९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

मुस्कुराउँदै काठमाडौं महानगर

वसन्तपुर नजिकैको सडक पेटीमा हिँड्दै सर्वसाधारण।

कतै रङ्गीबिरङ्गी सडक। कतै रङ्गीचङ्गी फूल। सहज सडक पेटी, अनि व्यवस्थित पार्किङ। असरल्ल तारको जालो र नसुहाँउदा होर्डिङ बोर्ड हटेसँगै महानगरपालिका फक्रिएको फूलजस्तै मुस्कुराउँदै छ। उतिबेला काठमाडौंका मेयर केशव स्थापितले सडक किनारमा फूल लगाउने कुरा गर्दा धेरैले हाँसेर उडाएका थिए, पत्याएका थिएनन्। काठमाडौंका सडकमा फूल फुलाए पनि जोगाउन सकिन्न भन्ने टिप्पणी धेरैले गर्थे। यसखालको टिप्पणी अहिले गलत साबित भएको छ।

‘बिस्तारै राजधानी सुन्दर देखिँदैछ,’ राजधानीमा कार्यरत खोटाङका भीमकुमार राई भन्छन्, ‘सडकमा हिँड्दा पनि रमाइलो महसुस हुँदैछ।’ बबरमहल नजिकको पुलमा फक्रिएका फूलछेउ उभिएका राईले खुसी हुँदै भने, ‘गरे त यति राम्रो देखिँदो रहेछ।’

काठमाडौं महानगरपालिकाले हरियाली प्रवर्द्धनअन्तर्गत विभिन्न ठाउँमा विरुवा र फूल रोप्दै आएको छ। विरुवा रोप्न नमिल्ने ठाउँमा महानगरपालिकाले गमलामा फूल फुलाउन थालेको छ। पुतली सडक, बागबजार, प्रदर्शनीमार्ग बानेश्वरका सडक छेउछाउमा राखिएका गमलामा धुपी, समी, कपुरसँगै विभिन्न जातका फूल सुगन्ध छर्दै मुस्कुराइरहेका छन्।

यी क्षेत्रमा गमलामा झन्डै २ सय बोटविरुवा र फूल रोपिएको महानगरले जनाएको छ। ‘यो हाम्रो सुरुवाती चरण हो,’ काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘बिस्तारै हामी महानगरका हरेक क्षेत्रलाई सुन्दर र चिटिक्क बनाउँदै लाने योजनामा छौं।’

महानगरपालिकाले रोपेका फूलले सर्वसाधारणको ध्यान तानेको छ। सर्वसाधारणले फुलसँगै तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। ‘अब हामीले कसैलै फूल चुँडेको दृश्यचाहिँ हेर्नु नपरोस्,’ तस्बिर खिच्दै गरेकी शारदा फुयाँल भन्छिन्, ‘सडक किनारमा फुलाइएका फूल चुँड्न होइन, हेर्नलाई हो, सौन्दर्य छर्न हो।’

‘बिस्तारै राजधानी सुन्दर देखिँदैछ,’ राजधानीमा कार्यरत खोटाङका भीमकुमार राई भन्छन्, ‘सडकमा हिँड्दा पनि रमाइलो महसुस हुँदैछ।’ बबरमहल नजिकको पुलमा फक्रिएका फूलछेउ उभिएका राईले खुसी हुँदै भने, ‘गरे त यति राम्रो देखिँदो रहेछ।’

महानगरका प्रवक्ता मानन्धर सहरलाई सफा र चिटिक्क राख्नपार्न सहरवासीको भूमिका पनि महत्वपूर्ण हुने बताउँछन्। ‘हामीले योजना बनाएर कार्यान्वयन गर्ने हो,’ उनी भन्छन्, ‘योजना जोगाउने र बढाउने दायित्व नगवासीमा पनि रहन्छ।’

सहरी सौन्दर्यको महत्व बिस्तारै सबैले बुझ्न थालेको उनको अनुभव छ। त्यसैले काठमाडौं महानगरपालिकाले सडकदेखि विद्यालयसम्म सफा र चिटिक्क राख्न विभिन्न योजनासहित बजेट ल्याएको उनले बतााए। मानन्धरका अनुसार आर्थिक वर्ष २०८०/०८१ का लागि नगरसभामा प्रस्तुत गरिएको बजेट तथा कार्यक्रममा सडक सौन्दर्यकरणमा काठमाडौं महानगरपालिकाले प्राथमिकता दिएको छ।

