इटहरी- हिन्दू धर्मका प्रमुख चार धाममध्ये एक सुनसरी बराहक्षेत्र पुग्ने मार्ग जोखिमपूर्ण छ। यो वर्ष अधिक पानी परेर सुनसरीकै चतरादेखि बराहक्षेत्र मार्गका बीचबीचमा पहिरो जानुका साथै पानीले ठूल्ठूला खाल्डाखुल्डी हुँदा उच्च जोखिममा रहेको हो। दसैंताका पहिरोको अवरोध हटाए पनि यो मार्ग सप्तकोसीको किनारैकिनार हुँदै बराहक्षेत्र पुग्ने भएकाले चाँडो मर्मत नगरे ठूला दुर्घटनाबाट अछुतो नरहला। त्यसमाथि पनि यो मार्गमा सवारी साधनले क्षमताभन्दा बढी यात्रु ओर्साने गरेका छन्।
‘अहिलेसम्म बराह भगवानले गर्दा ठूला दुर्घटना भएका छैनन्,’ चतरा-बराहक्षेत्र मार्गमा को१ज ६५१ नम्बरको ल्याण्डलोभर चालक सन्तोष सुवेदी भन्छन, ‘अहिले बाटोमा गाडी हाक्दा जतिबेला पनि सप्तकोसीतिर हुइकिन सक्छ।’ उनका अनुसार बाटोको अवस्थाले गर्दा गाडी एकातिर मर्काए, अर्कैतिर मोडिन्छ। चतराबाट बराहक्षेत्र पुग्नका लागि ११ किलोमिटर पर्छ।
चतराबाट चार किलोमिटर उत्तरबाट सप्तकोसीमा पुलसमेत निर्माण गरेर वैकल्पिक राजमार्गको रुपमा राजधानी काठमाडौंलाई मध्यपहाडका जिल्लासँग जोड्ने मार्ग पनि बिस्तार हुँदैछ। जसले गर्दा उदयपुरको रामपुर ठोक्सिला हुँदै सप्तकोसी पुल पार गरेर पनि बराहक्षेत्र आउजाउ गरिन्छ। रामपुर ठोक्सिलाबाट कोसी पूर्व आउजाउ गर्न पनि पूरै जोखिमपूर्ण यात्रा गर्नुपर्छ।
बराहक्षेत्रसम्म पुग्ने साना तथा ठूला सवारी साधनले कोचाकोच त ओसार्छन् नै छतमा समेत यात्रु राखेर ओसार्ने गरेका छन्। अझ दसैंको बेला त ट्रयाक्टरमा समेत यात्रु ओसारेको पाइयो। क्षमताभन्दा बढी यात्रु अनि खराब सडक हुँदा सार्वजनिक यातायातमा त्रासको यात्रा गर्न सर्वसाधारण बाध्य छन्। सरकारी नियमनकारी निकाय क्षमताभन्दा बढी र छतमा यात्रु ओर्सादा आँखा चम्किएको छ।
‘जहिले त्रासको यात्रा गर्नुपरेको छ। सुविधासँगले बराहक्षेत्र र चतरासम्म पुग्ने दिन कहिले नआउने भो,’ उदयपुरको रामपुर ठोक्सिलाका दुर्गा थापाले नागरिकन्युजसँग भने, ‘बिग्रिएको बाटो मर्मत गर्न सरकारी पक्षले चासो देखाउनुपर्छ।’ उनका अनुसार यो वर्षको दसैंताका पानी पर्दा जुन ट्रयाकमा गाडी हिँडायो, त्यही ठूल्ठूला खाल्डा हुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्यो।
चतराबाट बराहक्षेत्र पुग्न र उदयपुरको रामपुर ठोक्सिला हुँदै चतराबाट धरानसम्म ल्याण्डलोभर, भ्यानसँगै केही सीमित बस पनि चल्ने गर्छन्। बाटोले गर्दा विग्रिएको अवस्थामा भेटिएको ना४ख ३७१७ नम्बरको बसका चालक राम खड्काले चतरासम्म आउजाउ गर्नका लागि उकालो र उरालोमा गाडी गुडाउँदा इन्जिन तातेर जतिबेला गनि गडबढी हुने गर्छ। अनि त्यसमाथि क्षमताभन्दा बढी यात्रु ओसार्दा त गाडी ‘कन्ट्रोल’ हुन नै समस्या हुने गर्छ।
