१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

बारीमा छाेरी जन्माएर घर फर्केकी सुविमायाको रक्तश्रावले ज्यान लियो

तीन वर्षअघि सुत्केरी हुँदा छाेरा काखमा लिएकी सुविमाया (दायाँ) । तस्बिर साैजन्यः विष्णु गौतम

चितवन–घरदेखि पर पाखो बारीमा बच्चा जन्माएको १२ घण्टा नबित्दै चितवनको विकट पहाडी गाविस लोथरको–९ कान्दाको ताउसिलिङमा एक सुत्केरीको निधन भएको छ । बच्चा जन्माएपछि रक्तश्राव नरोकिदा सुविमाया तामाङको गाउँमै निधन भएको हो ।

‘रगत बग्न रोकिदै नरोकिएपछि स्वास्थ्य चौकी लैजान भनेर राती घरबाट हिडायौं, तर बाटोमै उनको प्राण गयो’ मृतक सुत्केरीका पति २४ बर्षीय मंगलबहादुर चेपाङले भने । उनकी पत्नी २२ बर्षीया सुविमायाले बुधबार साँझ सात बजे छोरी जन्माएकी थिइन् । यो उनको दोस्रो सन्तान हो ।

चेपाङहरु सुत्केरी व्यथा लागेपछि घरदेखि परको पाखो बारीमा गएर बच्चा जन्माउने गर्छन् । सुविमायाँ व्यथा लागेपछि दौडेर बारी तिर गइन् । केही बेरपछि बच्चा जन्माएर आफै बोकेर आइन् ।

सदरमुकाम भरतपुरदेखि दिनभर हिडेर पुग्न सकिने कान्दाबाट गाउँको स्वास्थ्य चौकी आउन तीन घण्टा उकालो ओरालो हिँड्नु पर्ने बाध्यता छ ।

चेपाङहरु सुत्केरी व्यथा लागेपछि घरदेखि परको पाखो बारीमा गएर बच्चा जन्माउने गर्छन् । ‘व्यथा लागेपछि दौडेर बारीतिर गएकी थिइन् । केही बेरपछि बच्चा आफै बोकेर आइन् । छोरी जन्मिएकी रहिछन्,’ पति मंगलबहादुरले बिहीबार दिउँसो नागरिकन्युजसँग  टेलिफोनमा भने, ‘बारीबाट बच्चा लिएर घर आइन्, तर साल नाल खसको थिएन ।’

‘साल नझरे पनि बच्चा बोकेर तगडै आाएकी थिइन् । मैले साँझ जाउँलो पकाएर खान दिएँ । तातो पानी पनि पकाउँदै खान दिए’ मंगलबहादुरले भने ।

धेरै समयसम्म साल नझरेपछि मंगलबहादुर पनि डराए । भाउजु सुनमायालाई बोलाएर ल्याए । सुनमायाले पनि केही सहयोग गरीन् । तर न साल झ¥यो, न रक्तश्राब नै रोकियो ।

‘निकै आत्तिएपछि काका र अरु साथी–भाइलाई बोलाएर तल एउरेलीटारमा रहेको स्वास्थ्य चौकीमा लैजान तम्सियौं । घरदेखि पर आधा घण्टाको ओरालो पनि नझर्दै बाटोमै उनको प्राण गयो’ मंगलबहादुरले भने । कान्दाको श्री कान्देश्वरी राष्ट्रिय प्रथामिक विद्यालयका प्रधानअध्यापक बालकृष्ण थपलियाका अनुसार गाउँमा स्वास्थ्य चौकी भएको भए उनको ज्यान बच्ने थियो ।

‘म गएर हेर्दा झोलामा आइरन चक्की जस्ता केही औषधिहरु ल्याएर त्यसै राखेको देखियो । गर्भवती भएपछि पोष्टिक आहार खाने कुरा त पर छाडौं आवश्यक गर्भजाँचसमेत नियमित नगराउने अवस्था यहाँ छ’ प्रधानअध्यापक थपलियाले भने । पाँच वर्षअघि बिहे भएकी सुविमायाले तीन वर्षअघि छोरो जन्माएकी थिइन् ।

प्रकाशित: २९ पुस २०७३ ०६:३१ शुक्रबार

बारीमा छाेरी जन्माएर घर फर्केकी सुविमायाको रक्तश्रावले ज्यान लियो