चितवन–चितवन निकुञ्जको सीमाना भएर बग्ने नारायणी नदी रंगी बिरंगी चराहरुको साम्राज्य नै हो भन्दा फरक पर्दैन। बुधबार बिहान साढे १० बजे नवलपरासीको सिख्रौलीबाट डुंगा चढेर लगभग सात घण्टापछि सूर्यास्तका बेला नवलपरासीकै अमलटारी घाटमा उत्रिँदा त्यो साम्राज्यसँग साक्षात्कार हुने अवसर मिल्यो। त्यसो त त्यो बाटो हुँदै पर्यटक कमै हिँड्छन् । बुधबार भने चराविद्हरुको समूह त्यसतर्फ लागेको थियो।
यो बेला एसियाली देशहरुमा जलपंक्षी गणनाको चटारो छ । नारायणी नदी जलपंक्षीको प्रमुख वासस्थल भएका कारण चराविद् डिबी चौधरीको नेतृत्व गरेको टोलीले बुधबार दिनभर नारायणीको जलयात्रामा बिताएको हो। ‘हामीले सन् १९८७ देखि यसरी जलपंक्षी गन्दै आएका छौं’, चौधरीले भने। एक झुण्डमा सय दुई सय चराहरु, अनि यस्ता झुण्ड एक दुई हैनन् दर्जनौ देखिए सिख्रौली अमलटारी यात्रामा।
चखेवा, जलकौवा, खोया हाँस जस्ता जलपंक्षी लहरै उड्दा, उनीहरु कराउँदा चराहरुको साम्राज्य स्वर्ग झैं लाग्छ । एक दिन जाँदा अचम्म लागे पनि वर्षौदेखि चराको अवस्थासँग जानकार चौधरी भने चिन्तित देखिन्छन्। सिख्रौली र अमलटारीको बीचमा छ घोसर घाट । २० वर्षअघि घोसरघाटमा चौधरीले २५ वटा घडियाल र मगर गोही देखेका थिए। बुधबार बल्ल बल्ल एउटा गोही देखियो।
खोया हाँस हिमालय पार गरेर आहाराको खोजीमा नेपाल आउँछ। जलपंक्षी यो देशदेखि अर्को देशसम्म यात्रा गरिरहन्छन। उनीहरुको बसाइ सराइ आहाराको लागि हुन्छ। जहाँ आहारा छ चराहरु त्यही आउँछन् । नदीमा हुने माछा र लेउ खान चरा आउँछन् । नदीमा माछा र लेउ भए चरा मात्रै होइनन् गोही जस्ता जलचर पनि प्रशस्तै भेटिन्छन्।
गोही कम देखिनु भनेको नदीमा आहारा कम भएको संकेत हो । नदीमा आहारा कम हुँदा कि मान्छेले ति उपभोग गरी रहेको छ वा प्रदुषणका कारण माछाहरु कम हुँदै गए भन्ने हो । दुवै कुरा चिन्ताजनक हो । नदीमा मानवीय चाप र प्रदुषण दुवै बढेको छ । जलपंक्षी उड्ने रमाउने नदी किनारमै उद्योगका चिम्नीबाट धुवाँ उड्दै गरेको भेटिन्छ । जब आहारा नै कम हुन्छ चराहरु किन आउँथे ।
चौधरीका अनुसार चितवन निकुञ्ज आसपासका नदी नाला, सिमसार र घोलहरुमा १११ प्रजातिका जलपंक्षी पाइन्छ । तर पछिल्लो समय मुश्किलले ५०÷५५ प्रजातिका चराहरु मात्रै देखिएको छ । बुधबार सिख्रोलीदेखि अमलटारी पुग्दा ३५ देखि ४५ प्रजातिका जलपंक्षी भेटिने आशा थियो डीबी चौधरीलाई । तर गणनामा हिँडेको दुई टोलीले देखेको प्रजाति साँझ भिडाउँदा जम्मा ३१ प्रजाति मात्रै पुग्यो ।
त्यसैले चराहरुको साम्राज्य संकटमा छ भन्छन चौधरी। ‘चराहरुले भरिएको दृश्य देख्दा तपाइँहरुलाई पक्कै आनन्द आयो नि । तर पहिला यो झनै भरीपूर्ण हुन्थ्यो । अहिले त नदी किनारमा मानव वस्ती मात्रै नभएर कलखारखाना पनि बढे । प्रदुषण बढ्यो । जस्ले गर्दा चराहरुको आहारा पाइन छाडे । आहारा कम भएपछि चरा पनि कम हुने भए । प्रदुषण रोक्न सवै नजाग्ने हो भने संकट झनै गहिरिने छ’, चौधरीले भने ।
प्रकाशित: २८ पुस २०७३ ०५:०० बिहीबार
चराहरुको
साम्राज्यमा
फोटो
फिचर