१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

निलम्बित सांसद् साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर बम काण्डको मुद्दामा थुनामा रहेका निलम्बित सभासद् सञ्जयकुमार साहविरुद्ध साढे ३१ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार मुद्दा दायर गरेको छ।

पूर्व भौतिक पूर्वाधार तथा निर्माण राज्यमन्त्री साहले पदको दुरुपयोग गरी अवैध रुपमा विभिन्न स्रोतबाट ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँबराबरको भ्रष्टाचार गरेको भन्दै अख्तियारले उनीविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

अवैध हतियार बोकेको भन्दै एक वर्ष नौ महिना कैद र पाँच हजार जरिवाना सजाय पाइसकेका साह जनकपुर बम विस्फोटमा पाँच जनाको हत्या गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलिरहेको छ। उनको मुद्दा धनुष जिल्ला अदालतमा विचाराधीन छ।

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ।

अवैध हतियारदेखि ज्यान मुद्दासम्ममा दोषी देखिएका साहले पदीय हैसियत दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले साहबाट बिगोबराबरको जरिबानासमेत असुल गर्नुपर्ने दाबीसहित मुद्दा हालेको छ। अख्तियारले हालेको आरोपपत्रमा साहबाट भ्रष्टाचार निवारण ऐन ०५९ को दफा २० अनुसार ३१ करोड ५० लाख २६ हजार ५ सय ५९ रुपैयाँ बिगो र सोही रकम बराबरको जरिवाना साहबाट असुल हुनुपर्ने उल्लेख छ। बिगो र जरिवाना गरी साहबाट ६३ करोड ५२ हजार रकम असुल गर्नुपर्ने हुन्छ।

'साहले सार्वजनिक पद धारण गरेको अवधिमा उनको र उनका परिवारका सदस्यका नाममा रहेका विभिन्न कम्पनीबाट भएका आर्थिक कारोबार तथा परिवारका सदस्यलगायतका नाममा खरिद एवं लगानी गरेको चलअचल सम्पत्ति छानबिन गर्दा उनले आय आर्जन गरेको वैध आयको तुलनामा ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रुपैयाँ २७ पैसा बराबरको सम्पत्ति गैरकानुनी रुपमा बदनियतपूर्ण तबरले आर्जन गरेको देखिन्छ,' अख्तियारको आरोपपत्रमा लेखिएको छ।

साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै अख्तियारले साहलाई ऐनअनुसार जरिवाना तथा कैद सजाय गर्नुका साथै सार्वजनिक पदमा रहेको हैसियतमा थप कारबाही गर्दै गैरकानुनी आर्जनबाट जोडेको तथा बढाएको चलअचल सम्पत्ति जफत गर्न पनि माग दाबी गरेको छ।

'संविधान सभाको सदस्य, राज्यमन्त्री र व्यवस्थापिका संसद् सदस्यको हैसियतमा सार्वजनिक पदको राष्ट्रसेवक एवं पदाधिकारीसमेत रही उपरोक्त बमोजिमको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐनबमोजिम थप सजायसमेत हुने र निजले गैरकानुनी आर्जन गरेको रकमबाट जोडेको तथा बढे बढाएको चलअचल सम्पत्ति जफत गर्न माग दाबी गरिन्छ' आरोपपत्रमा उल्लेख छ।

अख्तियारले साहसहित उनका बाबु साधु साह सुडी, आमा दुलारी देवी सुडी, श्रीमती रंगिला देवी, भाइ रामकुमार साह र उनको कम्पनी तथा व्यावसायिक फर्मका कर्मचारी राम मिलन राउत कुर्मी र मनोजकुमार सिंहकी श्रीमती निलम सिंहको नाममा पनि अवैध सम्पत्ति लुकाएको अभियोगमा प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरेको छ। उनीहरूको नाममा रहेका स्रोत नखुलेको चलअचल सम्पत्ति भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनबमोजिम जफत गर्नुपर्ने माग दाबी अख्तियारले गरेको छ।

साथै अख्तियारले उनका भाई रामकुमार साहको नाममा रहेको मिथिला मनी ट्रान्सफर प्रालिले एक शाखाबाट आर्को शाखामा रकम पठाउँदा र झिक्दा बैंकिङ प्रणालीमा नदेखाई सोझै पठाउने गरेको तथा हुन्डी कारोबार गरेको अभियोगमा कारबाही गर्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। योसँगै साहको बाबु साधुको नाममा रहेको मिथिला आयल स्टोर्सले राजस्व छली गरेको भन्दै आवश्यक कारबाही गर्न राजश्व अनुसन्धान विभागलाई समेत पत्राचार गरेको छ।

सद्भावना पार्टीको सहअध्यक्ष रहेका साह पहिलो र दोस्रो संविधानसभाका सदस्य हुन्। उनी ०६५ सालमा भौतिक राज्यमन्त्री भएका थिए। सभासद् रहेको समयमा माइक भाँचेको अभियोगमा समेत उनीविरुद्ध मुद्दा परेको थियो। उनी २०६० जेठ ३ गते धनुषाको सखुवा महेन्दनगरमा होहल्ला गरेको अवस्थामा हतियारसहित पक्राउ परेका थिए। त्यति बेला उनले भोजपुरे खुकुरी र भारतको पटनाबाट ६५ सयमा खरिद गरिएको हतियार आफूले बोकेर हिँडेको भनी बयान दिएका थिए। तत्कालीन समयमा प्रहरीले ९ एमएमको ११ राउन्ड गोली लोड हुने पेस्तोलमा ३ राउन्ड गोली समेत साहबाट फेला पारेको थियो।

२०६१ असार ३० मा जिल्ला प्रशासनले हातहतियार र खरखजाना तथा केही सार्वजनिक अपराध ठहर गरी उनलाई एक वर्ष नौ महिना कैद ५ हजार जरिवाना गरेको थियो। पुनरावेदन अदालत जनकपुरले २०६३ जेठ ३० मा जिल्ला प्रशासनको निर्णय सदर गरेको थियो।

साहकै योजना र निर्देशनमा २०६८ वैशाख १८ गते जनकपुरमा बम विस्फोट गराएको दाबी गर्दै उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर भएको थियो। अलग्गै मिथिला राज्यको माग गर्दै धर्नामा रहेका व्यक्तिहरूलाई लक्षित गर्दै भएको बम विस्फोटमा परी पाँच जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए।

प्रकाशित: २६ पुस २०७३ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App