११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

कोशीमा सडक र जलविद्युतका पूर्वाधारलाई प्राथमिकता, कृषि, उद्योग र पर्यटन ओझेलमा

सडक र जलविद्युतका ठूला विकासका पूर्वाधार निर्माणको सुरूवादसँगै कोशी प्रदेशमा विकासको ढोका खुल्दै गएको छ। सडक र जलविद्युत क्षेत्रका ठूला आयोजनाको काम धमाधम अघि बढ्दै गर्दा कोशी प्रदेशमा विकासको लहर देखिन थालेको छ।

जोगवनी–धरान ६ लेन सडक, जोगवनी–किमाथांका कोशी राजमार्ग, वथनाहा–कटहरी रेलमार्ग,मेचीपुलबाट नेपालतर्फ बिस्तार थालिएको एशियन हाइवेले,चुरेको फेदिबाट पूर्वपश्चिम तर्फ अघि बढेको  मदनभण्डारी राजमार्ग, यस्तै पहाडी क्षेत्रका जिल्लाहरू जोड्ने गरी निर्माण भइरहेको मध्यपहाडी राजमार्ग र तराईको दक्षिण क्षेत्रमा धमाधम निर्माण भइरहेको हुलाकी राजमार्गले कोशी प्रदेशमा सडकका ठूला पूर्वाधार निर्माणको काम आशा लाग्दो गरि अघि बढ्दै गरेको छ।

नेपाल–भारत सीमाना जोगवनीदेखि  नेपाल–चीन सीमाना किमाथांका जोड्ने सडक निर्माणको काम भइरहेको छ। यो सडक सञ्चालनमा आए चीन–भारत जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा कोशी राजमार्ग स्थापित हुने छ। यो मार्गबाट नेपाल हुँदै चीन र भारतको व्यापार सञ्चालनमा आए नेपालले ठूलो फाइदा लिनसक्ने आर्थिक क्षेत्रका विज्ञ प्राध्यापक पिके झा बताउँछन्। यो मार्ग कोशी प्रदेशको उद्योग, व्यापार, पर्यटन र समृद्धिको लागि कोषेढुंगा सावित हुने उनको भनाइ छ। झाले भने,‘जोगवनी–किमाथांका मार्गबाट भारत—चीनवीच व्यापार सुरु भए विराटनगर व्यापारको ट्रान्जित हुने छ। यससँगै कोशी प्रदेशमा ठूलो संख्यामा पर्यटक आउने, उद्योगहरूले कच्चा पदार्थका लागि भारतसँग मात्रै भर पर्नुनपर्ने र चिन तर्फ पनि यहाँका उत्पादन निर्यातको बाटो खुल्ने छ।’ 

यस्तै बथनाहा कटहरी रेल मार्ग निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। भारतको बथनाहा देखि मोरङको कटहरी जोड्ने रेल मार्गमध्ये बथनाहा देखि विराटनगरको एकिकृत भन्सार जाँच चौकी (आइसीपी) सम्मको भाग निर्माण सम्पन्न भइसकेको छ। विराटनगर स्थित आइसीपीको रेल स्टेशनसम्म तत्कालै रेल सञ्चालन गर्न सकिने अवस्था छ। यो रेलमार्ग सञ्चालनमा आए यस क्षेत्रका उद्योगी व्यवसायीहरूले लामोसमय देखि भोग्दै आएको ढूवानीको समस्या समाधान हुने छ। भारतलगायत तेस्रो मुलुकबाट आयातहुने औद्योगिक कच्चा पदार्थ हाल सडक मार्गबाटै  सुनसरी–मोरङ औद्योगिक करिडोरमा ल्याउनुपर्ने बाध्यता छ। जसका कारण  महँगो ढूवानी लागत वेहोर्न यहाँका उद्योगी व्यवासायी बाध्य छन्। कच्चा पदार्थ आयात गर्दा महँगो ढूवानी लागतकै कारण कोशी प्रदेशका उद्योगहरूको प्रतिश्पर्धी क्षेमता कमजोर भइरहेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल बताउँछन्।  

जलमार्ग पछि संसारमै दोस्रो सस्तो मार्ग रेलमार्ग भएकाले भारतको बथनाहादेखि   विराटनगरको आइसीपी सम्म निर्माण सम्पन्न भइसकेको रेल मार्ग तत्काल सञ्चालनमा ल्याउन आफूहरूले सरकारसँग पहल गरिरहेको उनले बताए।

