६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

त्रियुगा बसपार्क: ठेकेदारले समयमै काम सम्पन्न नगरेपछि, ठेक्का तोड्ने प्रक्रिया सुरु

आधुनिक र सुविधा सम्पन्न निर्माणाधीन बसपार्कको टर्मिनल भवन। तस्बिरः महेश्वर

प्रदेशकै नमुना र आधुनिक बसपार्क बनाउने योजनासहित उदयपुर सदरमुकाम गाईघाटमा निर्माण सुरु भएको ‘त्रियुगा बसपार्क’ को काममा ठेकेदारको चरम लापरबाही भएपछि ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको छ। 

०७६ असारमा सम्झौता भई डेढ वर्ष अर्थात् ०७७ पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु भएको काम पटक/पटक म्याद थप गर्दा पनि पुरा नभएपछि ठेक्का तोड्नुपर्ने अवस्थामा पुगेको हो।

सघन सहरी तथा भवन निर्माण आयोजना राजविराज सप्तरीको रेखदेखमा निर्माण भइरहेको बसपार्कको काम सम्झौता अवधिभित्र नसकिएपछि ०७७ पुस २९ गते पहिलो पटक १५ महिनाको म्याद थपिएको थियो। तर, सो म्याद पनि काम नसकी गुजारेको निर्माण कम्पनीले अरू समय मागे अनुसार ६ महिना म्याद थपियो। दोस्रो पटक थपेको म्याद पनि ०७९ असोज २९ गते सकिँदासम्म काम सम्पन्न गर्न नसकेपछि कारबाही प्रक्रिया अघि बढाइएको आयोजना प्रमुख (डिई) सचिन्द्र देवले बताए।

डेढ वर्षभित्र सक्नुपर्ने काम ३ वर्ष २ महिना बितिसक्दा पनि नसकिएपछि बाध्य भएर ठेक्का तोड्ने प्रक्रियातर्फ अघि बढ्नु परेको देवले बताए। ठेक्का तोड्नु अघि पटक/पटक काम ढिला हुनुको कारण सोध्दै ताकेता पत्र लेखेको तर, पनि ठेकेदारले वास्ता नगरेको देवको गुनासो छ।

निर्माण कम्पनीलाई पत्र लेख्ने, भेटेर र टेलिफोनमार्फत ताकेता गर्ने तथा विभाग र मन्त्रालयसम्मबाट ताकेता गराउँदा पनि काम सुचारु नगरेका कारण अव कारबाही प्रक्रियामा उत्रिनु परेको डिई देवको भनाई छ।

ठेक्का तोड्नु अघि काम सञ्चालन गर्न दिइएको पेस्की बापतको अग्रिम जमानत रकम (एपिजी) फिर्ता माग्न बैंकलाई पत्राचार गरिसकेको उनले बताए। 

‘छिटो काम गर्न अनुरोध गर्दा नलागेपछि दबाब दिन धेरै पटक ठेकदारलाई ताकेता पत्र लेख्यौँ’ डिई देवले भने ‘विभाग र मन्त्रालयमार्फत पनि पटक पटक ताकेता गर्न लगायौँ तर, चासो नदिएकाले एपिजी फिर्ता गर्न पत्राचार गरेका हौँ।’ 

आयोजनाले बसपार्क निर्माणको जिम्मा लिने रमण/आईएसएनवी जेबी जनकपुरलाई कार्यालयले पेस्की स्वरूप २ करोड ४० लाख रुपैयाँ दिएको रकम फिर्ता लिन पत्र पठाएको देवले बताए।

रकम फिर्ता लिन निर्माण कम्पनीको नाममा जमानत रहेको जनकपुरस्थित सनराईज बैंकको नाममा आयोजनाले चैत ६ गते पत्र लेख्दै रकम फिर्ता पठाईदिन भनेको छ। सनराईज बैंक जनकपुरलाई लेखेको पत्रमा भनिएको छ ‘यस आयोजना अन्तर्गत त्रियुगा बसपार्क निर्माण गर्न रमण/आईएसएनवी जेबी जनकपुरधाम धनुषासँग सम्झौता भई काम भइरहेकोमा हाल निर्माण व्यवसायीलाई पटक/पटक लिखित तथा मौखिक ताकेता गर्दा पनि काम गर्ने तदारुक्ता नदेखाएकाले त्यहाँबाट जारी भएको अग्रिम जमानत रकम ७ दिनभित्र यस कार्यालयमा पठाईदिन हुन अनुरोध छ।’

डिई देवले बैंकलाई लेखेको उपत्त पत्रको बोधार्थ सहरी विकास तथा भवन निर्माण विभाग (सहरी पूर्वाधार विकास शाखा) बबरमहल काठमाडौं, त्रियुगा नगपालिका र निर्माण कम्पनीलाई पनि दिएका छन्। ६ गते लेखेको पत्र सम्बन्धित बैंकमा पुगिसकेको र बोधार्थ पनि सबैतिर गइसकेकाले एपिजीवापतको रकम फिर्ता गरी ठेक्का तोड्ने प्रक्रियातर्फ अघि बढ्ने उनले बताए। 

