै थियो।पिनटको कोरल्याइँ अलि फरक भएकाले उसकी आमाले अँगाल्न मानिन।यो देखेर मार्सीलाई दुःख लाग्यो र आफैंले ख्वाउने पियाउने काम गर्न थालिन्।कतिसम्म भने कतै बाहिर जानु पर्दा कोटको खल्तीमा राखीकन हिँड्थिन्।
मार्सीले पालेका कयौं कुखुरा–कुखुरी उमेर पुगेरै मरे।यो भने बाँचेको बाँच्यै भई।एक दिन एक जना साथी उनको घर आउँदा बुढी कुखुरी देखेर चकित भइन्।उनले गिनिज बुकमा १६ वर्षको कुखुरो सबैभन्दा बढी बाँचेको कीर्तिमान राखेको भन्दै यसलाई पनि गिनिजमा नाम लेखाउन कर गरिन्।त्यसो त गिनिजमा सबैभन्दा बूढी कुखुरीका रूपमा २३ वर्षसम्म बाँच्नेको नाउँमा छ।
यो कीर्तिमानका लागि अझै केही वर्ष कुर्नैपर्छ तर जीवित कुखुरीका रूपमा यसले कीर्तिमान भने बनाएकी छ।कुखुरीको मायाले मार्सीले उसको जीवनी पनि लेखेकी छन्, माई गर्ल पिनट एन्ड मी।
सन् २०१९ को जाडो याममा भने उसले ढोका ढक्ढक्याएर हैरान पारी।मार्सीले सोचिन्, ‘बूढी भएकीले यसलाई धेरै जाडो भयो होला।’ त्यसयता पिनट र मार्सी सँगै बस्छन्, सुत्छन्।भर्खरै ७१ वर्ष पुगेकी मार्सीलाई पिनट र आफू उस्तैउस्तै लाग्छ... मृत्यु कुरिरहेको प्राणीजस्तो...।
प्रकाशित: २६ भाद्र २०८० ०२:२४ मंगलबार