९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

चितवन राष्ट्रिय निकुञ्जभित्रकै सिमसार संकटमा

नवलपरासी (बर्दघाटपूर्व) अमलटारीस्थित चितवन राष्ट्रिय निकुञ्जभित्र आठ हेक्टरमा फैलिएको देवीताल पानीले भरिएको हुन्थ्यो। यस तालमा गैंडालगायतका जंगली जनावर आहाल खेल्थे, तर हिजोआज विगतजस्तो न यहाँ ताल देख्न सकिन्छ न त जंगली जनावर नै।

अहिले यो ताल पोखरीमा रूपान्तरण भएको छ। ‘२०६५ सम्म यस तालमा चराचुरुंगी प्रशस्त पाइन्थ्यो। वन्यजन्तु हुन्थे’, अमलटारी उपभोक्ता समितिका अध्यक्ष केदारनाथ घिमिरेले भने, ‘त्यति विशाल ताल अहिले घाँसे मैदानजस्तै भएको छ। जलकुम्भी फुलले ढाकेको छ। ताल तालमा रहेन। विगत जस्तो वन्यजन्तु पनि देखिँदैन।’ देवी ताल मात्रै होइन, उनको घरनजिकैका घोल पनि सुक्ने अवस्थामा छ। ‘चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरका उल्टौली र छोडछाडी घोलमा हामीले वस्तुभाउ चराउन लैजान्थ्यौं। घोलमा वस्तुले पानी खान्थे आहाल बस्थे’, उनले भने, ‘२०४४ सालमा यस ठाउँमा आउँदा पानी प्रशस्त हुन्थ्यो। अहिले पानी देख्न मुस्किल हुन्छ।’

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेका सिमसार क्षेत्र जोखिममा पर्दै गएका छन्। मानवीय गतिविधि तथा प्राकृतिककरण पनि निकुञ्जभित्रका सिमसार क्षेत्र जोखिममा परेका हुन्। किसानले प्रयोग गर्ने रासायनिक मल र विषादी, उद्योगधन्दाबाट निस्कने प्रदुषण, जथाभावी नदीमा फाल्ने फोहोर, मानव विस्तार र मिचाहा प्रजातिका वनस्पतिका कारण सिमसार क्षेत्र संरक्षणमा चुनौती थपिएको उनले बताए।

चितवन उपत्यकाका ८३ वटा सिमसार क्षेत्रमध्ये ५८ वटा सिमसार क्षेत्र जोखिममा रहेको काठमाडौं विश्वविद्यालय जलीय पर्यावरण केन्द्रका पूर्व प्राडा सुबोध शर्माले बताए।

उनका अनुसार ५८ मध्ये १६ वटा ताल पूर्ण रूपमा सुक्ने अवस्थामा पुगेका छन्। जोखिमा परेका सिमसार क्षेत्रमध्ये निकुञ्जभित्रकै बढी रहेको उनले बताए। ‘निकुञ्जभित्र ३७ र मध्यवर्ती क्षेत्रमा २१ वटा सिमसार छन्। तीमध्ये निकुञ्जभित्रका १२ वटा सिमसार लोप हुने अवस्थामा छन्। नराम्रो अवस्थामा मध्यवर्तीका २ वटा मात्र छन्’, उनले भने, ‘मकवानपुर र राप्ती नदीमा जथाभावी ढुंगा गिटी बालुवा दोहन हुँदा निकुञ्जका सिमसार क्षेत्र सुक्दै गएका हुन्।’ निकुञ्जभित्रका तालतलैयामा ढुंगा गिटी, बालुवा थुप्रने क्रम बढ्दै जाँदा तालतलैया सुक्दै गएका हुन्।

चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका नन्दभाउजू ताल, खोरसोरको बोबताल, चप्पर चुली घोल, सिजेएल घोल, देवी ताल, श्रीताल, गैंडाखाम घोल, इचेली घोल, कुचकुचे घोल, कुमरोज घोल, लगुना ताल, मचौली घोल, मर्डिघोल, चिसापानी घोल, सिंगे ताल सुक्न थालेका छन्। १९ वटा ताल राम्रो अवस्थामा रहेको शर्माले बताए। उत्कृष्ट अवस्थामा पाँचवटा ताल रहेको उनले पेस गरेको कार्यपत्रमा उल्लेख छ। उनका अनुसार बोप ताल, बुढीराप्ती, मण्डताल, बाघमार ताल, टेम्पल टाइगर घोल उत्कृष्ट अवस्थामा छन्।

वन क्षेत्रभन्दा तीन गुणा सिमसार क्षेत्र हराउँदै गएका छन्। ‘१७०० को दशकदेखि हालसम्म ८० प्रतिशत सिमसार क्षेत्र गायब भएका छन्’, उनले भने, ‘मानवीय कारण सन् १९७० देखि यता ३४ प्रतिशत सिमसार क्षेत्र हराएको छ।’ अहिले सिमसार क्षेत्रमा खेतीपाती विकास निर्माणका कारण पनि मासिएका छन्। जसले सिमसार क्षेत्रको इकोसिस्टममा नोक्सान पुर्‍याइरहेको छ। सिमसार मासिँदै जाँदा संरक्षित वन्यजन्तु चलचर घडियाल, डल्फििनलगायतलाई असर गरेको छ।

अहिले चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुले आफ्नो बासस्थान समेत परिवर्तन गरेको उनले उनको भनाइ छ। ‘अहिले गैंडाले आफ्नो मार्ग परिर्वतन गरेको छ। निकुञ्जभित्र पिउने पानी नभएर बाहिर आइरहेका छन्’, उनले भने, ‘वन्यजन्तुको वासस्थानलाई सुरक्षित बनाउन सिमसार क्षेत्र संरक्षण गर्न जरुरी छ।’

चितवन निकुञ्जले भने संरक्षणमा ध्यान दिएको बताएको छ। अहिले सिमसार क्षेत्रको महत्वबारे जनचेतना जगाउँदै फोहोरमैला प्रदुषण नियन्त्रण गर्न विशेष ध्यान दिइएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले दिए। ‘हामीले मात्रै गरेर हुँदैन, ताल सरसफाइ गर्ने काम गरेकै छौं, तर निकुञ्जले मात्र गरेर पनि हुँदैन’, उनले भने, ‘यसका लागि स्थानीय स्तरमै जनचेतना जगाउने काम भइरहेको छ।’

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले महानगरको क्षेत्रभित्र रहेका सिमसार क्षेत्र संरक्षण र सम्वर्द्धनका लागि महानगरपालिका लाग्ने बताएकी छन्।

प्रकाशित: २५ माघ २०७९ ०१:०१ बुधबार

सिमसार क्षेत्र जोखिममा वन क्षेत्रभन्दा तीन गुणा सिमसार क्षेत्र हराउँदै