चतरा-बराह क्षेत्र मार्गमा १३ वटा साना ल्याण्डलोभर र ५ वटा पीकअप भ्यान सञ्चालनमा छन्। चतरा-रामपुर ठोक्सिला ११ वटा भ्यान र ३ वटा वस सञ्चालनमा रहेको यातायात व्यवसायी लवराज फुयालले बताए।
बराहक्षेत्रको सप्तकोसीमा पुल नबन्दा डुगामार्फत उदयपुरको रामपुर ठोक्सिलाबाट आउजाउ गर्थे। ‘डुंगाबाट मुक्ति पाए पनि गाडीमा जोखिमपूर्ण यात्रा गर्नबाट कहिले मुक्ति पाउँने टुंगो छैन,’ उदयपुरको मैनामैनीका टिलबहादुर राईले भने।
बराहक्षेत्रमा भारत र नेपालका हजारौ तीर्थयात्री दैनिक रुपमा दर्शनको लागि आउने गर्छन्। चतरा-बराह क्षेत्रसम्म सवारी साधनमा यात्रु त त्रासको यात्रा गर्छन नै पैदल हिँड्नसमेत सकस छ। ‘गाडीमा आउन नसकेर पैदल आएको साह्रै समस्या भयो,’ भोजपुरको डेवानटारबाट भरौल घर आउने क्रममा भेटएकी तारा राउतले भनिन्।
बाटोले गर्दा चतराबाट उदयपुरको रामपुर ठोक्सिला हुँदै पहाडी जिल्ला आउजाउ गर्ने र धनकुटाको आहाले, छिन्ताङ तथा भोजपुरको दक्षिणी भेगका वासिन्दालाई समस्या परेको छ। दसैको बेला चतराबाट रामपुर ठोक्सिला हुँदै अन्यत्र जानेको संख्या दैनिक ४ हजारभन्दा बढी हुने गरेको ट्राफिक प्रहरीका असई भोजकुमार कट्टेलले बताए। उनका अनुसार बराहक्षेत्र हुँदै पहाडी जिल्ला आउँजाउँ गर्नेको संख्या पनि दसैको बेला एक हजारभन्दा बढी थियो। यी क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने तथा विरामी हुँदा उपचारको लागि अस्पताल जाने अर्को वैकल्पिक सडक छैन।
चतरा-बराह क्षेत्र र चतरा-रामपुर ठोक्सिला आउजाउ गर्ने चाडपर्वका बेला मात्र नभएर अरु बेला पनि ठूलै संख्यामा आउजाउ गर्छन्। असई कट्टेलले भने, ‘चतराबाट बराहक्षेत्र र उदयपुरके रामपुर जाने यात्रुको जहिल्यै चाप हुने गर्छ। बाटो पूरै खराब हुँदाहुँदै पनि सवारी साधनका चालकलाई होसियारीपूर्वक पुर्याउन आग्रह गर्ने गर्छौं।’ उनले उदयपुरबाट बेला बेलामा ट्रयाक्टरमा यात्रु आउने गरे पनि ल्याण्डलोभर र बसमा भने छतमा यात्रु चढ्न रोक लगाएको जिकिर गरे।
सडक निर्माणका लागि कालिका कन्ट्रक्सनले ठेक्का लिइ सकेकाले गर्दा बीचमा खाल्डाखुल्डी भएको बाटो सम्याउनुपर्ने को१ख २४६४ नम्बरको ल्याण्डलोभरका चालक हरि लम्सालले बताए।
प्रकाशित: ३० आश्विन २०७३ ०८:३० आइतबार