–२०७१ असोजमा हिमाली जिल्ला मुस्ताङ र मनाङको सीमाक्षेत्रमा भीषण हिमपात भयो। हुदहुद नामक आँधीमा परेर त्यो बेला कम्तीमा ४० जनाले ज्यान गुमाए।
–२०७८ असार पहिलो साता मनाङमा बाढीले धेरैलाई उठीबास लगायो। मस्र्याङ्दी नदी किनारका धेरै बासिन्दाले सास्ती पाए। मनाङ पुग्ने एकमात्र मोटरबाटो महिनौं ठप्प भयो। अझै पनि सडक सहज भइसकेको छैन।
–२०७८ कात्तिक २८ गते मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा हिमपहिरो गयो। धौलागिरी हिमशृंखलाअन्तर्गतको टुकुचे पिक (६९२० मिटर) बाट झरेको हिमपहिरोमा परेर केही मानिस घाइते भए।
–२०७८ फागुन २१ मा मुस्ताङको थासाङ गाउँपालिका–२ मा पुनः हिमपहिरो गयो। टुकुचे पिकबाट झरेको हिमपहिरोले मानवीय क्षति नभए पनि चौरी भने मरेका थिए।
हिमालपारिको जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङमा आइलागेका प्राकृतिक विपद्का यी केही उदाहरण हुन्। मनाङ र मुस्ताङले प्राकृतिक प्रकोपको मार निरन्तर खेपिरहेका छन्। यसैक्रममा गत आइतबार मुस्ताङले पुनः अर्काे विपद्को सामना गर्नुपर्यो। खहरे खोलामा आएको बाढीले वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ मा पर्ने कागबेनी बजार केहीछिनमै तहसनहस बनायो। बाढीले बस्ती बगाउँदा धेरैको उठीबास लाग्यो। मानवीय क्षति नभए पनि निजी र सरकारी भौतिक पूर्वाधारमा क्षति भएको छ। आइतबार बेलुकी खहरे खोलामा आएको बाढीले हेर्दाहेर्दै बस्तीलाई बगर बनायो। मुस्ताङमा खहरे खोलामा यसरी बाढी आएर घरबारै बगाउला भनेर धेरैले सोचेका थिएनन्।
‘नपत्याउने खोलाले योपटक सिंगो बस्ती नै बगाएको छ। संयोगवश मानवीय क्षति भएन तर ठुलो आकारमा भौतिक नोक्सानी भएको छ,’वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–४ का अध्यक्ष कर्म घ्यचो गुरुङले भने, ‘यो खहरेमा बाढी आएर बस्ती बगाउला भन्ने कसैले सोचेका पनि थिएनन्। हेर्दाहेर्दै बाढी बस्तीमा पस्यो, बस्ती बगर बन्यो।’
मुक्तिनाथ क्षेत्रबाट आएको झोङखोलाले कागबेनीमा वितन्डा मच्चाएको हो। ‘भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। निकै कम वर्षा हुने मुस्ताङमा बाढीले तहसनहस बनायो,’गुरुङले भने। उनका अनुसार सुरुमा सामान्य बढेको खोलाले ठुलो आकारमा भौतिक क्षति गर्ला भनेर कसैले अनुमान गरेका थिएनन्। बेलुकी ५ बजेतिर खोला केही धमिलो र बढेको थियो। सातबजेतिर त बस्ती नै सखाप पार्नेगरी बाढी आएको उनले बताए। ‘खहरे खोलाको बाढीले यो पटक बढी क्षति पुर्यायो,’उनले भने।
मुस्ताङको खहरेमा आएको बाढीले कागबेनी बजार केहीछिनमै तहसनहस बनायो । यसबाट खोलानजिकै बस्ती बसाल्न नहुने र विश्वव्यापी तापमानको असरबाट जोगिन योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने शिक्षा मिलेको छ ।
गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङका अनुसार झोङखोलाको मुहान कागबेनीबाट करिब ८ किलोमिटर माथि झोङमा पर्छ। झोङ गाउँपालिकाको २ नम्बर वडामा पर्छ। झोङमा बस्ती भए पनि खोलाभन्दा निकै माथि छ। खोला किनारमा बस्ती नभएकाले पनि बहाव बढेको वा लेदो बगेको भन्ने हत्तपत्ति थाहा नपाएको उनले बताए। ‘यो खोलामा बेलाबेला बाढी आउँथ्यो। तर अहिले अधिक नै आयो,’उनले भने। उनका अनुसार कागबेनीमा रहेका घर खोलाको नजिक भएकाले बाढी पस्यो। खोलाको नजिक बस्ती बसाल्नु नै गलत भयो।’लेदो रोकिँदै, बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्छ,’उनले भने, ‘लेदोसहितको बाढीले सखाप पार्यो। मानवीय क्षति हुन पाएन। मध्यरातमा बाढी आएको भए मानवीय क्षति पनि हुन सक्थ्यो।’ बाढीले घर, होटल, मन्दिर, आश्रम, विद्यालय तथा प्रहरी चौकी गरी ३१ वटा संरचना बगाएको मुस्ताङ जिल्ला प्रशासनले जनाएको छ।
लेतेबाटै सुरु हुन्छ अनुपम भूवनोटको मुस्ताङ जिल्ला। जोमसोम हुदैं कागबेनी पुल तरेपछि मात्र लोमान्थाङ यात्रा तय हुन्छ। कागबेनीबाट उक्लिएपछि पवित्र धार्मिकस्थल मुक्तिनाथ पुगिन्छ। प्रकृतिको अनुपम ठाउँ मुस्ताङलाई बेलाबेलामा प्राकृतिक प्रकोपले रुवाएको छ। मुस्ताङ ‘स्याडो रेन जोन’हो। तर पछिल्लो समय मुस्ताङको परिचय फेरिदैं गएको त्यहाँका बासिन्दाले बताएका छन्। जलवायु परिवर्तनको असर बढ्दै जाँदा मुस्ताङ अहिले ‘रेन जोन’बन्दै गएको छ। पानी पर्न थालेपछि माटोको सहर विस्तारै कंक्रिटमा बदलिन सुरु भइसकेको छ। माटोले छाएका घर चुहिन थालेपछि जस्तापाताले छाउन सुरु भएको एक दशकजति भएको छ। त्यसभन्दा अघि अधिकांश घर माटोले छाइएका हुन्थे।
खोलाको नजिक बस्ती बसाल्नु नै गलत भयो।’लेदो रोकिँदै, बग्दै गर्दा क्षति भएको उनले बताए। ‘लेदो एकैपटक बग्दैन, रोकिँदै बग्छ,’उनले भने, ‘लेदोसहितको बाढीले सखाप पार्यो। मानवीय क्षति हुन पाएन। मध्यरातमा बाढी आएको भए मानवीय क्षति पनि हुन सक्थ्यो।’
जल तथा मौसम विज्ञान कार्यालय पोखराका मौसमविद् मीनकुमार अर्यालका अनुसार जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली जिल्लामा देखिन थालेको छ। मुस्ताङमा पछिल्लो समय नियमित रूपमा वर्षा हुन थालेको छ। ‘प्राकृतिक प्रकोपका घटना हिमाली जिल्लामा बढिरहेका छन्,’अर्यालले भने, ‘जलवायु परिवर्तन मुख्य कारण मान्न सकिन्छ।’
भूगर्भविद् श्रीकमल द्विवेदी पनि हिमाली क्षेत्र तातिँदै जाँदा प्राकृतिक विपद् निम्तिन थालेको बताउँछन्। ‘हिमाली क्षेत्रमा ग्लोबल वार्मिङको असर देखिने थालेको छ,’उनले भने। द्विवेदीका अनुसार हिमाली जिल्लामा माटो पनि हिउँजस्तै जमेर बसेको हुन्छ। तातो बढेपछि हिउँ र जमिन पग्लेर पहिरो जान्छ। त्यसबाहेक हिउँ मात्र पर्ने ठाउँमा अहिले बढी पानी पर्न थालेको छ, त्यो पनि छोटो समयाम धेरै वर्षा हुने गरेको छ। यो ग्लोबल वार्मिङकै असर भएको उनको ठम्याइँ छ। ‘प्राकृतिक प्रकोपको असर हिमाली जिल्लामा देखिन थालेको छ। बारम्बारका प्राकृतिक विपद्का घटनाक्रमले पनि यस्तै देखाउन थालेको छ। अहिले खहरे खोलामा आएको बाढी पनि त्यसैको निरन्तरता हो,’ उनले भने। उनका अनुसार चिसो क्षेत्रमा छोटो समयमा ठुलो वर्षा हुँदा पानीको तापक्रम बढी हुन्छ, जसले बरफ र जमेर बसेको जमिनसमेत पगाल्छ र बाढी निम्त्याउँछ।
प्रकाशित: ३२ श्रावण २०८० ०१:१६ बिहीबार