५ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

विपन्नलाई उपचारमा सकस

उपचार गर्दा लागेको खर्च तिर्न नसक्दा न्युरो अस्पतालले छोराको शव नदिएपछि बिलौना गर्दै कदमाहाकी महिला। तस्बिर : चुमन बस्नेत

विराटनगर- मोरङ, कदमाहा–७ का शम्भु सिंहका १८ महिनाका छोरालाई ब्रेन ट्युमर भयो। उनले छोराको उपचारका लागि विराटनगरको सबैभन्दा महँगो अस्पताल रोजेे। आर्थिक हैसियत कमजोर भएका सिंहले ‘सर्वस्व’ सकेर पनि छोरालाई बचाउन चाहन्थे।

दुई महिनाअघि न्युरो अस्पतालमा उनका छोराको ब्रेन ट्युमरको शल्यक्रिया भयो। २ लाख ५० हजार रुपैयाँ खोजेर उनले अस्पताललाई बुझाए। शल्यक्रिया गरेर ट्युमर झिकिएका उनलाई केही दिनमै आइसियूबाट जनरल वार्डमा सारियो। उनको स्वास्थ्य अवस्था जटिल नै थियो। बच्चालाई परिवारकै आग्रहमा अस्पतालले जनरल वार्डमा सारिदिएको हो। कारण थियो, सिंहसँग आइसियूको हरेक दिनको महंगो शुल्क तिर्ने तागत छैन।

स्वास्थ्य उपचारका नाममा नेताहरूले शक्ति र पहुँचको बलमा राज्यको ढुकुटीबाट लाखौं रुपैयाँ  लिइरहेका बेला पैसाकै कारण राम्रो उपचार नपाएर ज्यान गुमाउने बढ्दै छन्।

बच्चाको स्वास्थ्य झन् बिग्रिन थाल्यो। अस्पतालले उनलाई फेरि आइसियूमा लगेर भेन्टिलेटर राखेर सघन उपचार गर्न थाल्यो। अस्पतालको ‘बिलको मिटर’ दिनदिनै बढ्दो थियो। सिंह परिवारले त्यो रकम 'सर्वस्व' बेचेर पनि तिर्न नसक्ने स्थिति आयो। अस्पतालले बाँकी रकम तिर्न दिनदिनै ताकेता गर्न थाल्यो। सिंह परिवारले असमर्थता जनाउँदै बच्चालाई भेन्टिलेटरबाट बाहिर निकाल्न भन्यो।

 ‘आइसियूमा राखेर उपचार गर्दा दिनको १० हजार रुपैयाँभन्दा बढीको बिल आउँथ्यो,’ सिंहका छिमेकी प्रमोद शर्माले भने, ‘यति ठूलो रकम जुटाउनु सिंह परिवारका लागि असम्भव नै थियो, हामीले सरसापट जुटाएर बच्चाको उपचारमा सहयोग गरिरहेका थियौं।’ अस्पतालले बच्चाको स्वास्थ्य अवस्था झन् जटिल बन्यो भन्दै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान वा भारतको सिलिगुडी लैजान सिफारिस गर्‍यो। सिंह परिवारसँग छोरालाई थप उपचारका लागि विराटनगर बाहिर लैजाने क्षमता नभएकाले त्यो सम्भव भएन्।

 बक्यौता नतिरेको र परिवारले नै बारम्बार दबाब दिएपछि अस्पतालले बच्चालाई भेन्टिलेटरबाट हटायो। लगत्तै उनको मृत्यु भयो। शर्माका अनुसार बच्चाको मृत्यु भएपछि परिवारले शव बुझ्ने प्रक्रिया थाल्दा अस्पतालले बक्यौता रहेको पाँच लाख रुपैयाँ तिर्न दबाब दिए। सिंह परिवार छोरालाई बचाउन नसके पनि उपचार गर्दा ‘कंगाल’ भइसकेका थियो। त्यति पैसा जुटाउनु उनीहरूका लागि ‘फलामको च्युरा’ चपाउनुसरह नै थियो।

 ‘बक्यौता नतिरेसम्म बच्चाको शव नदिने अडानमा अस्पताल पुग्यो,’ शर्माले भने, ‘दुई दिनसम्म शव अस्पतालमै बन्धक बनाएर राखियो।’ तेस्रो दिन अस्पताल, पीडित परिवार र राजनीति दलका प्रतिनिधिबीचको वार्तापछि अस्पतालले शव परिवारलाई बुझायो। बक्यौता पैसा भने लिएन।

...

 सुनसरी, कुसहाका २५ वर्षीय अनुज विश्वास मेनेन्जाइटिसले थलिए। उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होमको आइसियूमा भर्ना गरियो। केही समयको उपचारले स्वास्थ्यमा सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्दै ८२ हजार रूपैयाँको बिल थमाइदियो। औषधि पसलेले पनि ८० हजार रूपैयाँको बिल पठाए।

 विश्वासको रेखदेखमा खटेका दाजु मनोजले पैसाको बन्दोबस्त गर्न बुवा वासुरामलाई फोन गरे। छोरा निको भएकोमा उनी खुसी त थिए तर, उपचार खर्च कहाँबाट जुटाउने कुराले निराश देखिन्थे। पैसाका लागि कुनै व्यक्तिलाई गुहार्न बाँकी राखेनन् उनले। जेठो छोरा मनोजको फेरि फोन आयो, ‘अनुज अस्पतालबाट हामफाल्यो, मृत्यु भइसक्यो।’

