४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

ललितपुर- ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

प्लटिङ थालेसँगै हरिसिद्धि सिलौटेस्थित कर्मनसा खोला आसपासको करिब २ सय रोपनी खेतीयोग्य खेतबारी टुक्रे जग्गामा परिणत भएको छ। 'पहिला–पहिला राम्रो उत्पादन हुन्थ्यो,' हरिसिद्धीका स्थानीय मुकेश मर्हजनले भने, 'तर, इँटाभट्टा र प्लटिङले पछिल्लो समय खेतीयोग्य उर्वर माटो रुखो र कडा बन्दै गएको छ।'

सिलौटेमै हरिसिद्धि हुँदै बग्ने कर्मनसा खोलाको किनार मिचेर धमाधम घर बनाउन थालिएको छ। खोलाको जग्गा मिचेसँगै बहावक्षेत्र साँघुरिँदै गएको छ। तर ललितपुर महानगरपालिका र काठमाडौं उपत्यका नगर विकास प्राधिकरणले  यस विषयमा खासै चासो दिएको देखिँदैन। सम्बन्धित निकायले चासो नदिँदा स्थानीय र जग्गा विचौलियाहरूले नै दशकयता खोलाको जग्गा अतिक्रमण गरिरहेका छन्।

काठमाडौं उपत्यका नगर विकास प्राधिकरण ललितपुरका आयुक्त नारायणराज भण्डारीले प्लटिङ गर्दा बाटो र खोलाको जग्गा मिचेका कारण प्लटिङ रोक्न एक महिनाअधि सूचना जारी गरेको जानकारी दिए। 'जग्गा व्यवसायी र स्थानीयले मापदण्डअनुसार सडक र खोलाको जग्गा नछाडेकोले उक्त क्षेत्रमा प्लटिङ र घर निर्माण रोक्न आदेश दिएका छौँ,' उनले भने, 'मापदण्ड मिचेर प्लटिङ गर्नेलाई कानुनी कारबाही गर्छौँ।' उनले खेतीयोग्य जमिन प्लटिङ गर्दा नगर विकास प्राधिकरणसँग प्लानिङ पर्मिट लिनुपर्ने कानुनी व्यवस्था भए पनि स्थानीय र जग्गा व्यवसायीले उक्त नियम मिचेको बताए।

प्राधिकरणको २०६४ सालको मापदण्डअनुसार खोलादेखि १० मिटर दूरीमा जग्गा प्लटिङ र घर निर्माण गर्न पाइँदैन। खोला अतिक्रमण रोक्न महानगरपालिकाले अहिलेसम्म कुनै पहल सुरु गरेको छैन।

खोला मिचेर बहाव साँघुरो पारिएपछि बर्खायाममा घरमै बाढी पस्ने गरेको सिलौटेका टेकबहादुर थापाले बताए। उनका अनुसार यस क्षेत्रमा २०६७/६८ सालदेखि नै खोेलाको जग्गा मिचेेर घर निर्माण र खेतीयोग्य जग्गा प्लटिङ हुँदै आएको छ। कर्मनसा खोलाको दायाँ र बायाँ दुवैतर्फ जग्गा मिचिएको उनले बताए।

स्थानीय जग्गा व्यवसायीले सम्बन्धित नगरपालिका तथा प्राधिकरणलाई खबरै नगरी प्लटिङ गरिरहेका छन् भने कतिपयले खोलाको जग्गा मिचेर घरै बनाइसकेका छन्। यसरी घर बनाउनेमा स्थानीय मंगल जोशी, कान्छा लिम्बू, महेश अग्रवाल, सुरेश महर्जनलगायत छन्। उनीहरूले महानगरपालिकाको मापदण्ड मिचेर घर बनाएको प्राधिकरणका जिल्ला आयुक्त भण्डारीले बताए। उनले उक्त क्षेत्रमा अहिले जग्गा प्लटिङ र घर निर्माणको कार्य रोकेको जनाकारी पनि दिए।

यता ललितपुर महानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेले खोला मिच्ने र मापदण्ड पालना नगर्ने जग्गाधनीलाई कारबाही गरिने जानकारी दिए। 'मापदण्ड मिचेर प्लटिङ गर्नेलाई अब कारबाही हुन्छ,' उनले भने, 'खोलाक्षेत्र ओगटेर घर र मापदण्ड नमान्नेेले झनै सास्ती खेप्नुपर्नेछ।'

सरकारले तय गरेेको नयाँ मापदण्ड अटेर गर्ने घर तथा जग्गाधनीलाई कारबाही हुने ललितपुरका प्रमुुख जिल्ला अधिकारी दीपक काफ्लेले बताएका छन्।

'कर्मनसा खोला अतिक्रमण र जग्गा प्लटिङ युरो हाउजिङ कम्पनीले सुरु गरेको थियो। त्यसपछि स्थानीयले पनि मनपरी जग्गा प्लटिङ गर्न थाले,' सिलौटेका राजेन्द्र कार्कीले भने। उनका अनुसार अतिक्रमणकै कारण खोला २ सय मिटर जति साँघुरिएको छ। उनले भने, 'आफ्नो जग्गाको भाउ बढाएर बेच्न खोला छेकेर रुट परिवर्तन गरेका छन्, यसो भएकाले सम्बन्धित निकायले चासो दिनु जरुरी छ।'

कर्मनसा खोलामा अहिले पनि स्थानीय नुहाउने र कपडा धुने गर्छन्। वागमती र मनोहरा खोलामा मिसिने यो खोला सिलौटेमा मात्र होइन अन्य स्थानमा पनि तोकिएभन्दा साँघुरो पारिएको छ।

प्रकाशित: ३ चैत्र २०७३ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App