रिजालले भने, ‘भारतको वथनाहा देखि विराटनगरको आइसीपी सम्म जोड्ने रेलमार्ग सञ्चालनमा ल्याउन हामीले सरकारसँग बारम्बार माग गर्दै आएका छौं।’ नेपाल सरकारसँग मात्रै नभई भारत सरकारसँग पनि आफूहरू रेलमार्ग सञ्चालनका लागि पहल गरेको रिजालले बताए। 

उनका अनुसार केहि महिना पहिले विराटनगर आएका भारतीय राजदूतलाईसमेत रेलमार्ग तत्काल सञ्चालनमा ल्याउन आग्रह गरिएको थियो। भारतीय राजदूतले आइसीपीसम्म निर्माण सम्पन्न भइसकेको  रेलमार्ग नेपाललाई हस्तान्तरण गर्न तत्पर रहेको प्रतिक्रिया विराटनगरका उद्योगी व्यवसायीलाई दिएका थिए। रेलमार्ग यस क्षेत्रका उद्योग, व्यापारको विकासका लागि महत्वपूर्ण रहेको रिजालले बताए। उनले भने,‘रेलमार्गबाट सामान ढूवानी गर्दा लागत घट्ने भएकाले यसक्षेत्रका औद्योगिक उत्पादनहरूको प्रतिश्पर्धी क्षमता बढ्ने छ।’ यस्तै कोशी प्रदेशबाटै पूर्व–पश्चिम रेल मार्ग निर्माणको तयारी पनि गरिएको छ। यो रेल मार्गले कोशी प्रदेशका जिल्लाहरू झापा, मोरङ र सुनसरीको तराईकाक्षेत्रहरूलाई छोएर जानेछ।

संघीयता कार्यान्वयनको पछिल्लो ५ वर्षमा कोशी प्रदेश सरकारले ८ सय किलोमिटर कालोपत्रे सडक निर्माण गरेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए। उनका अनुसार स्थानिय तहले पनि ८ सय किलोमिटर जति नै सडक कालोपत्रे गरेका छन्। असार सम्ममा थप २ सय किलोमिटर सडक कालोपत्रे  हुने अवस्था रहेको उनले बताए।

सडक पूर्वाधार संगै कोशी प्रदेशमा जलविद्युत क्षेत्रको विकास पनि द्रुत गतिमा अघि बढिरहेको छ । यहाँ ठूला जलविद्युतका पूर्वाधार धमाधम निर्माण भइरहेका छन्। अरुण तेस्रो जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगिसकेको छ। कोशी प्रदेशको हालसम्म निर्माण भएका मध्येको सबै भन्दा ठूलो जलविद्युत आयोजना भएकाले यो आयोजना निर्माणसँगै यस क्षेत्रमा विद्युतका ठूला आयोजना निर्माणका लागि प्रोत्साहन हुने देखिएको छ। 

भारतीय कम्पनीले निर्माण गरिरहेको  ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगसँगै  १ हजार ६१ मेघावाटको अपर अरुण। अरुण चौथो लगायतका जलविद्युत अयोजनाको काम पनि अघि बढाउने तयारी सुरू भइसकेको छ । कोशी प्रदेशमा हाल विद्युत उत्पादन ४ सय १८ मेघावाट पुगेको छ भने १ हजार ६ सय मेघावाटका निर्माणाधिन आयोजना छन्।

विद्युत विकास विभागको तथ्याँक अनुसार कोशी प्रदेशमा ३४ हजार २ सय १५ मेघावाट विद्युत उत्पादनको संभावना रहेको छ। कोशी प्रदेशमा नीजि क्षेत्रबाट निर्माण भएको देशकै सवै भन्दा ठूलो ८६ मेघावाटको सोलु दुधकोशी जलविद्युत अयोजनाले व्यवसायीक उत्पादन  सुरू गर्ने तयारी गरिरहेको छ। 

कोशी प्रदेशको जलविद्युत क्षेत्रमा स्वदेशी लगानीकर्ता मात्रै नभई बैदेशिक लगानी पनि भित्रन थालेको छ । कोशी प्रदेशमा निर्माण सम्पन्न हुन लागेको ९ सय मेघावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजना भारत सरकारको लगानीमा निर्माण भइरहेको छ। अरुण ४ पनि भारत सरकारकै लगानीमा निर्माण गर्न नेपाल र भारत सरकारवीच सम्झौता भईसकेको छ।

यस्तै अपर अरुणमा भने विश्व बैकले लगानी गर्ने भएको छ। ३० वर्ष पहिले  नेपालको आन्तरिक विवादका कारण अरुण तेस्रोबाट हात झिकेपछि विश्व बैंकले नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेको थिएन। अपर अरुण जलविद्युत अयोजना निर्माणका लागि विश्वबैंकले अपर अरुणमा लगानी गर्ने भएपछि जलविद्युतका ठूला आयोजनामा वैदेशिक लगानी पनि प्रयाप्त भित्रिने अवस्था देखिएको छ।

