१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ। केन्द्रले १२ शिव लिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिव शक्तिको महिमालाई वर्णन गरिएको हो। आत्म, परात्मा, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्त्व र अभ्यासका विषयलाई सिकाइएको छ।

आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान् र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दीक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजन कीर्तनसमेत गरिएको छ।

यसैबिच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूल समारोहमा पु¥याइएको थियो।

उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो। जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो।

आध्यात्मक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रह्मकुमारी राजयोग कृतिले जानकारी दिए। 

प्रकाशित: ६ फाल्गुन २०७९ १२:३६ शनिबार

ब्रह्मकुमारी शिवरात्रि