९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

उफ महँगी, उस्तै सास्ती !

पश्चिमेली ब्युरो

नेपालगन्ज- दसैंतिहार नजिकिँदा विभिन्न कामका लागि गाउँसहर छाडेकामा थातथलो फर्कने हतारो सुरु भइसकेको छ। अधिकांशको घर फर्किने माध्यम सार्वजनिक सवारी हो तर यही मौकामा यातायात व्यवसायीले चर्को भाडा असुल्ने, सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु कोच्ने र आफूले पाएको रुटपरमिटको सीमा नाघेर जोखिमपूर्ण सेवा सञ्चालन गर्ने गरेका छन्।

मध्य तथा सुदूरपश्चिमी पहाडी जिल्लामा यात्रुले यस्तो सास्ती झन् बढी खेपिरहेका छन्।

दिवा बस रातमा पनि

मध्य तथा सुदूरपश्चिमका पहाडी जिल्लाको प्रमुख 'हब' नेपालगन्जबाट दिवा सेवाका लागि रुट परमिट लिएका बसले रात्रि सेवा दिइरहेका छन्। पहाडी बाटो र दिउँसो चल्ने पुराना बस रात्रिसेवामा हाल्दा यात्रामा जोखिम बढ्ने भए पनि नियामक निकायले यसमा चासो दिएका छैनन्। दसैंलक्षित गरेर अहिले बागेश्वरी, भेरी, मध्यपश्चिम, काँक्रेविहार र राप्ती यातायातले रात्रिसेवा दिइरहेका छन्।

चाडपर्व नजिकिएसँगै नेपालगन्जबाट जुम्ला, कालिकोट, रुकुम, सल्यान, जाजरकोट, रोल्पा, प्युठान र अछाम जाने बसहरु राति चल्छन्। नेपाल राष्ट्रिय यातायात महासंघका भेरी अञ्चल संयोजक टंक बस्याल दिवा बसले रात्रिसेवा दिइरहेको सुनाउँछन्। 'पहाडी जिल्लामा अहिले रात्रिबस सञ्चालन गर्ने रुट परमिट छैन, तैपनि बस चलिरहेका छन्,' उनले भने, 'छिट्टै रात्रि परमिट लिने तयारी भइरहेको छ।' दसैं–तिहार अवधिमा पहाडि जिल्लाको लागि रात्रि सेवाको रुट परमिट लिइने उनले बताए।

नमस्ते नेपाल यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पौडेलले रात्रि बस जाँदा दिवाका बसले यात्रु पाउन छाडेको बताए। यातायात समिति र ट्राफिक प्रहरी मूकर्दशक बस्दा दिवाका बस रात्रि सेवामा गुडिरहेको उनले जानकारी दिए।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले यस विषयमा आफूलाई जानकारी नभएको बताए। रुट परमिट यातायात कार्यालयले दिने भएकोले यसको निरीक्षण र अनुगमन पनि सोही कार्यालयले लिनुपर्ने उनको भनाइ छ।

झोलाको पनि भाडा

कामका लागि भारत गएकाहरु दसैं मनाउन फर्कने क्रम चलिसकेको छ। बैतडीको सीमाबजार झुलाघाटबाट फर्किइरहेकाबाट बैतडी–झुलाघाट सडक खण्डमा चल्ने जिपचालकले ढाड सेक्ने गरी मनपरी भाडा असुलिरहेका छन्। यात्रुसँग साना झोलापोकाको पनि अलग्गै भाडा लिइरहेको यात्रुको गुनासो छ।

भारतबाट मजदुरी गरेर फर्केका बझाङ, देउलेकका रमेश बोहराले एकाबिहानै जिपमा यात्रु भरिए पनि दिउँसो मात्र हिँड्ने र आफ्नो मनलाग्दी भाडा उठाउने गरेको बताए। 'उनीहरु मनोमानी भाडा मात्र लिँदैनन्, सानो झोलाको पनि यात्रुकै जति भाडा लिन्छन्,' उनले भने, 'जति मागे, उति नदिनुको विकल्प छैन।'

सुदूर पहाडको पुरानो नाका झुलाघाट कर्णाली पुल बन्नुअघि नेपालका अन्य ठाउँ र भारतीय सहर पस्ने एउटै नाका हो। पछिल्लो समय चहलपहल केही कम भए पनि पिथौरागढ, कुमाउ, गढवाल, लुहाघाट, चम्वावतलगायत जिल्लामा मजदुरी गर्न गएकाहरु अधिकांश अझै यही बाटो ओहोरदोहोर गर्छन्। बैतडी, बझाङका व्यपारी भारतीय सामान यतैबाट भिœयाउँछन्।

