बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि वैज्ञानिक मदन राई पक्राउ परेका छन्।
आफैले सञ्चालन गरेको खोटाङस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ मा पढ्ने बालिका तथा किशाोरीमाथि यौन दुर्व्यवहार आरोपमा ७५ वर्षीय राई शुक्रबार पक्राउ परेका हुन्।
खोटाङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले घट्नाको पुष्टि गर्दै सोधपुछका लागि राईलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको बताए। ‘आजै विहान यौन दुर्व्यवहारको मौखिक र लिलित उजुरी परेपछि’ डिएसपी मुकारुङले भने ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।’
राई सदरमुकाम दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ स्थित फाउण्डेसनका संस्थापक हुन्। बस्तुगत र व्यवहारिक ज्ञानसहित पठनपाठन हुने सो फाउण्डेसन नेपालको अलग पहिचान बनाउन सफल शिक्षण संस्था भएको नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलिप खत्रीले बताए। प्रयोगात्मक शिक्षा भएकाले नमूना बन्दै गएको विद्यालयको सिको अरु ठाउँमा पनि गर्नुपर्छ भन्ने चर्चा र चौतर्फी तारिफ हुन थालकै बेला संस्थापक राई पक्राउ परेको खत्रीले बताए।
उक्त फाउण्डेसनमा खोटाङका मात्र नभएर देशका विभिन्न जिल्लाबाट बालबालिका पठनपाठन गर्न आउने गरेका छन्। यस विषयमा थप जानकारी लिन प्रधानाध्यापक सबिता ढकाल र निर्देशक सूर्य राईसँग सम्पर्क गर्न खोज्दा हुन सकेन।
प्रकाशित: २९ वैशाख २०८० ०८:३८ शुक्रबार