नेपालको सबैभन्दा होचो स्थान धनुषाको मुसहरनिया हो भन्ने हल्ला चलेको धेरै भइसकेको छ। हल्ला चले पनि यहाँ सरकारी तवरबाट न कुनै आधिकारिक घोषणासहित काम हुन सकेको छ न त स्थानीयबीच होचो स्थानका बारेमा एकमत छ। स्थानीयमध्ये कसैले मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ भोलाबाबा मन्दिर वरपर करिब साढे तीन बिघा क्षेत्रफलमा त कसैले वडा नं १ को दक्षिणबारी टोल नेपालकै होचो स्थान भएको दाबी गर्छन् तर दाबी गरिएका दुवै ठाउँमा पहिचान झल्किने कुनै प्रमाण भेटिँदैन।
स्थानीयवासी रामसोभार चनीले वडा नं २ मा होचो स्थान दाबी गरे र भने, ‘यही ठाउँ हो नापेको। सुरुको चहलपहल हेर्दा अब केही हुन्छ कि जस्तो लागेको थियो, त्यो पनि कता गएर अड्कियो थाहा छैन। न स्थानीय सरकारले केही ग¥यो न अरू कुनै संस्थाले नै।”
त्यस्तै वडा नं १ का स्थानीयवासी अशोक यादव होचो स्थान दक्षिणबारी टोलमै भएको दाबी गर्छन्। ‘तपाईँले पनि पढ्नुभएको होला होचो स्थान धनुषाको मुसहरनिया भनेर। वडा नं २ त तत्कालीन मुखियापट्टी हो’, अशोकले भने।
होचो स्थानका विषयमा चासो राख्दै आएका मधेस प्रदेशसभा सदस्य रामसरोज यादवले पहिले वडा नं १ मा होचो स्थानबारे चर्चा भए पनि पछिल्लो पटक नाप जाँच हुँदा वडा नं २ को पुर्नी पोखरी भैरवबाबा मन्दिर छेउमा होचो स्थान भेटिएको बताउँछन्। उनी भन्छन्, ‘पहिले वडा नं नम्बर १ का केही स्थान र सुदखोलामा पनि नापी भएको थियो तर खोला, दशगजा छेउमा नापेर त काम भएन। पछि यता नाप्दा वडा नं १ को भन्दा होचो देखियो। सोहीअनुसार हामीले वडा नं २ मा होचो स्थान दाबी गरेर केही संरचना पनि बनाउन खोज्दै छौँ।’
वडा नं २ का अध्यक्ष नरेशप्रसाद यादवको पनि आफ्नै दाबी छ। “होचो स्थान वडा नं २ को पुर्नी पोखरी छेउमा हो। नापीका क्रममा पनि यो भनिएको हो। त्यहीअनुसार यहाँ दृश्यावलोकन स्तम्भलगायतका संरचना बनाउने कुरा पनि भएकै हो।” दुबै वडाका स्थानीयवासी आआफ्नै ठाउँमा होचो स्थान भनेर दाबी रहेको छ।
नापी विभाग खगोल तथा भूमापन महाशाखाका उपनिर्देशक अमिरप्रसाद न्यौपानेले भने, ‘पहिले झापाको केचनाकवल र अहिले धनुषाको मुसहरनिया होचो स्थान भनिँदै छ। सरकारले कहिल्यै आधिकारिक घोषणा गरेको र गर्ने योजना पनि छैन। स्थानीयले दाबी गरिरहेको विषयमा केही भन्नु छैन।’
होचो स्थानका विषयमा स्थानीय स्तरमा फकरफरक ठाउँमा दाबी रहे पनि यहाँका नागरिकहरूको पीडा वर्षौँदेखि सम्बोधन हुन सकेको छैन। यी दुवै टोल जमुनी, सिमरा र विगिही नदी छेउमा रहेकाले बर्सेनि नदी कटानको समस्याबाट स्थानीयवासी पीडित छन्। ‘होचो ठाउँ जहाँ भए पनि हामीले लाभ त केही पाइरहेका छैनौँ बरु पीडामाथि पीडा छ। वर्षायाममा चारैतर्फ चार÷पाँच फिट पानी भरिन्छ, ज्यान जोखिममा पर्छ’, स्थानीय ८० वर्षीय रामवृक्ष यादवले पीडा सुनाए।
स्थानीय ज्येष्ठ नागरिक ७० वर्षीय रामाषिस रायले वर्षायाममा डुबानले मान्छे, घर तथा घरभित्र जोहो गरेका सामान जोखाउन मुस्किल हुने गरेको बताए। अर्का स्थानीय पुरन यादव, संजिव यादवलगायतले नेपालको नक्सा हेरेर पनि मुखियापट्टी मुसहरनियाको दुर्दशा अनुमान गर्न सकिने बताउँछन्।
वडा नं २ का अध्यक्ष नरेशप्रसाद पनि स्थानीय स्रोतसाधनले नभ्याउने र स्रोतसाधन भएको प्रदेश तथा केन्द्र सरकारले यहाँका जनतालाई जोगाउने गरी योजना अगाडि सार्न नसकेको बताउँछन्। तीनैतिर रहेका ठुला नदीहरू छेउमा भारतीय पक्षले ठुला बाँध र सडक बनाएको छ। वर्षामा यहाँ पानीको डुबानको समस्या छ। खेतीयोग्य जमिन समाप्त हुने अवस्थामा छ। मानववस्ती बर्सेनि ज्यान हत्केलामा राखेर बस्नु परेको उहाँको भनाइ छ।
प्रदेशसभा सदस्य राम सरोज यादवले यो गाउँपालिका नेपालकै पानी निकास हुने ठाउँ भएकाले यहाँको विशेषता र संवेदनशीलता दुवै हेरेर सरकारले नदी रोकथाम र विकासका काम अगाडि बढाउनुपर्ने बताउँछन्। वर्षामा यहाँ पानीले जलमग्न भएको तलाउभन्दा अरू केही देखिँदैन भने अरू बेला पानी नभएर सुख्खा जमिन मात्रै देखिन्छ। पर्यटकीय गतिविधिबाटै स्थानीयको जीविकोपार्जनमा सहयोग पुग्ने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
धनुषाको निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद जुलिकुमारी महतोले मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ र २ का बासिन्दालाई डुबानको समस्याबाट मुक्त गर्न जमुनी र विगिही नदी नियन्त्रणका लागि बजेट छुट्ट्याउन आफूले पटक पटक सरकारको ध्यानाकर्षण गराएको बताउँछन्।
प्रकाशित: २८ जेष्ठ २०८० ११:०८ आइतबार



-600x400.jpg)

