काठमाडौं- नेपाल रिपब्लिक मिडियाले सुरु गरेकोे नागरिक मिलिजुली अभियानअन्तर्गत बिहीबार काठमाडौं मूलपानी ग्रिनसिटीस्थित शिव पञ्चायन मन्दिरमा एलइडी बल्ब जडान गरिएको छ। नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल र रिपब्लिका दैनिकका सम्पादक सुवास घिमिरेसहित अन्य कर्मचारीले मन्दिरको बाहिरी र भित्री भागमा बल्ब जडान गरेका थिए।
मन्दिर परिसर सरसफाइपछि भित्री र बाहिरी भागमा ३१ वटा बत्ती जडान गरिएको हो। करिब तीन रोपनी जग्गामा फैलिएको उक्त मन्दिरमा दैनिक नित्य पूजा र आरती हुने तथा विभिन्न पर्वमा धार्मिक मेला लाग्ने हिन्दु धर्म संरक्षण समितिका सहसचिव रमेशप्रसाद प्याकुरेलले जानकारी दिए। उनका अनुसार मन्दिरमा कृृष्णजन्माष्टमी, रामनवमी, एकादशी, शिवरात्रिलगायत पर्वमा मेला लाग्छ।
२०५५ सालमा स्थापित उक्त मन्दिरभित्र जेष्ठ नागरिकका लागि आश्रम पनि निर्माण गरिएको छ। समुदायस्तरमा विद्युत् बचत गर्न जनचेतना दिने उद्देश्यले अभियान थालिएको हो। यसअघि ललितपुरको खोकनास्थित रुद्रायणी मन्दिर र काठमाडौंको इचंगुनारायण मन्दिरमा बल्ब जडान गरिसकिएको छ। अभियानकै क्रममा नेपाल रिपब्लिक मिडियाले सरसफाइका लागि प्रयोग हुने कुचो, बाल्टिनलगायत सामग्री पनि मन्दिरलाई हस्तान्तरण गरेको छ।
प्रकाशित: २५ चैत्र २०७३ ०२:२३ शुक्रबार