विकास निर्माणजस्तो संवेदनशील काममा चरम लापरबाही गर्ने निर्माण व्यवसायीमाथि कारबाही गर्न राज्यबाटै निर्देशन आएकाले आफूले सो निर्देशन पालना गरेको डिई देवको भनाई छ।

जेवीका प्रतिनिधि सन्तोष यादवले भने काम थालिहाल्ने बताएका छन्। निर्माण सुरुवाती चरणदेखि नै काम तदारुक्तासाथ गरिरहेकोमा विश्वव्यापी महामारी कोभिड १९ ले बिचमा काम रोकिन पुगेर ढिला भएको उनले बताए। डेढ वर्षमा सक्ने सम्झौता गरेको काम त्यसभन्दा अगाडि नै सक्ने गरी तदारुक्ताका साथ भवन बन्दै गर्दा एक्कासि कोभिडले धक्का दिएपछि विषयान्तर भएर काम गर्न ढिला भएको यादवले बताए। 

‘छिटो छिटो काम गर्दै गर्दा बिचमा कोभिडले काम रोकिएर यस्तो समस्या आईलागेको हो’ उनको भनाई छ ‘तर, अब छिट्टै काम गर्ने गरी यन्त्र उपकरण र मानव जनशक्ति व्यवस्थापन गर्दैछौँ।’

आयोजना कार्यालयका साइट इन्चार्ज इन्जिनियर सुशील चौधरीले समयमा काम नसकिँदा निर्माणाधीन भवनको अवस्था अलपत्र भएको बताए। बिचमा लामो समय काम नहुँदा बहुकोठे, २ तले टर्मिनल पक्की भवन कुरूप हुन पुगेको छ भने कोठाहरु ड्वाङड्वाङ खाली हुनाले दिसा पिसाबले भवनभित्र र बाहिर दुर्गन्धित हुन पुगेको छ। भुईतलाका कोठाहरु टिकट काउन्टर, प्रशासनिक कार्यकक्ष र जनसम्पर्कका लागि निर्माण गरिएका सबै अधुरो हुँदा बसपार्क बिचमै रहेको भवनमा यात्रु र अन्य स्थानीयको आउजाउ बाक्लो हुन्ने हुँदा बेस्याहार भएर कुरूप बन्न पुगेको हो।

इन्जिनियर चौधरीका अनुसार टर्मिनल भवन अगाडि सडकतर्फ निर्माणाधीन समय सूचक टावर (घण्टा घर) को काम प्लास्टर गर्दै गर्दा बिचमै रोकिएको छ भने दक्षिणतर्फ बन्दै गरेको सार्वजनिक शौचालय पनि त्यत्तिकै अलपत्र छ। हालसम्म योजनाको भौतिक प्रगति ६० प्रतिशत सकिएको छ भने आर्थिक प्रगति ३२ प्रतिशत भएको इन्जिनियर चौधरीले बताए। 

उनका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक १२ करोड ६१ लाख ५५ हजार १ सय ३७ रुपैयाँ ३ पैसामा लागेको ठेक्काको हालसम्म ४ करोड १२ लाख ७ सय ३६ रुपैयाँ २७ पैसा भुक्तानी भइसकेको छ।

टर्मिनल भवन वरिपरि दायाँबायाँ आकर्षक फूलबारी सहितको पार्क, गाडी आगमन र बहिर्गमन गर्ने कालोपत्रेसहितको सडक, व्यापारिक कवलहरु, चमेना गृह, घण्टा घर, टर्मिनल भवन, यात्रु प्रतीक्षालय समेतको गुणस्तरीय संरचना हुने निर्माणाधीन बसपार्क प्रदेशकै नमुना हुने त्रियुगा नगरपालिकाले बनाएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआरं) मा उल्लेख छ। तर, काम थालेको यत्तिका समयसम्म आधा-उधी मात्र सम्पन्न हुनुले यो योजना निर्माण सम्पन्न हुन लामो समय लाग्ने अनुमान स्थानीयले गरेका छन्।  

त्रियुगा नगरप्रमुख वसन्तकुमार बस्नेतले बसपार्क निर्माण कार्य छिटो गर्न गराउन ठेकेदार र सघन सहरी कार्यालयलाई पटक पटक ताकेता गर्दै आएको बताए। सो बसपार्क त्रियुगा नगरपालिकाभित्र पर्ने र उदयपुरकै नमुना र ‘आईकन प्रोजेक्ट’ मध्येभित्र पर्ने भएकाले पनि चाँडो निर्माण सक्न र गुणस्तरीय बनाउन नगरपालिका र आफूले अग्रणी भूमिका खेल्ने प्रतिबद्धता पनि मेयर बस्नेतले जनाएका छन्।

प्रकाशित: ९ चैत्र २०७९ १२:३४ बिहीबार

त्रियुगा बसपार्क