९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने

लाप्राकमा अायोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्री

काठमाडौं—गैरआवासीय नेपाली संघले गोर्खाको दुर्गम हिमाली क्षेत्र लाप्राकमा थालेको ‘लाप्राक नमुना बस्ती’ निर्माणमा नेपाली सेनाले सहकार्य गर्ने भएको छ।

गैरआवासीय नेपाली संघको आह्वानमा नेपाली सेनाले शनिवार नै क्याप्टेनको कमाण्डमा ३९ जना दक्ष जनशक्ति लाप्राक पठाएको छ। जसमा इन्जिनियर, ओभरसियर र दक्ष निर्माण जनशक्तिसमेत छन् ।

शनिवार लाप्राकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गैरआवासीय नेपाली संघको सहयोगार्थ लाप्राक बस्ती निर्माण अबधिभर सेनाले निर्माण स्वयंसेवक खटाउने जानकारी दिए।

घरको डिजाइन र निर्माण लागतका बिषयमा लाप्राकबासीसँग छलफल र परामर्श गर्न आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेल, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत लाप्राक पुगेका थिए।

‘नेपाल सरकारले अरु भूकम्पपीडितलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइँहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदैछ’ उनले भने, ‘तपाइँहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ।’

‘भूकम्पलगत्तै राहत बितरणमा नेपाली सेनाले गैरआवासीय नेपाली संघलाई उदाहरणीय सहयोग गरेको थियो’ एनआरएनए अध्यक्ष शेष घलेले भने, ‘पुनःनिर्माणमा पनि नेपाली सेनाबाट हामीले त्योभन्दा ठूलो सहयोग पाउने भएका छौं।’ उनले लाप्राक नमुना बस्ती पुनःनिर्माणमा नेपाली सेना नै सबैभन्दा ठूलो संस्थागत साझेदार भएको बताए।

लाप्राकमा बन्ने घरको निर्माण लागत झण्डै १२ लाख रुपैयाँ पर्ने र ठूलो रकम निर्माण सामाग्री ढुवानीमा जाने जानकारी दिँदै अध्यक्ष घलेले निर्माण लागत घटाउन संघलाई अझै हजारौंको संख्यामा स्वयंसेवक आवश्यक रहेको बताए।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रा.डा. पोखरेलले भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपाली संघको मेहनतको प्रशंसा गर्दै लाप्राबासीलाई पूर्ण सहयोग गर्न आग्रह गरेका थिए।

‘नेपाल सरकारले अरु भूकम्पपीडितलाई ३ लाख रुपैयाँभन्दा दिन सकेको छैन, एनआरएनएले तपाइँहरुलाई १२ लाख रुपैयाँ पर्ने घर बनाइदिँदैछ’ उनले भने, ‘तपाइँहरुले पनि एनआरएनलाई उदाहरणीय सहयोग गर्नुपर्छ।’

एनअारएन अध्यक्ष घले प्राधिकरण सिइअाे प्रा.डा. पोखरेललाई पुनःनिर्माणबारे ब्रिफिङ गर्दै

गैरआवासीय नेपाली संघले लाप्राक नमुना वस्ती गुरुयोजनाबारे विस्तृत जानकारी गराउँदै स्थानीयलाई घरको डिजाइन र लागतबारे जानकारी दिएको थियो। नेपाल सरकारले बनाएको मापदण्डअनुसार निर्माणाधीन दुई तले घरहरु भूकम्प प्रतिरोधी र स्थानीय परम्परा झल्किने खालका हुनेछन्। कार्यक्रममा गोर्खा जिल्लाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बस्ती निर्माणका लागि सबैखाले प्रशासनिक सहयोग हुने आश्वासन दिँदै विदेशमा बस्ने नेपालीहरुको सहयोगलाई लाप्राकबासीले अवसरका रुपमा लिनुपर्ने बताए।

शहरी विकाश तथा भवन निर्माण विभागका डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले लाप्राक नमुना बस्तीको गुरुयोजना राम्रो रहेको बताउँदै प्राबिधिक पक्षहरु हेरेर छिटो अनुमोदन गर्ने बताए।  

स्थानीयसँग सम्झौता

शनिवार नै लाभग्राहीले गैरआवासीय नेपाली संघसँग घर निर्माणसम्बन्धी सम्झौता गरेका छन्। सम्झौतामा लाभग्राहीले घरको जगमा लाग्ने ढुंगा, गिटी र काठ आफैँ उपलब्ध गराउनुपर्ने उल्लेख छ। लाभग्राहीले जनश्रमदानमार्फत् स्थानीयस्तरबाटै यी सामाग्रीको ब्यबस्थापन गर्ने तत्परता देखाएका छन्।

लाप्राकलाई नमुना बस्ती बनाउन गैरआवासीय नेपाली संघले अन्य संस्थाहरुसँग सहकार्य गरी यहाँ पूर्वाधार तयार गर्नेछ। बस्तीमा खानेपानीको दिगो ब्यबस्थापनका लागि केयर नेपाल नामक गैरसरकारी संस्थासँग सहकार्य गर्न लागिएको संघले जनाएको छ।

झण्डै एक महिनादेखि निर्माण कार्य सुरु गरेको संघले घरको जग हाल्ने काम सुरु गरिसकेको छ। स्थानी यस्तरमै इँटा उत्पादन पनि सुरु गरिएको छ। अर्को हिउँद अगाडि नै लाभग्राहीलाई घर हस्तान्तरण गर्ने लक्ष्यसहित अध्यक्ष शेष घलेसहितको टोली लाप्राकमा बसेर काम गरिरहेको छ।

प्रकाशित: १६ माघ २०७३ ०४:३८ आइतबार

एनआरएनको लाप्राक पुनःनिर्माणमा सेनाले सघाउने