१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सर्लाहीकाे चन्द्रनगर गाउँपालिकामा आगजनी, अध्यक्षको घरमा ढुंगामुढा प्रहार

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्यार्थीहरूले गाउँपालिका कार्यालयमा आगजनी गर्नुका साथै गाउँपालिका अध्यक्षको घरमाथि ढुंगामुढा गरेका छन्।

शिक्षक नियुक्तिका साथै अन्य आन्तरिक विवाद समाधानको माग गर्दै चन्द्रनगर पोलिटेक्निकल इन्स्टिच्युटका विद्यार्थीहरूले आगजनी र ढुंगामुढा गरेको बताइएको छ।

आक्रोशित विद्यार्थीहरूले चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा र आगजनी गर्नुका साथै गाउँपालिका अध्यक्ष राजकुमार महतोको निजी निवासमा ढुङ्गामुढा गरेका हुन्। चन्द्रनगर गाउँपालिका २ मा रहेको इन्स्टिच्युटका विद्यार्थीहरूले कार्यपालिकाको कार्यालयको सार्वजनिक सम्पत्तिमाथि ढुङ्गामुढा , आगजनी गरी क्षति पुर्‍याएको तथा कार्यालय सहयोगीमाथि हातपात गरी कार्यालयभित्र थुनी ताल्चा लगाएको भन्दै गाउँपालिकाले कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

यसै गरी चन्द्रनगर २ बबरगंजमा रहेको गाउँपालिका अध्यक्ष महतोको निजी निवासमा समेत तोडफोड भएको छ। इन्स्टिच्युटका विद्यार्थीहरूले नाराबाजी गर्दै अध्यक्ष महतोको घरमा ढुङ्गामुढा गरेको अध्यक्ष महतोका स्वकीय सचिव उमेश साहले जानकारी दिएका छन्।

२०७६ मा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटमा पूर्ण समयको लागि शिक्षक तथा प्रिन्सिपलको नियुक्ति तथा व्यवस्थापन नभएको, प्रयोगात्मक ल्याब तथा पुस्तकालय लगायतका कुनै पनि आवश्यक पूर्वाधार नभएको अवस्था र स्थापनादेखि आर्थिक वर्ष २०७८/७९ सम्मको लेखा परीक्षण समेत नगराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत वर्षको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा राजकुमार महतो निर्वाचित भए लगतै इन्स्टिच्युटमा बैठक बसाई विभिन्न चरणको विद्यार्थी, शिक्षक, संचालक समितिको पदाधिकारी, कर्मचारीहरूको सहभागितामा राम्रोसँग संचालन तथा व्यवस्थापन गर्न गहन छलफल गरी कार्य समूह नै निर्माण गरी इन्स्टिच्युटको वर्तमान अवस्था, विद्यार्थीको उचितम अध्ययन अध्यापनको लागि आवश्यक पूर्वाधारको व्यवस्था तथा इन्स्टिच्युटलाई व्यवस्थित रूपले संचालन गर्न चाहिने आवश्यक जनशक्ति, सामाग्री र पूर्वाधारको अध्ययन प्रतिवेदन बनाई कार्यपालिकाको कार्यालयमा पेस गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

अध्यक्ष महतो निर्वाचित भएपछि हालसम्ममा इन्स्टिच्युट संचालन तथा व्यवस्थापन गर्न विद्यार्थीले माग गरे अनुसार सुशील कुमार सिहंलाई निमित्त प्रिन्सिपल नियुक्त गरिएको, शिक्षक भर्नाको लागि विज्ञापन गराई खुल्ला प्रतिस्पर्धा मार्फत ३ जना शिक्षक भर्ना भएको र शिक्षण कार्य भइरहेको, किताब खरिद गरी पुस्तकालयको व्यवस्थापन गरिसकेको, विद्यार्थीहरू बस्ने होस्टलको व्यवस्थापनमा सुधार भएको, लेखा परीक्षक नियुक्त गरी लेखापरिक्षण गर्न गराउन निर्देशन दिइएको र कार्यान्वयन चरणमा रहेको तथा प्रयोगात्मक सामग्री, किताब खरिदका लागि सार्वजनिक खरिद ऐन अनुसारको प्रक्रिया अपनाई खरिद प्रक्रिया बढाउन प्रमुख प्रशासकीय अधिकृतसमेतलाई निर्देशन दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ।

केही व्यक्तिहरूले उचालेको भरमा विद्यार्थीहरूले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहित कसैलाई पूर्व जानकारी नै नगरी र कुनै छलफल बिना नै गापा अध्यक्ष र अधिकांश कर्मचारीहरू तालिमको क्रममा बाहिर रहेको समयमा कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिकमाथि हातपात गरी कार्यालयभित्रै बन्द गरी ताल्चा लगाएको, केही उद्दण्ड व्यक्तिहरूले गाउँ कार्यपालिकाको सार्वजनिक सम्पत्ति माथि ढुगामुढा, आगजनी गरी क्षति पुर्‍याएको, भिडियोमा प्रष्ट सुनिए अनुसार जनप्रतिनिधि र कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरिएको प्रति गाउँपालिकाको गम्भीर ध्यानाकर्षण अध्यक्ष महतोले जनाएका छन्।

घटनाका दोषीमाथि अविलम्ब कानुनी प्रक्रिया अगाडि बढाई कानुनको दायरामा ल्याउन गापा अध्यक्ष महतोले माग गरेका छन्।

प्रकाशित: २२ जेष्ठ २०८० १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App