९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

मानव बेचबिखन आरोपमा पक्राउ जोडीमाथि म्याद थपेर अनुसन्धान

बेचबिखन आरोपमा पक्राउ परियार र नजिर।तस्बिर: महेश्वर

मानव बेचबिखन आरोपमा प्रहरीले एक जोडी महिला–पुरुषलाई पक्राउ गरेको छ।

स्थानीय ३ जना महिलालाई प्रलोभनमा पारेर बेचबिखन गर्न खोजेको आरोपमा जिल्लाको चौदण्डीगढी नगरपालिका २ की ४० वर्षीया कुमारी परियार र मधेस प्रदेश, सप्तरीको कन्चनरुप नगरपालिका ८ का २७ वर्षीय मोहम्मद नजिर पक्राउ परेका हुन्।

परियारले आफ्नै वडाका ३ महिलालाई ५ फिट ५ इन्च उचाइसहितका  विभिन्न मापदण्ड भएका युवतिलाई १० लाखसम्म दिने आर्थिक प्रलोभन दिँदै झुकाएर ट्याम्पोमा चढाई कन्चनरुप ८ स्थित नजिरको ग्यारेज भएको घरसम्म लगेर बेच्न खोजेको प्रहरी भनाई छ। ग्यारेज पुगेपछि वास्तविकता बुझ्न खोज्दा अर्को ठाउँ लान खोजेपछि युवतिहरूले आफूलाई बेच्न लागेको आशंका गर्दै भागेर घर आएका थिए।

२५ गते कन्चनरुप पुराइएका उनीहरु भागेर घर फर्की आएपछि परिवारले २६ गते इलाका प्रहरी कार्यालय बेलटारमा कुमारीविरुद्ध उजुरी दिएको आधारमा परियार र नजिर पक्राउ परेका हुन्। पक्राउ परेका दुवैलाई इप्रका बेलटारमा राखेर अनुसन्धान  गर्ने क्रम भइरहेको छ।

पक्राउ दुवैलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर मानव बेचबिखन अपराधको कुसुरमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी राकेश पोदारले बताएका छन्।

प्रकाशित: २८ माघ २०७९ ११:१२ शनिबार

मानव बेचबिखन