१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सडकमा चित्र कोरेर परिवार धान्दै आनन्द

काठमाडौं– २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले क्षतिग्रस्त बसन्तपुर दरबार क्षेत्र यतिबेला पुर्ननिर्माणको पर्खाइमा सरकारतर्फ आशायुक्त नजर विच्छ्याइरहेको छ। क्षतविक्षत भई भग्न अवस्थामा रहेको यही बसन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोका सङ्ग्रहालय आगाडिको सडकपेटीमा मानिसहरुको भिडभाड देखियो। त्यही भिडबीच आफ्नो भाग्य कोर्दै गरेका एक फरक क्षमताका हँसिला युवा पात्र भेटिए।

थोत्रिएको बसन्तपुरको भाग्य सरकारले कोर्ला÷नकोर्ला यकिन छैन । तर, यी युवा भने आफ्नो भाग्य आफैले कोर्न सक्नेमा विश्वस्त देखिन्थे। कोरा कागजमाथि पेन्सिल र रङ्गहरुले खेल्दै उनले कोरेको कलात्मक चित्र नियाल्ने जो कोहीले उनको उज्जवल भविष्य सहजै देख्न सक्थे।

उनी अर्थात् आनन्द पासवान ।

हो, उनको नाम– आनन्द पासवान। पुख्र्यौली घर भारत विहारको समस्तिपुर।

२१ बसन्त पार गरेका यी युवाको जन्मजातै दुबै हातका हत्केला छैनन्। एउटा खुट्टाको तिघ्राभन्दा तलको भाग छैन।
सक्रिय जीवन निर्वाहका लागि आवश्यक हात र खुट्टाको अभावमै पनि उनी सबैलाई चकित तुल्याउँदै पाखुराबाट चुँडिएको जस्तो देखिने हत्केला, औंला केही नभएको हातकै सहाराले चित्र कोर्नमा मग्न छन्। हेर्नेहरुको भिड जमेको छ।

‘मलाई सुगा एकदमै मनपर्छ,’ मुस्कुराउँदै उनले भने, ‘जब मेरो बुवा को निधन भयो र एकपछि अर्को पीडा थपिँदै गयो त्यसबेला मेरो  एक्लोपन मेटाउने र कुरा गर्ने साथी नै सुगा मात्र थियो। त्यसलाई मैले साथी सम्झें। अनि त्यो सुगालाई बन्धक बनाएर राख्न मन लागेन। र, तँ पनि खुला आकाशमा स्वतन्त्रपूर्वक उड भनेर छोडिदिएँ। त्यसकै सम्झनामा यो चित्रहरु कोरेको हुँ।’

‘ओ हो कस्तो अचम्म,’ उनको आसाधारण प्रतिभामा भिडले आश्चर्य जनाउँछ। ५, १०, २०, ५० का नोटहरु गच्छेअनुसार उनीप्रतिको सहानुभूतिमा भिडले दान गर्छ।   
विदेशी पर्यटकहरु अश्चर्य मान्दै उनको तस्बिर खिच्नछन् र केही नोटहरु दिन्छन्। चित्रकला प्रर्दशन र चित्र बिक्री गरी उनले आफ्नो जीवन गुजारा चलाउँदै आएका छन्।
चित्रकलाबाहेक गायन, नृत्य र अभिनयमा समेत उनी आफ्नो अब्बल प्रतिभा प्रदर्शन गर्न पछि पर्दैनन्।

बाबुआमासँगै सानै छँदा नेपाल आएका उनको परिवाले राजधानीमा आफ्नो जीवनयापनका लागि सडकपेटीमा कपडा व्यापार गर्न थालेको थियो। तर, ग्राहकको मन जितेर व्यापार गरी जीवन निर्वाह गर्न पनि त्यती सहज थिएन। व्यापार कहिले ठप्पै हुन्थ्यो। कहिले महानगरपालिकाका कर्मचारीले उठाइदिन्थे। उनले विगत सम्झिए।
त्रासैत्रासमा कपडा व्यापार गरिरहेको उनको परिवारले काठमाडौं बसाईका सुरुवाति दिनहरुमा निकै दुःख, कष्ट व्यहोर्नु पर्यो।
सानै छँदा आमाले उनलाई आफूसँगै व्यापारमा लान्थिन्। त्यसबेला उनी सिन्कोको सहाराले धुलौटे भुईंमा चित्र कोरिरहन्थे।