बबरमहल नजिकैको पुलमा फुलेका फूल।

महानगरले ‘मेरो रहर, हरित सहर’ उद्देश्यका साथ पार्क, आइल्याण्ड निमार्ण, ममर्त, संरक्षण र वृक्षरोपणसम्बन्धी अभियान सञ्चालन गर्न लागेको छ। यसका लागि महानगरपालिकाले ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी उनले दिए।

सहरको सौन्दर्यकरणमा बाधक बनेका असरल्ल तारको व्यवस्थापनमा महानगरपालिकाले सफलता हासिल गरेको छ। महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा झुन्डाइएका अनावश्यक तार हटाउन वैशाखको दोस्रो साता सार्वजनिक सूचना जारी गरेपछि सरोकारवालाको सहयोगले तार व्यवस्थापनमा सफलता मिलेको हो।

‘होर्डिङ बोर्ड र असरल्ल तार व्यवस्थापन गरेपछि महानगरलाई सुन्दर बनाउन हाम्रो ध्यान विरुवा र फूल रोप्नेमा गएको छ,’ मानन्धरले भने, ‘सहरलाई स्वच्छ र हराभरा राख्न महानगर तल्लीन छ।’

महानगरले ‘मेरो रहर, हरित सहर’ उद्देश्यका साथ पार्क, आइल्याण्ड निमार्ण, ममर्त, संरक्षण र वृक्षरोपणसम्बन्धी अभियान सञ्चालन गर्न लागेको छ। यसका लागि महानगरपालिकाले ५० करोड रूपैयाँ विनियोजन गरेको जानकारी उनले दिए।

तीन वर्षभित्र तीन लाख विरुवा रोप्ने लक्ष्य लिएको महानगरले यो वर्ष १ लाख रोपिसक्ने जनाएको छ। ‘अब महानगरमा रहेका पुल क्षेत्रमा पनि हरियाली प्रवर्द्धन गरिनेछ,’ उनले भने, ‘सहरलाई सुन्दर बनाउन कुनै कसर बाँकी राख्दैनौं।’

बानेश्वरका भित्री सडकका भित्तामा पोतिएको विभिन्न रङले सर्वसाधारण झनै आकर्षित भएका छन्। त्यहाँका गल्लीका पर्खाल कतै सुन्तला रङ त कतै बैजनी रङले सिंगारिएका छन्।’

स्थानीयको रोजाइअनुसार रङ वालमा लगाएर सहरलाई थप सुन्दर देखाउने छौं,’ मानन्धर भन्छन्, ‘यसबाट पनि सहरवासी खुसी भएको महसुस हामीले गरेका छौं।’

यो हाम्रो सुरुवाती चरण हो। बिस्तारै हामी महानगरपालिकाका हरेक कुनालाई सफा, सुन्दर र चिटिक्क बनाउनेछौं।

-नवीन मानन्धर

प्रवक्ता, काठमाडौं महानगरपालिका

यस्तै ‘धुलोरहित काठमाडौं’ योजनाअन्तर्गत महानगरभित्रका डिपिआर भएका सडक तथा पेटी मर्मत गर्न १ अर्ब रूपैयाँ विनियोजन गरिएको मानन्धरले बताए। महानगरले ‘सुन्दर महानगर योजना’अन्तर्गत महानगरभित्रका सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई नियमित मर्मत गर्न १० अर्ब रूपैयाँ छुट्याएको जानकारी उनले दिए।

महानगरपालिकाले ‘उज्यालो सहर, मेरो महानगर’ अन्तर्गत सबै सडक तथा गल्ली उज्यालो बनाउन बत्ती जडान गर्न ३० करोड रूपैयाँ विनियोजन गरेको छ। यसबाहेक काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यकरणलाई ध्यान दिँदै विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउन ५ करोड रूपैयाँ विनियोजन गरेको छ। मानन्धर भन्छन्, ‘महानगरपालिकाका वाचा पूरा गर्ने अभियानमा हामी छौं।’

प्रकाशित: २० असार २०८० ०१:३२ बुधबार

मुस्कुराउँदै काठमाडौं महानगर महानगरपालिकाले रोपेका फूल