धमाधम ठूला आयोजना अघि बढ्न थालेपछि जलविद्युत क्षेत्र यस प्रदेशको समृद्धिको आधारका रुपमा देखिएको छ। कोशी प्रदेशमा निर्माणाधिन १ हजार ६ सय मेघावाटका जलविद्युत आयोजना सञ्चालनमा आए यी आयोजनाबाट उत्पादन भएको विद्युत भारत, वंगलादेश लगायतका देशहरूमा निर्यात गरेर पनि प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सकिने छ। यति मात्रै हैन स्वदेशी उद्योगहरूलाई सहुलियत दरमा विद्युत उपलब्ध गराएर कोशी प्रदेशमा ठूला उद्योगहरू सञ्चालन गरी रोजगारी सृजना गर्न सकिने संभावना पनि छ।  नेपालका उद्योगले विद्युतमा सौलियत पाए यहाँको उत्पादन सस्तो हुने र अन्तराष्ट्रिय बजारमा प्रतिश्पर्धा गर्न सक्ने उद्योगीहरू बताउँछन्। नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहोरा नेपाली उद्योगलाई प्रतिश्पर्धी बनाउन सकिने मुख्य संभावना भनेकै सस्तो विजुली हो। ‘विजुली सस्तो भए  नेपाली उद्योगका उत्पादनको  लागत घट्ने र भारतीय उद्योगका उत्पादनसँग पनि प्रतिश्पर्धा गर्न सक्ने छन्’ वोहोराले भने।

सडक  र जलविद्युत क्षेत्रमा जति विकास भइरहेको छ। यसको उपयोगको क्षेत्र भने आशातित प्रगति हुन सकेको छैन। कृषि, उद्योग र पर्यटनको क्षेत्रमा कोशी प्रदेशमा प्रयाप्त संभावना भए पनि यी क्षेत्रको विकासका लागि सरकारले खासै ध्यान दिएको पाइएको छैन। उत्पादन बढाउने योजना नबनाई गाउँमा सडक पु¥याउँदा गाउँहरू पर निर्भर बन्दै गएका छन्। सडक बन्ने तर, ग्रामिण क्षेत्रका उत्पादन शहर तर्फ निर्यात हुनुको साटो शहरबाट विदेशी उत्पादन गाउँ पुग्न थालेको छ। यसले गाउँहरूमा आर्थिक उपार्जन हुनुकोसाटो गाउँहरूलाई पनि पर निर्भर बनाउँदै लगेको छ। यस्तै विद्युत उत्पादन गर्ने योजना धमाधम निर्माण भइरहँदा खपत गर्ने उद्योग स्थापनाको विषयमा भने ध्यान दिइएको छैन। 

कोशी प्रदेशको अर्को संभावनाको क्षेत्र पर्यटन हो। पर्यटन क्षेत्रको विकासका लागि तीनै तहका सरकारले प्रयास गरिरहेका छन्। धार्मीक पर्यटकीय क्षेत्रहरू पनि कोशी प्रदेशमा प्रयाप्त  संभावना रहेको छ।  पौणाणिक रुपमा निक्कै महत्व बोकेको बराह क्षेत्र यहि प्रदेशमा पर्दछ। 

भगवान विष्णुले बराहको अवतार लिएर राक्षसहरूबाट  पृथ्विको रक्षा गरेको पौणाणिक कथन छ। बराह क्षेत्रको पूर्वाधार विकास गरि प्रचारप्रसार गर्न सके विश्वभरका हिन्दुहरूको आकर्षणको केन्द्र बन्ने निश्चित छ। बराह क्षेत्रसँगैको चतरा धामको छुट्टै पौणाणिक महत्व रहेको छ। यहाँ प्राचिन कालमा कौशिक ऋषिले तपस्या गरेको किम्बदन्ती पाइन्छ।

