महोत्तरी- सोनमा गाउँपालिकाको वडा सचिव सुभाष पौडेल १५ हजार घुँस लिँदा लिदै पक्राउ परेका छन्।
संसदीय विकास कोषबाट सडक मर्मत सम्बन्धि रकम निकासाका लागि गाउँपालिकाको सिफारिस आवश्यक पर्ने र सोही सिफारिस गरे बापत १५ हजार घुस लिँदै गरेको अवस्थामा पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिवासको टोलिले आईतबार पक्राउ गरेको हो।
सोनमा गाँउपालिका वडा नं. ६,७ र ८ का वडा सचिव रहेका पौडेललाई संसदीय विकास कोषबाट सुन्दरपुरमा भएको माटो मर्मतको रकम निकासा लिन सिफारिस गरि दिन सेवाग्राहीले पटक पटक आग्रह गरेका थिए। तर पौडेलले घुस नदिए सिफारिस नै नगर्ने बताएपछि सेवाग्राहीले अख्तियारको टोलीलाई जानकारी गराई घुस रकम वुझाएपछि उनी रंगेहात पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय बर्दिवासले जनाएको छ।
बाटो मर्मतको काम सकिएपछि पटक पटक रकम निकासको लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीले धाएपनि उनले काम गरिदिएका थिएन। बाध्य भएर सेवाग्राहीले उनी विरुद्ध अख्तियारमा लिखित उजुरी नै दिएका थिए।
पक्राउ परेका पौडेललाई अख्तियारको वर्दिवास स्थित कार्यालयमा ल्याइएको र घटना वारे थप अनुसन्धान भई रहेको जनाइएको छ ।
प्रकाशित: १७ वैशाख २०७४ १२:५२ आइतबार