जिल्ला प्रशासन कार्यालयले जिल्लाका सडकमा चल्ने सवारीसाधनको भाडादर निर्धारण गरेको छ। तर, व्यवसायीले अधिक भाडा लिने गरेको गुनासो छ। खास गरी भिडभाड बढ्ने चाडपर्वको समयमा आम यात्रु बढी भाडा तिर्न बाध्य हुने गरेका छन्।

प्रशासनले भने बढी भाडा लिने यातायात साधनमाथि कारबाही गर्ने बताउँदै आएको छ तर बढी भाडा लिएको उजुरी नआउने गरेको प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले बताए।

'जिल्लामा बढी भाडा लिएको गुनासो मात्रै आउँछ, 'मबाट यति रुपैयाँ बढी लियो' भनेर उजुरी गर्न कोही आउँदैनन्,' उनले भने, ‘भाडादरभन्दा बढी लिएको उजुरी आए तत्काल एक्सनमा जान्छौँ।’

बढी भाडा तिरे पनि विरोध गरेर अनावश्यक झमेलामा फस्न प्रायः यात्रु चाहँदैनन्। बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्ट भन्छन्, 'बझाङ जाने यात्रुले गोठालापानीमा पुगेर 'मबाट बढी भाडा लिइयो' भनेर कसरी उजुरी गरोस्,' उनले भने, 'त्यही जिपमा उसले घरमा पुग्नुपर्ने हुन्छ।’

यात्रु थपिन्छन्, गाडी थपिन्नन्

प्युठानमा सार्वजनिक यातायात सञ्चालनका लागि एक मात्र यातायात समिति छ। सडकमा एकाधिकार हुँदा जिल्लामा उसको मनपरी छ। दसैंमा जिल्लाबाट बाहिरिने र जिल्लामा भित्रिने यात्रुको चाप अधिक हुन्छ तर गाडी भने थपिँदैनन्।

समितिका महासचिव चन्द्रमान श्रेष्ठ डिलक्स बस सञ्चालनमा प्राविधिक कुरा नमिल्दा ढिलाइ भएकाले सवारी असुविधा भएको बताउँछन्। उनका अनुसार हाल समितिमा ९२ बस, ३२ जिप, ५ हाइस र ५ म्याजिक जिप आबद्ध छन्।

प्युठानका ग्रामीण सडकमा रुट परमिट नभए पनि दसैंको मौका छोप्दै यातायात व्यवसायी यात्रु बोकेर सवारी हाँकिरहेका छन्। जिल्लाका १७ ग्रामीण सडकलाई अस्थायी परमिट दिइए पनि भर्खरै ट्रयाक खोलिएका करिब दर्जनबढी बाटोमा जिप चलाइरहेका छन्। दसैं नजिकिँदै गर्दा जोखिमयुक्त ग्रामीण सडकमा स्थानीय जिपवाला झनै उत्साही देखिन्छन्। ग्रामीण क्षेत्रमा सञ्चालन हुने जिपले क्षमताभन्दा तेब्बर यात्रु कोचेर लैजाने गरेका छन्। उनीहरुले एक सिटमा दुई जना र छतमा भरिभराउ यात्रु ओसार्दा पनि प्रहरी नदेखेझैं गर्छ। ठाउँ–ठाउँमा रहेका प्रहरी चेकपोस्टमा सवारी दर्ताबाहेक अन्य काम हुँदैन।

अहिले गाउँमा जान पर्याप्त सवारीसाधन छैनन्। यातायात व्यवसायीले यही मौका छोपेर क्षमताभन्दा बढी यात्रु हाल्छन्। यात्रु शमशेरविक्रम जिसीले एउटै सिटका लागि दुइटा टिकट काट्दा यात्रुलाई असहज हुने गरेको सुनाउँछन्। प्युठानबाट नारायणघाट जाँदा बाग्दुलामा एउटै सिटका लागि दुइटा टिकट दिइएको गुनासो गरे।

मनपरी भाडा

रुकुममा यातायात व्यवसायीले मनपरी भाडा असुलिरहेका छन्। यसको मारमा सर्वसाधारण यात्रु परेका छन्। एक वर्षअघि जाङका वीरभान रुकुमकोटबाट सदरमुकाम आउँदा ३ सय ५० रुपैयाँ तिरेका थिए। पछिल्लोपटक आउँदा भने ४ सय तिरे।