भष्मासुरले खेदाउँदै ल्याउँदा महादेब लुकेको किम्बदन्ती रहेको हलेसी महादेवको गुफा पनि यहि प्रदेशमा पर्दछ। यस्तै धार्मिक रुपमा महत्वको पाथिभरा माताको मन्दिर, महाभारत कालमा अर्जुनले बाँड हानेर पानी निकालेको किम्बदन्तीसंग जोडिएको अर्जुनधारा  पनि यहि प्रदेशमा पर्दछ। पीण्डेश्वरी, दन्तकाली,  किच्चक बध, विराटराजाको दरबार जस्ता पर्यटकीय स्थलहरू र सयौं शक्तीपीठहरू, मठमन्दिर, गुम्बाहरू यो प्रदेशमा छन्। प्राकृतिक रुपमा मनोरम स्थानहरू कोशी प्रदेशमा धेरै छन्। यति मात्रै हैन पर्यटकीय दृष्टिले महत्व राख्ने तराईको उखरमाउलो गर्मीबाट केहि मिनेटको यात्रामै चिसो ठाउँमा पुग्न सकिने भेडेटार, मनोरम चियाका वगानहरूले सजिएको इलामको कन्याम यहि प्रदेशमा पर्दछ।

कोशी प्रदेशमा विश्वको अग्लो शिखर सगरमाथा देखि नेपालको सबै भन्दा होचो स्थान झापाको केचनाकल सम्म पर्दछ। कोशी प्रदेश सरकारले प्रकाशित गरेको पाश्वचित्रमा प्रदेशमा १३ वटा पर्यावरण अनुकूल पर्यटकीय गन्तव्य र १३ वटा ट्रेकिङ ट्रेल पनि रहेको उल्लेख छ।   कोशी प्रदेशको धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास गर्ने र पर्यटकलाई आाकर्षित गर्ने हो भने पर्यटनबाटै यस क्षेत्रको अर्थतन्त्रमा कायापलट गर्न सकिने संभावना रहेको छ।  

यस्तै कोशी प्रदेशको अर्को ठूलो संभावना बोकेको क्षेत्र कृषि र उद्योग हो। कोशी प्रदेशमा ७ लाख ८३ हजार हेक्टर खेतियोग्य जमिन रहेको छ। कोशी प्रदेशका पहाडी जिल्लाहरूमा प्रायप्त मात्रामा तरकारी, फलफुल र जडिबुटीको उत्पादन गर्न सकिने ंभावना छ। यी क्षेत्रमा उत्पादित कृषि उपजलाई सहज रुपमा बजारको पहुँचमा पु¥याउने र कृषि उपजमा आधारित प्रशोधन उद्योगहरूको विकास गर्ने हो भने यस क्षेत्रको कृषि उपजले बजार र मूल्य दुबै पाउने निश्चित छ। कृषि उपजमा आधारित ठूला उद्योगहरूको विकासले आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना पुरा गर्ने देखिन्छ। कोशी प्रदेशमा कृषिमा आधारित उद्योगहरू न्यून छन्। भएकमा उद्योगहरू पनि विदेशी कच्चापदार्थमा आधारित धेरै छन्। सडक, जलविद्युत जस्ता क्षेत्रमा ठूला आयोजना सञ्चालन भइरहँदा कृषि, उद्योग र पर्यटन जस्ता क्षेत्रका ठूला आयोजनाहरूमा  सार्वजनिक तथा नीजि क्षेत्रको लगानी खुम्चिँदै जाँदा गाउँ–गाउँमा सडक र यातायातको सुविधा पुगेको छ।

तर, गाउँको उत्पादन शहरतिर आउने भन्दा आयात गरिएका बस्तुहरू गाउँमा पुग्न थालेको छ। सडक र यातायातको पूर्वाधारले गाउँमा उत्पादन बढ्ने, रोजगारी सृजना हुने भन्दा गाउँहरू  पर निर्भर बन्दै गइरहेका छन्। आत्मनिर्भर अर्थतन्त्रको परिकल्पना साकार पार्ने हो भने। कृषि उद्योग  र पर्यटनका ठूला आयोजनाहरू सञ्चालनमा ल्याउन जरुरी देखिएको छ। कृषि उत्पादन बढाउने, कृषिमा आधारित ठूला उद्योगहरू सञ्चालनमा ल्याउने र पर्यटकीय स्थलहरूमा पर्यटकीय आकर्षणका ठूला पूर्वाधार निर्माण गर्ने हो भने। स्थानीय स्तरमै ठूला संख्यामा रोजगारी सृजना गर्न सकन्छ। यति मात्रै हैन कोशी प्रदेशमा निर्माण भइरहेका  भौतिक पूर्वाधार र जलविद्युतका क्षेत्रका ठूला पूर्वाधारले खोल्न थालेको समृद्धिको ढोकालाई दिगो बनाउन कृषि,उद्योग, पर्यटनको क्षेत्रमा पनि ठुला र महत्वकाँक्षी आयोजनाहरू सञ्चालनमा ल्याउन जरुरी देखिएको छ।  

प्रकाशित: १३ वैशाख २०८० १२:१२ बुधबार

कोशी प्रदेश