१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुराबारीको मुसहर बस्तीमा सहयोग लिएर पुगे माली

मुसहर बस्तीमा खाद्यान्न सहयोग बाड्दै छत्रपाटी निशुल्क चिकित्सालयका अध्यक्ष बिजय बहादुर माली । तस्विरःमिथिलेश यादव

मुराबारी – जताततै नयाँ वर्षको रौनक छाइरहँदा सिरहाको मुराबारी स्थित मुसहर बस्तीमा पनि खुसी छाएको छ । नयाँ वर्षमा दालभात तरकारी खान पाएपछि यो बस्तीमा खुसीको सञ्चार भएको हो ।

‘सहयोगीको भेषमा भगवान आउनु भएछ’

यो मुसहर बस्तीलाई दालभात तरकारी खाने साइत काठमाडौं स्थित छत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष बिजय बहादुर मालीले जुराइदिएका हुन । मालीको टिमले यो बस्तीका ३३ घरधुरीलाई चामल, दाल, तरकारी, बच्चाहरूलाई सर्वोत्तम पिठो लगायतका खाद्यान्न सहयोग गरेका हुन् ।

बस्तीकी दशनीको हात्तमा सर्वोत्तम पिठोको प्याकेट थमाउँदा उनले प्रश्न गरिन– यो प्याकेटमा बिस्कुट हो ? मालीले होइन यो बच्चालाई खुवाउने पोषणयुक्त सर्वोत्तम पिठो हो भने । दशनीले अर्को प्रश्न तेर्साइन–बच्चाका लागि छुट्टै पिठो हुँदो रहेछ, हजुर ? मालीले सर्वोत्तम पिठोको फाइदा र खुवाउने तरिकाबारे दशनीलाई बेलिबिस्तार गरेपछि उनले भनिन्,‘जिन्दगीमा पहिलो पटक देखेकोले अनौठो लाग्यो । यो बस्तीका सात जना पाँच वर्षमुनीका बच्चालाई दुई प्याकेटका दरले सर्वोत्तम पिठो वितरण गरिएको छ । 

मालीको टिमले यो बस्तीका ३३ परिवारलाई चामल, दाल, तरकारी, पिठो, लताकपडा, झुल, कम्बल समेत वितरण गरे । उनीहरूले एक परिवारमा ३० किलोको दुई प्याकेट चामल, पाँच किलोको दुई प्याकेट पिठो, पाँच किलो आलु, एक किलो प्याज, एक थान पानी भण्डारन गर्ने बाल्टी, जग, पाँच किलो दाल, वितरण गरेका छन् । मनकारी मालीले लहानमा खरीद गरेको सहयोग सामग्री मुराबारीसम्म सम्म पुर्याइदिन लहानका युवा व्यपारी एवम् समाजसेवी विशाल साहले ट्रयाक्टर सहयोग गरेका थिए ।

सहयोग सामग्री उचाल्दै बस्तीका ज्येष्ठ नागरिक बालदेव सादायले आँखा भारी पार्दै भने,‘सहयोगीको भेषमा भगवान आउनु भएछ ।’ अहिलेसम्म हाम्रोे दुख देख्न कोही आएको थिएन उनको आँसु भुँइमा चुहियो, ‘गरिबको दुःखमा मलम लगाउन मानिसको भेषमा भगवान आयो ।’

यही बस्तीकी ज्येष्ठ नागरिक धनकुमारी विश्वकर्माले सयोग ग्रहण गर्दै भनिन्, ‘बा आमाले झै दिनुभएको छ ।’ उनले थपिन,‘गरिबको गुजारमा सहयोग गरिदिने हातहरूलाई सधैँ भलो होस् ।’ पन्ध्र दिन अगाडि बाटो हिड्ने अपरिचितले चुरोट खाएर छानोमा फ्याकिदिँदा उनको छाप्रो खरानी भएको थियो । लत्ताकपडा, अन्न सबै त्यही आगोमा जलेर खरानी भएपछि उनी विल्लीमा परेकी थिइन् । कपडा देखी खाद्यान्न सम्मको सहयोग पाएपछि खुसी हुँदै उनले भनिन्,‘भगवान पनि अनेक रुपधारण गरी सहयोग गर्न आइपुग्दो रहेछ ।’

 सहयोग वितरण भइरहँदा केहीबेर केही नबोली टोलाइरहेका मालिले बस्तीका मानिसलाई सम्बोधन गर्दै भने,‘ म नागरिक र रिपब्लिका पत्रिका परिवारलाई धन्यावाद दिन चाहन्छु, जसमा छापिएको समाचारले मेरो मन छोयो ।’ तपाईहरूको बस्तीको दुःखबारे यी पत्रिकामा छापिएको समाचार पढेपछि मैले मन थाम्नै सकिन मालीले बस्तीका नागरिकसमक्ष भने,‘त्यो समाचारको कारणले हामी काठमाडौंबाट यो बस्तीसम्म आइपुग्यौँ ।’

हाम्रो सहयोग तपाईहरूप्रती सद्भाव हो, यसले तपाईहरुको जीवन चल्दैन उनले भने, ‘हामी दूरीको हिसावले टाढा भएपनि दुःखमा हामी सधैँ तपाईहरूको साथ रहन्छौँ ।’ मालीको भावुक भनाई सुनेर बस्तीका सबैको आँखा रसाएको थियो ।

    यो बस्तीका लागि अझ केही सहयोग गर्ने अठोट बोकेर काठमाडौं फर्किरहेका मालीले सहयोग वितरण गरेपछि मुसहर बस्तीलाई हौस्याए,‘खाने समान पाएँ भनेर काम गर्न नछोड्नु होला, कर्म गर्न छोड्नु हुन्न ।’     

प्रकाशित: १ वैशाख २०७४ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App