चाडपर्वका बेला यात्रु थप शोषणमा पर्ने गरेका छन्। एकातिर चर्को भाडा, अर्कोतिर जोखिमपूर्ण यात्रा, ग्रामीण सडकमा यात्रा गर्ने यात्रुलाई दसैंमा निकै सास्ती हुने गरेको छ। हुकामका धर्मजित बुढाले दसैं नजिकिँदै जाँदा चिन्ता बढ्न थालेको सुनाए। 'गाडीले जति मन लाग्यो, त्यति भाडा असुल्छन्, मान्छे पनि कोचेर हाल्छन्,' उनले भने, 'उनीहरुलाई कसले रोक्ने?'

यातायात व्यवसायीले जेठदेखि आफूखुसी भाडा बढाएका हुन्। दुरी हेरेर १० देखि एक सय रुपैयाँसम्म भाडा बढाइएको रुकुम यातायात प्रालिका काउन्टर इन्चार्ज कृष्णबहादुर शाहीले बताए।

ग्रामीण सडकमा रुट परमिट कायम नभएकाले यातायात व्यवसायीले आफूखुसी भाडा लिने गरेको सानोभेरी यातायात सेवा समितिका अध्यक्ष मानबहादुर चदाराले बताए। सदरमुकामबाट रुकुमकोटका लागि छुट्ने जिपले एक किलोमिटरको १५ रुपैयाँसम्म अुसल्ने गरेका छन्। गाराघाटदेखि आठबिसकोटसम्मको १८ किलोमिटर सडकमा स्थानीय २ सय ४० रुपैयाँ असुल्ने गरिएको छ।

यातायात व्यवसायीले आफूखुसी भाडा तोक्दा पनि प्रशासन भने मौन छ। अनुमगन गर्ने निकाय मौन बस्दा व्यवसायीले चर्को भाडा लिइरहेको यात्रुको गुनासो छ। जिल्ला प्रशासन कार्यालयमा स्थानीय रुटहरुको भाडादर तोकिएको फाइल नै छैन।

थन्किए निजी गाडी

कालिकोटमा जिल्ला प्रशासन कार्यालयले दसैंको मौकामा हालिमुहाली गर्ने रातो प्लेटका निजी गाडी सञ्चालनमा प्रतिवन्ध लगाएको छ। निजी तथा सार्वजनिक यातायातले गरिरहेको अस्वस्थ प्रतिस्पर्धा हटाउन यस्तो निर्देशन गरिएको प्रशासनले जनाएको छ।

अन्य जिल्लाबाट आवतजावत गर्ने रातो प्लेटका गाडी कालिकोट खण्डमा सञ्चालन भए पनि जिल्लामा रहेका यस्ता गाडीलाई यात्रु ओसार्न दिइएको छैन। यस्ता ३० गाडी अहिले बजारमै थन्किएका छन्। रातो प्लेटका गाडीले चर्काे भाडा उठाएर यात्रुलाई ठग्दै आएका थिए। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले गृहमन्त्रालयको निर्देशनमा दसैंमा यातायात सेवा व्यवस्थित गर्न लागिएको बताए।

प्रशासनले सार्वजनिक यातायातमा भाडादर पनि तोकेको छ। जुम्ला–सुर्खेत सडकमा नौ सय २८ रुपैयाँ कायम गरिएको छ। यसअघि भाडादर नतोकिएकोले व्यवसायीले मनपरि रुपमा भाडा उठाउँथे। मध्यपश्चिम यातायात व्यवसायी संघका इन्चार्ज राजु कार्कीले पहिला प्रशासनले भाडादर नतोकेकाले अस्वस्थ प्रतिस्पर्धा भएको स्विकारे। 'अब त्यस्तो हुँदैन,' उनले भने, 'सरकारी भाडामै यात्रुले सेवा पाउँछन्।' २०६३ मा सञ्चालनमा आएको कर्णाली राजमार्गमा दैनिक करिब सय सवारी आवतजावत गर्छन्।

(पवित्र शाही– कालिकोट, टेकेन्द्र बस्याल– कोहलपुर, बिरा गडाल– बैतडी, गणेश बिक– रुकुम)

प्रकाशित: ८ आश्विन २०७३ ०१:५६ शनिबार

उफ महँगी उस्तै सास्ती