४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

विवादित खत्री पशुपतिमा पुनः नियुक्त

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्य पदमा विवादित व्यक्ति राजुकुमार खत्रीलाई नियुक्त गरेका छन्। यसअघि खत्री २०७३ देखि २०७७ सालसम्म विकास कोषका सदस्यमा कार्यरत थिए। त्यतिबेला कोषको सदस्यको हैसियतमा उनको भूमिका विवादास्पद बनेको थियो। कोषका सदस्य अर्जुन बास्तोलाको कार्यकाल सकिएपछि किरातीले बास्तोलाको ठाउँमा खत्रीलाई नियुक्त गरेका हुन्।  

पर्यटन मन्त्रालय स्रोतका अनुसार मन्त्रीस्तरीय निर्णयबाट उनलाई चार वर्षका लागि सदस्यमा नियुक्ति गरिएको हो। खत्री कोषका वर्तमान सदस्य सचिव मिलन थापासँग निकट मानिन्छन्। कोषको स्वामित्वमा रहेको नेपाल भारत धर्मशाला बतास समूहलाई भाडामा दिने विषय र पशुपतिको जलहरी काण्डमा खत्री मुछिएका छन्। यसअघि २०७७ सालमा खत्रीको कार्यकाल सकिनै लागेका बेला कोषका तत्कालीन कोषाध्यक्ष थापाले खत्रीलाई जलहरी व्यवस्थापन समितिको सदस्यमा नियुक्त गरेका थिए। कार्यकाल सकिए पनि जलहरी निर्माणमा खत्रीको संलग्नता रहेको छ। बतास समूहलाई पशुपति धर्मशालाभित्र पाँचतारे होटलसरहको भौतिक संरचना निर्माण गर्न अनुमति दिने विषयमा पनि खत्रीको प्रमुख भूमिका रहेको कोषका एक कर्मचारी बताउँछन्।

यता पर्यटन मन्त्रालयले पशुपति क्षेत्र विकास कोष ऐन २०४४ अनुसार खत्रीलाई सदस्यमा नियुक्त गरिएको जनाएको छ। कोषका सदस्यसचिव मिलन थापा पनि विकास क्षेत्र विकास कोषमा दोहरिएर नियुक्त भएका छन्। कोषाध्यक्ष पदका रूपमा २०७८ भदौमा थापाको चार वर्षको कार्यकाल सकिएको थियो। कार्यकाल सकिएको ६ दिनमै उनलाई सदस्य सचिवमा नियुक्ति गरिएको थियो। थापाको कार्यकाल पनि निकै विवादास्पद छ। जलहरी काण्ड तथा बतास समूहलाई धर्मशाला भाडामा दिने विषयमा थापा अनियमिततामा मुछिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जलहरी काण्डको छानबिन अहिले अन्तिम चरणमा पुर्याएको छ।

प्रकाशित: १६ श्रावण २०८० ०२:४७ मंगलबार

विवादित खत्री पशुपतिमा पुनः नियुक्त