९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

रहेनन् 'अलैंचीका पिता'

खोटाङ- खोरिया फाँडेर व्यावसायिक रूपमा अलैंची, फलफूल, चिया, तरकारी खेती र माछापालन गरेको निहुँमा राणा शासनकालमा राजकाज मुद्दा खेपेका खोटाङका पर्खनबहादुर राईको शनिबार निधन भएको छ।

परम्परागत कृषि प्रणालीलाई परिमार्जन गर्दै जिल्लामा आधुनिक र व्यावसायिक खेती सुरु गरेका बाँझेच्यानडाँडा–९ मबु, डाँडाखर्कका  राईको ९१ वर्षको उमेरमा शनिबार निधन भएको हो।

जिल्लामै पहिलोपल्ट अलैंची, चिया, विभिन्न प्रजातिका फूलखेती तथा माछापालन गरेर उनले सफल किसानको परिचय बनाए। नयाँ पद्धतिबाट खेती सुरु गरेकै कारण राणा शासनका बेला राजकाज मुद्दा खेपेका उनले २०६३ सालमा 'अलैंचीका पिता' सम्मान पाए। 

राणाकालमा नागरिकले व्यावसायिक रूपमा अलैंची, चियालगायतका बिरुवा लगाउन तथा माछापालन गर्न पाइन्नथ्यो। निजी प्रयोजनका लागि ६ बोटभन्दा बढी बिरुवा रोप्न बन्देज थियो। राणाकालमा नयाँ शैलीबाट खेती सुरु गरेको आरोपमा राईलार्ई मुद्दा खेप्न भोजपुर गोस्वारा (अड्डा) पुर्‍याइएको थियो। परम्परागत खेती छाडेर आधुनिक खेती सुरु गरेकोमा 'पर्खनबहादुर राजा हुन् कि रैती?' भन्ने प्रश्न उठाउँदै तीन मुद्दा परेका थिए। राईमाथि १९९५ सालमा खोटाङमा पहिलोपल्ट अलैंची रोपेकोमा, १९९७ सालमा  चिया रोपेकामा र १९९९ सालमा पोखरी खनेर माछापालन गरेकोमा मुद्दा परेको थियो। भोजपुर गोस्वाराका तत्कालीन बडाहाकिम भक्तबहादुर खड्काले राईलाई सात दिनभित्र उपस्थित हुन पक्राउ पुर्जी पठाएका थिए । आखिर, अलैंची, चियाखेती नगर्ने तथा माछापोखरी भत्काउने सर्तमा उनी भोजपुर अड्डाबाट मुक्त भएका थिए।

 २००२ सालमा राई भिनाजु अम्बरबहादुर र भान्जा कृष्णबहादुरका साथ  संखुवासभाको ताम्कुबाट सुन्तला बोकेर बिक्री गर्न उदयपुरको फत्तेपुर झरेका थिए। फत्तेपुरबाट बेलायती सेनाका एक गल्लावालले सेनामा भर्ती गराउन लैजाने भए। भान्जासँगै पर्खनबहादुर भर्ती जान तयार भए पनि उनका भिनाजुले एक्लो सालालाई रोके। भान्जा कृष्णबहादुरमात्र भर्ती गए।

यस घटनापछि राईले आफ्नै माटोमा 'केही गर्छु' भन्ने अठोट लिए। परम्परा खेतीमा अल्भि्कँदै आएका राईले तत्काल नयाँ जोस र उत्साहसाथ  भोजपुरको सर्‍याङ र खोटाङकै बुइँपाबाट अलैंचीका बेर्ना ल्याएर रोपे। बगान बनाएर चियाको बिरुवा हुर्काए। ध्वतीसरा, निभारो, अम्लिसो, नेपियर जातका घाँस रोपे। पोखरी खनेर माछापालन सुरु गरे। घरमा पुग्ने जो कोहीलाई कृषिप्रति प्रेरित गर्ने राईको जाँगरको प्रसिद्धि २००७ सालमा प्रजातन्त्र आएपछि जिल्लाभर फैलियो।

उनको जवानी अलैंची, सुन्तला, नासपाती, आरु, चिया, हलुवावेदजस्ता फलफूल तथा बिरुवा गोडमेलमै बित्यो। उनले उत्पादन गरेको अलैंची धरान र विराटनगरसम्म खपत हुन्थ्यो। उनले अलैंची खेतीको कमाइबाट तीन सय रोपनी जग्गा जोडेर सबैमा बिरुवा लगाए। 

अहिले ती बिरुवा हुर्केर डाँडाखर्क वन बनेको छ। 'ताकत छँदा उनले वन चहार्ने, दैनिक बाटो बढारेर सफा बनाउने गर्थे,' स्थानीय चक्र फुयाल सम्झन्छन्। २०६५ सालमा चितवनबाट विद्यार्थी थेसिस तयार पार्ने सिलसिलामा राईकहाँ आएका थिए।

राईले जैविक विविधताको संरक्षणमा महŒवपूर्ण योगदान पुर्‍याएका थिए। उनलाई यसका लागि प्रकृतिले नै ज्ञान र क्षमता दिएको स्थानीय हरिकुमार बिष्ट बताउँछन्। उनको योगदानको कदर गर्दै सरकारले २०४४ सालमा चितवन, पोखरा, जनकपुर, हेटौडा, वीरगन्जलगायत ठाउँको भ्रमण गराएको थियो।

खोटाङ, भोजपुर, उदयपुर र सोलुखुम्बु क्षेत्रमा उन्नत खेती विस्तार गर्न अग्रणी भूमिका खेलेको भन्दै खोटाङ सेवा समाजले २०६४ सालमा उनलाई अभिनन्दन गरेको थियो। २०६३ सालमा कृषि तथा सहकारी मन्त्रालयले उनलाई 'अलैंचीका पिता' को सम्मान दिई पुरस्कृत गरेको थियो। २०६५ मा जिल्ला विकास समिति खोटाङले नमुना र अगुवा कृषकको रुपमा उनलाई अभिनन्दन गर्‍यो। 'बुबाले यो ठाउँमा खुबै दुःख गर्नुभो,' कान्छा छोरा गणेशबहादुर राईले भने, 'बोटबिरुवा हुर्काउन मेहनत गर्ने उहाँ प्रकृतिप्रेमी हुनुहुन्थ्यो।' उनका बलबाहुले सिर्जित बगैंचा छोराहरू ध्यानबहादुर, गणेशबहादुर  र नाति संग्राम राईले जोगाइरहेका छन्।

अम्बरबहादुर राई  र जमुनाको पुत्रको रूपमा उनी १९८२ साल कात्तिक १३ गते जन्मिएका थिए।  उनी नौ दिदीका एक्ला भाइ  थिए। बुढ्यौलीमा पुगेपछि उनी तीन/चार वर्षयता ओछ्यानमै थलिएका थिए। उनको आइतबार राई परम्पराअनुसार गाउँमै दाहसंस्कार गरियो।

प्रकाशित: ८ कार्तिक २०७३ ०१:५९ सोमबार

रहेनन् अलैंचीका पिता