२१ पुस २०८१ आइतबार
image/svg+xml
समाज

हाँस, कुखुरासँग रमाउँदै ललितजंग महत

आफ्नै घरवरिपरिको वातावरण, कुखुरा र हाँस खेलेको, चरेको, दौडेको दृश्य देखिन्छ, न घाम, न पानी, न जाडो, न गर्मी।  

बिहान उठेदेखि साँझ नसुतेसम्म त्यही हाँस, कुखुरासँगको लुकामारीमै बित्छ उनको दिनचर्या। साथमा आहारविहारको व्यवस्थामा खटिनु त छँदैछ। जुम्लाको चन्दननाथ नगरपालिका– ७ महतगाउँका ५०  वर्षीय ललितजंग महतको दिनचर्या हो यो। घर वरिपरिको २ हजार वर्गमिटर क्षेत्रफल ९ ४ रोपेनी ० जमिनलाई तारबार गरी व्यवसायिक रूपमा स्थानीय जातका हाँस तथा विभिन्न प्रजातिका कुखुरापालन थालेपछि त्यसैको हेरचाहमा व्यस्त भएका हुन्।

ललितजंग महतले आफू किसान परिवारको भएकाले हाँसकुखुरा पालन रमाएको बताए। ‘म प्रकृतिप्रेमी छु। यही कर्ममा रमाउन पाउँदा आनन्द मिल्छ। किसानको छोरो भएकाले कृषि क्षेत्रमा धेरथोर अनुभव छँदैछ। त्यसैको उपज हो यो।’

उनले कृषि व्यवसायका लागि कहीं पनि तालिम लिएका छैनन्। तैपनि उनले एक दशकदेखि विभिन्न पेसा अपनाए,जुम्ला बजारमा स्नुल्याणड होटल,यातायात प्रालि लगायतका धेरै व्यवसाय गरेर सफल भए।

उनले परम्परागत पेसालाई फरक सोचका साथ अँगाल्दै आएका छन्। घाँटीखुइले, सांगिनी,उल्टे लगायतका कुखुरा उनको फार्ममा देख्न पाइन्छ। उनले आफ्नै जग्गामा गरेको व्यवसायले अहिले उनलाई हाँस,बटाई र  कुखुराको मालिक बनाएको छ।

उनले ३० लाख रुपैयाँ लगानीबाट फार्मको सुरुवात गरेको बताए। ‘मैले ३० लाख लगानीबाट फार्मको सुरु गरेको हुँ। अहिले मेरो फार्ममा १ सय जति हाँस, १ सय ४० बटाई र ९ सय कुखुरा छन्।

हाँस तथा कुखुरालाई आहारको रूपमा गाँउघरमै उत्पादित मकै, जौ र गहुँलाई दाना बनाएर खुवाउने गरेका छन्। बाँकी नेपागञ्जबाट ल्याउने गरेका छन्। उनीहरूलाई ३ पटक दानापानी खुवाउने गरिएको छ। १ टाइम बिहान, दिउँसो र बेलुका खुवाउने गरिन्छ।

उनले आत्मनिर्भर बन्न कृषि कर्मको लागेको बताए। ‘हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ। यसलाई तोड्न पनि कृषि  कर्ममा जोडिएको हुँ।’

उनले राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा अघि बढाउँदै राजनीतिलाई उत्पादनसँग जोड्नुपर्ने बताए। उनले भने, ‘राजनीति पेशा होइन, समाजसेवा हो। यही मान्यतालाई व्यवहारमा उतार्न  राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ।’

परिश्रम गरे असम्भव केही हुँदैन भन्ने अठोटको साथ व्यवसाय सुरु गरेको उनले बताए। 'गरे यहाँ असम्भव केही नहुने रहेछ। मैले एकजनालाई रोजगारी पनि दिएको छु।’ उनले भने।

उत्पादन र बजारीकरण सबै आफैंले गर्न सके धेरै राम्रो हुने उनको ठम्याइ छ। व्यवस्थापनमा कुनै कमी छैन। खोरमा अलिक बत्तीको समस्या छ। उत्पादन र बजारीकरण आफैंले गर्न सके धेरै राम्रो हुने रहेछ।

परिवार अरू काममा रमाए पनि ललितजंग भने दिनैभरि फार्ममा हाँस, कुखुरा र बटाईसँग खेलिरहन्छन्। हाँस, कुखुरा र बटाईसँग पनि भावनात्मक सम्बन्ध भएर होला उनको स्वर सुन्नेबित्तिकै सबै आफैंतिर दौडिएर आँउछन्।

उनी ६ महिनायता आफ्नै घरमा हिमालयन एग्रो फर्मका मालिक बनेका छन्। फर्मलाई अझै व्यवस्थित र बिस्तार गरी ५ हजारको संख्यामा पाल्ने योजना बनाएको छु,उनले सुनाए, ‘कृषि तथा पर्यटन प्रवद्र्धनका लागि नमूना केन्द्र बनाउने सोच छ। तर, नेपालमा केही छैन’ भनेर रोजगारको विकल्प खोज्दै विदेश जाने युवाहरूका लागि उनी उदाहरणीय पात्र बनेका छन्।

प्रकाशित: ३ जेष्ठ २०८० ०७:०० बुधबार

हाँस कुखुरासँग रमाउँदै ललितजंग महत