१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

स्वास्थ्यमा पदमुक्तसँगै नयाँ नियुक्ति

काठमाडौं-स्वास्थ्य मन्त्रालयले विभिन्न काउन्सिलका पदाधिकारीलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाखमा दिएको निर्देशनअनुसार नयाँ मापदण्ड बनाएर मन्त्रालयले विभिन्न परिषद् तथा समितिका २३ पदाधिकारी तथा सदस्यलाई पदमुक्त गरी नयाँ नियुक्ति गरेको हो ।

यसअघि वैशाखमा अख्तियारले स्वास्थ्यका निकायमा भएका नियुक्ति नेपाल कानुन व्याख्या ऐन र सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्तविपरीत पाइएको भन्दै बदर गरी मापदण्ड बनाएर नयाँ नियुक्ति गर्न निर्देशन दिएको थियो । सोअनुसार मन्त्रालयले नयाँ मापदण्ड बनाएर मंगलबार नियुक्त गरेको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा डा. कृष्ण अधिकारीलाई पदमुक्त गरी डा. अञ्जनीकुमार झालाई अध्यक्षमा नियुक्त गरिएको छ । त्यसैगरी, अनुसन्धान परिषद् उपाध्यक्षमा डा. भोजराज अधिकारी र सदस्य सचिवमा डा. हरि ढकाल नियुक्त भएका छन् । यसअघिका अध्यक्ष डा. बुद्ध बस्नेत बर्खास्तगीमा परेका छन् । परिषद् सदस्यमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईं, डा. बैकुण्ठ सुवेदी, डा. योगेश न्यौपाने, नियुक्त भएका  छन् । यसअघिका सदस्यसचिव डा. खेमबहादुर कार्की पदमुक्त भएका छन् । पदमुक्त हुनेमा डा. हेमबहादुर लिम्बु, डा. प्रदीप ज्ञवाली, डा. सन्दीप शर्मा, डा. सरिता श्रेष्ठ, डा. सरिता पाण्डे छन् ।

त्यसैगरी, नर्सिङ काउन्सिलकी सदस्य चन्द्रकला शर्मालाई पदमुक्त गरी प्रा. डा. गोमा निरौलालाई अध्यक्षमा नियुक्त गरिएको छ । यसअघिको नियुक्तिमा मापदण्ड नपुगेका चारलाई पदमुक्त गरी काउन्सिलमा मीनाकुमारी पुन गुरूङ, सरला केसी, तारा रम्तेल, लक्ष्मी तामाङ, रमानन्द चौधरी, डा. टंक ओझा र रमिला चौलागाईं नियुक्त गरिएको छ ।

मन्त्रालयले मेडिकल काउन्सिलका पदाधिकारी एवं सदस्यलाई भने यथावत राखेर रिक्त सदस्यमा डा. जगदीशप्रसाद अग्रवाल, डा. ढुण्डीराज पौडेललाई नियुक्त गरेको मन्त्री थापाले जानकारी दिए ।

त्यसैगरी, राष्ट्रिय आयुर्वेदन अनुसन्धान तथा तालिम विकास समितिमा डा. सिद्धार्थकुमार ठाकुर, नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा रामप्रसाद भण्डारी र रजिस्ट्रारमा रामचन्द साह नियुक्त भएका छन् । समितिमा पदमुक्त हुनेमा दीपेन्द्रकुमार झा अध्यक्ष र काशीनाथ रिमाल रजिस्ट्रार थिए ।

आयुर्वेद चिकित्सा परिषद्मा डा. धनिकलाल भरखेर अध्यक्ष, डा. नारायण श्रेष्ठ रजिस्ट्रार र डा. सुरेश महर्जन, डा. विनोद शाह, डा. प्रकाश ज्ञवाली, डा. सचितकुमार शर्मा, डा. छत्रपति दाहाललगायत सदस्य नियुक्त भएका छन्।

फार्मेसी परिषद्मा बाबुराम हुमागाईंलाई पदमुक्त गरी केशवध्वज जोशीलाई अध्यक्ष र रजिस्ट्रारबाट यादव पाण्डेलाई बर्खास्त गरी पानबहादुर क्षेत्रीलाई नियुक्त गरेको मन्त्रालयले जनाएको छ। त्यसैगरी, सदस्यमा मोहन चौधरी, अमित कुमार गुप्ता र युरिक रञ्जित नियुक्त भएका छन्।

अख्यितारले यस्ता नियुक्ति बदर गरेर प्रक्रियासम्मत रुपमा नयाँ नियुक्ति नगरेमा अनुसन्धानलाई नयाँ तरिकाले अगाडि बढाएर नियुक्तिकर्ता र भएका दुवैलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको थियो। यही निर्देशन र नयाँ मापदण्डमा टेकेर मन्त्रालयले गत महिना भरतपुर क्यान्सर अस्पतालमा समेत नयाँ नियुक्ति गरेको थियो । पदमुक्त भएकाहरु अदालत गएका थिए । अदालतले केही दिनअघि मापदण्ड बनाएपछिको नियुक्तिलाई सदर गरेपछि मन्त्रालयले मंगलबार पुरानालाई पदमुक्त र नयाँदलाई नियुक्त गरेको हो । मन्त्रालयले पुरानै नियुक्ति भए पनि नेपाल मेडिकल काउन्सिलका पदाधिकारी एवं सदस्यलाई भने यथावत छाडेको छ।

प्रकाशित: १८ फाल्गुन २०७३ ०२:४५ बुधबार

स्वास्थ्यमा पदमुक्तसँगै नियुक्ति