चित्र कोर्ने छोराको अगाध रहर देखेर उनकी आमाले उनलाई कलम र कापी किनिदिइन् । आमाको कपडा व्यापार पनि राम्रो हुन थाल्यो। आनन्दले पनि चित्रकलामा आफूलाई अब्बल बनाउँदै लगे। उनको चित्र देखेर मानिसहरुले केही पैसा पनि दिन थालेका थिए। केही सुखद् क्षणहरु परिवारमा भित्रिन थालेका थिए।
परिवारको जीवन दैनिकी सहज हुनै लाग्दा उनको परिवारमा फेरी अर्को विपद् आइलाग्यो। आनन्दका बुबा अस्वस्थ भए।

समस्तीपुरमा रहेको पुख्र्यौली जग्गाजमीन बेच्दासमेत बुबाको उपचार सम्भव भएन। ५२ वर्षको उेमरमा आनन्दको बुबा यस संसार छोडेर गए। उनलाई ठूलो बज्रपात पर्यो।
दिदीको विवाह भइसकेको थियो। दाजुभाउजु छुट्टै बस्थे। आनन्दकी आमाको मिर्गौलामा पत्थरी देखियो। मिर्गौलाको उपचारका लागि आमा कपडा व्यापार छोडेर भारत गइन्।
आमाले सडक पेटीमा कपडा बेच्दै धानेको परिबारको जिम्मा अब परिवारको कान्छो सन्तान तथा शारीरिक रुपमा अशक्त आनन्दको काँधमा आइलाग्यो। त्यसपछि उनले यही चित्रकलालाई आफ्नो जीवन यापनको साधन बनाए।

आफ्नो दुःखद् कहानी सुनाइरहँदा आनन्दले पहिला आफूले कोरेका चित्रहरु देखाए। ती मध्ये अधिकांश सुगाका चित्र थिए।
‘सुगाको चित्र किन बनाएको ?,’ उत्सुकता मेट्ने कोसिस गरियो।

‘मलाई सुगा एकदमै मनपर्छ,’ मुस्कुराउँदै उनले भने, ‘जब मेरो बुवा को निधन भयो र एकपछि अर्को पीडा थपिँदै गयो त्यसबेला मेरो  एक्लोपन मेटाउने र कुरा गर्ने साथी नै सुगा मात्र थियो। त्यसलाई मैले साथी सम्झें। अनि त्यो सुगालाई बन्धक बनाएर राख्न मन लागेन। र, तँ पनि खुला आकाशमा स्वतन्त्रपूर्वक उड भनेर छोडिदिएँ। त्यसकै सम्झनामा यो चित्रहरु कोरेको हुँ।’

उनको जवाफमा गहिरो ‘जीवन दर्शन’ भरिएको भान भयो। परिवारले पालेको सुगालाई पिँजडाबाट बाहिर निकाली स्वतन्त्रता दिलाउने उनी आफ्नो जीवनमा पनि उत्तिकै स्वतन्त्र र स्वच्छन्द देखिन्छन्। शारीरिक अशक्तताका बाबजुद पनि पराधिन छैन उनको जीवन।

दरिलो आत्मविश्वास भए मानिसलाई कुनै पनि कुरामा अगाडि बढ्न शारीरिक अशक्तताले छेक्दैन भन्ने ज्वलन्त उदाहरण हुन् आनन्द। र, उनको जीवनबाट ‘जीवनको सार’ बुझ्न सकिन्छ।

हेराैं अानन्दको दिनचर्या झल्कने तस्बिर र भिडियोः


 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App