४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

क्याम्पस प्रमुख कुट्नेलाई पक्राउ नगरेको भन्दै पठनपाठन बन्द

गोरखाको द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै क्याम्पसको पठनपाठन बन्द गरिएको छ। स्वतन्त्र विद्यार्थी युनियनका सभापति प्रविण बस्नेतले शुक्रवार एक विज्ञप्ति जारी गर्दै क्याम्पस तोडफोड र प्रमुखमाथि कुटपिटमा संलग्नलाई उजुरी गर्दा पनि प्रहरीले कानुनी कारबाही नगरेकाले अनिश्चितकालिन क्याम्प बन्द गरिएको बताएका छन्।

क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई फागुन २ गते अखिल क्रान्तीकारीका द्रब्यशाह बहुमुखी क्याम्पसका इकाई अध्यक्ष अनिष अर्यालको नेतृत्वमा केहीब्यक्तिहरुले कार्यकक्षमा कुटपिट र तोडफोड गरेका थिए। ‘उक्त घटनालाई विभिन्न बाहनाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेको प्रति स्वतन्त्र विद्यार्थी युनियन घोर भर्त्सना गर्दछ’ सभापति बस्नेतद्धारा जारी विज्ञप्तिमा भनिएको छ। कुटपिट र तोडफोडमा संलग्नलाई कानुनी कारबाही नगर्दा सम्म क्याम्पसको पठनपाठन र प्रशासन बन्द रहने बताइएको छ। शुक्रवार बिहानी र दिवा सत्रका कुनैपनि कक्षा संचालन नभएको क्याम्पसले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जाहेरी आएको र थप प्रक्रिया अघि बढेको बताए। क्याम्पस व्यवस्थापन समिति र प्रमुखले जाहेरी दिएपछि फेरी छलफल गर्न समय मागेकाले मुद्दा दर्ता नभएको उनले बताए। ‘मुद्दा दर्ता गर्न समस्या छैन, आज हामी प्रक्रिया अघि बढाउँछौँ’ उनले भने।  अभद्र कसुर शीर्षकमा मुद्दा दर्ता भएर प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ। 

प्राध्यापक संघ, क्याम्पस व्यवस्थापन समिति र नेपाली काँग्रेस जिल्ला कार्यसमिति गोरखाले विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ। 

 सरकारले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा बिदा दिएको बारे क्याम्पस प्रमुख दुवाडीले आक्रोश व्यक्त गर्दै सामाजिक सञ्जालमा बिदाको विरोध गर्दै स्टाटस लेखका थिए। स्टाटसपछि अखिल क्रान्तीकारीका इकाई अध्यक्ष अर्यालले एक विज्ञप्ति जारी गर्दै तत्काल अभिव्यक्ति फिर्ता लिन अल्टिमेटम दिएका थिए।

प्रकाशित: ५ फाल्गुन २०७९ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App