८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

नुनसँग सावधानी!

यस्तो पनि!

जुनसुकै खान्कीमा नुनको प्रयोगले मुटुको व्यथा बढाउने सम्भावना पाँच गुणा रहेको एउटा अध्ययनले देखाएको छ। खान्कीका हरेक प्रकारमा नुन उपभोग नगर्ने तथा विरलै प्रयोग गर्नेहरूको तुलनामा प्रयोग गर्नेहरू २२ प्रतिशतलाई भिन्न किसिमको मुटुको व्यथा लाग्ने शोधकर्ताहरूले पत्ता लगाएका हुन्।

यो शोधपछि नुनको उपभोगमा कमी ल्याउनुपर्ने मूल्यवान् तथ्य पत्ता लगाइएको स्वतन्त्र विश्लेषकहरूको समूहले बताएका छन्। जसले बढी नुन प्रयोग गरिरहेका छन्, उनीहरूले दिनमा एक ग्राम कम गर्दै लगे ह्रदयघात र पक्षघातमा कमी आउने दाबी गरिएको छ। सो कुरा नेदरल्यान्ड्सको राजधानी आम्सर्टडममा गत शुक्रबार आयोजित युरोपियन सोसाइटी अफ  कार्डियोलोजी कंग्रेसमा जनाइएको हो। अध्ययन करिब चार लाख बेलायतीको ११ वर्षसम्मको नुन खाने बानीलाई अध्ययन गरी निष्कर्ष निकालिएको शोधकर्ताहरूले बताएका छन्।

यो अवधिमा बढी नुन उपभोग गर्नेहरूमध्ये पाँच प्रतिशतमा ‘आट्रियल फिब्रिलेसन’ (एएफ) देखिएको बताइएको छ। ‘एएफ’ले मुटुको गतिमा आउने व्यवधानलाई बताउँछ। एएफ भन्नाले रगत जम्ने, स्ट्रोक हुने तथा हार्ट फेलियरसमेतलाई जनाउँछ।

बढी नुन प्रयोग गर्ने बेलायतीहरूमध्ये १४ लाखले आफ्नो मुटुको गति बढेको, चाँडो चाँडो श्वास लिनुपरेको, थकान बढेको, रिँगटा चलेको गुनासो गर्ने गरेका छन्।

हरेक खान्कीमा नुन चाहिने र सधैँ नुन प्रयोग गर्नेहरूभन्दा कहिल्यै नुन प्रयोग नगर्नेहरू १८ प्रतिशतमा त्यस्ता समस्या नदेखिएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। हरेक व्यञ्जनमा सधैँ नुन प्रयोग गर्नेहरूमध्ये १२ प्रतिशतले भने एएफको समस्या कम देखिएको छ। कहिलेकाहीँ नुन प्रयोग गर्नेहरूमा भने एएफको जोखिम १५ प्रतिशत रहेको देखाएको छ।

ब्रिटिस हार्ट फाउन्डेसन (बिएचएफ)का प्राध्यापक जेम्स लेपेरले यो अध्ययनले अत्यधिक नुन प्रयोगकर्ताहरूलाई ‘स्वस्थ स्मरण’ गराएको टिप्पणी गरेका छन्। यसअघिका विभिन्न अध्ययनले पनि बढी नुन प्रयोगकर्ताहरूमा उच्च रक्तचाप बढ्ने र त्यसले एएफको अवस्था सिर्जना गर्ने बताएका थिए। बेलायती सरकारी स्वास्थ्य संस्था नेसनल हेल्थ सर्भिसले दिनमा ६ ग्रामभन्दा बढी (एक चम्चा बराबर) नुन प्रयोग नगर्न सल्लाह दिएको छ।

प्रकाशित: १३ भाद्र २०८० ०४:३२ बुधबार

नुनसँग सावधानी ब्रिटिस हार्ट फाउन्डेसन (बिएचएफ)का प्राध्यापक जेम्स लेपेर