 कात्तिक १८ गते बिहीबार। आफू निको भएर डिस्चार्ज भएकोमा खुसी हुनुपर्ने विश्वास ‘उपचार खर्च कसरी जुट्छ’ भन्दै चिन्ता गर्दै थिए। उद्योगमा ज्यालामा काम गरेर गुजारा चलाउने उनको परिवारको आर्थिक हैसियत कमजोर छ। उपचारमा खर्च भएको दुई लाखजति रूपैयाँ एक त बन्दोबस्त गर्नै कठिन, भइहाल्यो भने पनि पछि कसरी तिर्ने? विश्वासले यही चिन्ता दाजु मनोजसँग व्यक्त गरिहन्थे। ‘चिन्ता नगर, कुनै उपाय लाग्ला नि,’ दाजुले ढाड्स दिइरहेका थिए। दाजु शौचालयतिर लागेको मौकामा विश्वास अस्पतालको तेस्रो तलाबाट हाम फाले। उनको घटनास्थलमै मृत्यु भयो।

 पैसाकै अभावमा दुई वर्षअघि उपचार गराउन नसक्दा उनकी आमाको मृत्यु भएको थियो।

 

 स्वास्थ्य उपचारका नाममा नेताहरूले शक्ति र पहुँचको बलमा राज्यको ढुकुटीबाट लाखौं रुपैयाँ  लिइरहेका बेला पैसाकै कारण राम्रो उपचार नपाएर ज्यान गुमाउने बढ्दै छन्। समयमा उपचार नपाउनु, पाए पनि राम्रो नहुनु, उपचारमा लाग्ने मोटो रकम जस्ता कारणले गरिब अनाहकमा मृत्यु रोज्न बाध्य छन्।

 मुटुको समस्याले थलिएकी खोटाङ इन्द्रेणीपोखरी–२ की ५१ वर्षीया किशनमाया राईले शुक्रबार विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा निःशुल्क उपचारका लागि फारम भरिदिन कर्मचारीलाई आग्रह गरिन्। अनपढ राईलाई कर्मचारीले आर्थिक हैसियतसँग जोडिएको विभिन्न प्रश्न गरे। घरजग्गा कति छ? इलाजको लागि कति पैसा बोकेर आएको छ? घरपरिवारको गुजारा कसरी चल्दैछ? घरका अन्य सदस्य के काम गर्छन् र आम्दानी कति हुन्छ?

 ‘बनिबुतो गरेर हाम्रो परिवारको गुजारा चल्छ,’ राईले भनिन्, ‘३ कट्ठा जग्गा छ, त्यही जोतेर दुई छाक टारिरहेका छौं।’ अस्पतालका कर्मचारीले राईसँग गफिँदै फारम भर्न थाले। राईलाई आर्थिक हैसियतसम्बन्धी विभिन्न प्रश्न सोध्नुको पछाडि उनी साँच्चिकै गरिब हुन् या होइन भनेर जान्नु थियो अस्पतालका कर्मचारीलाई पाँच वर्षदेखि मुटुको समस्याले राई हैरान छन् उनी। गाउँका स्वास्थ्य केन्द्रमा जचाउँदै औषधि खाइरहेकी राई केही समययता मुटु दुखेर फुट्लाजस्तो भएपछि उपचार गराउन श्रीमान् बिष्णुबहादुर राईसहित शुक्रबार विराटनगर आएकी हुन्। ‘विराटनगरमा राम्रा र ठूला अस्पताल पनि छन्, त्यहीं गएर उपचार गराउनु भन्ने सल्लाह भएपछि यहाँ आएकी हुँ,’ किशनमायाले भनिन, ‘तर पैसा छैन, ठूला अस्पताल महंगा होलान्। सरकारीमै निःशुल्क हुन्छ भन्ने सुनेर यहाँ आएँ।’

 कोसी अञ्चल अस्पतालका प्रवक्ता एवं समाजिक सेवा इकाइ प्रमुख कामेश्वर झाले उपचारका लागि कति पैसा बोक्नु भएको छ? भनेर सोध्दा उनले भनिन, ‘अलिअलि बोकेर आएकी छु, बाटो खर्च र एक्सरेको लागि पैसा पुग्छ। धेरै त छैन।’

 स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा गरिब, असहाय, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैंगिक हिंसा प्रभावित र महिला स्वास्थ्य स्वंयसेविकाको उपचार निःशुल्क र आंशिक छुटका लागि बर्सेनि बजेट विनियोजन गर्छ। कोसी अञ्चल अस्पताललाई यस वर्ष त्यस्ता बिरामीको उपचारका लागि ४० लाख रुपैयाँ बजेट दिइएको छ। गत वर्ष कोसी अस्पतालले यसै शीर्षकमा ६० रुपैयाँ पाएको थियो। गरिब बिरामीको सुविधामा 'हुनेखाने' ले पनि सेवा लिइरहेका छन्।

 कोसी अञ्चल अस्पतालका प्रवक्ता झाका अनुसार साउन, भदौ र असोजमा २ हजार ९ सय २५ जना बिरामीको त्यो कोषबाट उपचार गरिएको छ। गत वर्ष करिब १२ हजार बिरामीले यो सेवा पाएका थिए।

प्रकाशित: ४ मंसिर २०७३ ०१:४४ शनिबार

विपन्नलाई उपचारमा सकस