४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ताप्लेजुङ प्रहरीले समात्याे १ सय १९ फरार प्रतिवादी

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक बर्ष २०७९।८० मा बिभिन्न घटनामा संलग्न भई पक्राउ पर्नुपर्ने १ सय ३४ जना मध्ये १ सय १९ जनालाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार बिभिन्न घटनामा संलग्न १९ जना भने अझै फरार रहेका छन्। उनीहरुको खोजी कार्य जारी रहेको छ।  

घटनामा संलग्न फरार प्रतिवादीको खोजी कार्यलाई प्रहरीले 'बिशेष कार्ययोजना’बनाएर खोजी कार्य जारी राखेको समेत प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले बिभिन्न घटनामा संलग्नहरुको पक्राउमा ८५ प्रतिशत भन्दा बढी सफलता पाएको देखिएको छ । प्रहरीले आव २०७८।७९ मा बिभिन्न घटनामा संलग्न रही पक्राउ पर्नुपर्ने १ सय ५६ जनामध्ये १ सय २८ जनालाई पक्राउ गरेको थियो भने २८ जना फरार रहेका थिए । आव २०७८।७९ मा ८२ प्रतिशत पक्राउ पर्दा १८ प्रतिशत फरार रहेका थिए । आव २०७७।७८ मा १ सय ५४ जना पक्राउ पर्नुपर्नेमा १ सय ४४ जना पक्राउ परेका थिए । सो बेला ९३.५ प्रतिशत पक्राउ पर्दा ६.५ प्रतिशत मात्र फरार रहेका थिए ।  

मुद्दा फस्र्यौटमा भने औसत नतिजा

आरोपित पक्राउमा उल्लेख्य सफलता पाएको ताप्लेजुङ प्रहरीले मुद्दा फस्र्यौटमा भने औसत सफलता पाएको छ। आव २०७९।८० मा १ सय ६५ वटा मुद्दा दर्ता भएकोमा ६९ वटा मात्र फस्र्यौट गरी ९६ वटा काम बाँकीमा परेको छ। मुद्दा फस्र्यौटका हिसावले भने यो ४२ प्रतिशत मात्र सफलता हो । आव २०७८।७९ मा भने १ सय ६६ वटा मुद्दा दर्ता भएकोमा ८४ वटा फस्र्यौट गरी ८२ वटा काम बाँकीमा थिए। सो आवमा ५०.६ प्रतिशत मुद्दा फस्र्यौट भएको थियो। आव २०७७।७८ र २०७६।७७ भने मुद्दा फस्र्यौटका हिसावले उल्लेख्य बर्ष रहेको प्रहरीको अभिलेखबाट देखिएको छ। आव २०७७।७८ मा १ सय ७१ वटा मुद्दा दर्ता भएकोमा १ सय ६९ थान अर्थात् ९८.८३ प्रतिशत मुद्दा फस्र्यौट भएका थिए। सो आवमा २ वटा मुद्दामात्र अर्को आवका लागि जिम्मेवारी सरि आएको थिया । आव २०७६।७७ त झन् मुद्दा फस्र्यौटका हिसावले पछिल्ला ४ बर्षकै उत्कृष्ट थियो। १ सय ६३ थान मुद्दा दर्ता भएकोमा १ सय ६२ थान मुद्दा फस्र्यौट भई १ थान मुद्दाको फस्र्यौट मात्र अर्को आवका लागि जिम्मेवारी सरी आएको थियो। प्रहरी कार्यालयको मुद्दा फस्र्यौटका हिसावले सो आवमा ९९.३९ प्रतिशत मुद्दा फस्र्यौट भएको थियो। ताप्लेजुङ प्रहरीले बिभिन्न  ४३ वटा शीर्षकमा मुद्दा दर्ता गरी अभिलेख राख्ने गरेको छ।  

प्रकाशित: ४ श्रावण २०८० ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App