९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

संगठित तस्करीको केन्द्र बन्दै मधेस प्रदेश

हनुमाननगर कंकालिनी नगरपालिकाको गोबरगाढा हुँंदै मदिराका बोतलले भरिएका बोरा घोडालाई बोकाएर भारततिर तस्करी गरिँदै। तस्बिर: नागरिक

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित सशस्त्र प्रहरीको अस्थायी पोस्ट गोविन्दपुरका इन्चार्ज (असई) सत्यनारायण यादवको शव भारतको मधुवनी जिल्लामा पर्ने घोरदह खोलामा फेला पर्‍यो। यादव तस्करविरुद्ध लागेपछि सहकर्मी प्रहरी जवानकै मिलेमतोमा उनको हत्या भएको आशंका छ। यादवको हत्यामा संलग्न आरोपमा सशस्त्र प्रहरी जवान होमबहादुर खत्री पक्राउ परिसकेका छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार खत्री कारबाहीस्वरूप सहायक हवलदारबाट घटुवा भएका थिए।

असई यादवको हत्यामा खत्रीसमेतको संलग्नता रहेको अनुसन्धान स्रोत बताउँछ। छिन्नमस्ताको मोहनपुर सुन, सुपाडी, छोकडा, स्याउ, मटर, मरिच र मदिरा तस्करीका लागि सुरक्षित नाका हो। उक्त नाका भएर हुने तस्करी रोक्न यादव लागेपछि यो धन्दामा सघाउँदै आएका जवान खत्री बिच्किएको स्थानीय बताउँछ। यादव सीमानाकाबाट हुने तस्करी र अवैध कारोबारको विपक्षमा थिए। ‘खत्री माथिल्लो कमान्डका लागि तस्करसँग सेटिङ मिलाउने गर्थे,’ एक स्थानीयले भने, ‘भित्री कुरा त थाहा भएन तर असई यादवको हत्याको कारण तस्करीसम्बन्धी विवाद नै हुनुपर्छ।’

यो घटनापछि सशस्त्र प्रहरीका सप्तरी प्रमुख (एसपी) प्रदीप खड्का मुख्यालय तानिए। केही दिन उक्त नाकाबाट तस्करी रोकिए पनि पुनः सुरु भएको स्थानीय बताउँछन्। विभिन्न सामान तस्करी हुने सप्तरीको अर्को नाका हो, हनुमाननगर कंकालिनी नगरपालिका–१३ स्थित गोबरगाढा टापु। यो नाकाबाट दैनिक मदिरा तस्करी हुन्छ। दिनभरि तस्करीको मदिरा ढुवानी गरी डुंगा चल्ने ठाउँसम्म भण्डारण गरिन्छ। रातिराति उक्त नगरपालिकाका ६ र ८ नम्बर वडाका किलो नौंज (डुंगा खुल्ने ठाउँ) बाट डुंगामा राखेर गोबरगाढा टापुसम्म मदिरा पुर्‍याइन्छ। र, त्यहाँबाट मदिराका कार्टुन बोरामा राखी घोडामार्फत भारततर्फ तस्करी गरिन्छ। हनुमाननगरका एक स्थानीयका अनुसार यो धन्दा त्यहाँका लागि नौलो होइन, सदाबहार हो। यता (वारि) सय रूपैयाँ मूल्य पर्ने मदिरा पारि (भारत) पुर्‍याउँदा हजारमा बिक्छ,’ तस्करीमा संलग्न एक कारोबारीले भने, ‘पारि मदिराको मूल्य मनपरी छ।’

तस्करी फस्टाएको सप्तरीको अर्को नाका हो, बेल्ही। उक्त नाकाबाट छोकरा, स्याउ, सुन पारि तस्करी हुन्छ भने पारिबाट दैनिक उपभोग्य वस्तुसँगै लत्ताकपडा भित्रिने गरेको सीमावासी बताउँछन्। तस्करीका लागि सप्तरीका हनुमाननगर, कंकालिनी, कुनौली, छिन्नमस्ता बरसाइन नाका उर्वर छन्। हुनमाननगरबाट कोसी नदी हुँदै डुंगामा मदिराका बोरा राखेर भारततर्फ पुर्‍याउन तस्करहरूको संगठित सञ्जाल नै परिचालित छ। तस्करसँग तालमेल नमिल्दा प्रहरी र सशस्त्र प्रहरीले बेलाबेला बेवारिसे मदिरा बरामद गर्छ। तस्करको संगठित सञ्जालसम्म पुग्न प्रहरी सकेको छैन।

दुई साताअघि भारतको जयनगरबाट प्रहरीले मदिरा लोड भएका ११ वटा मोटरसाइकल बरामद गर्‍यो। कमला नदीको पश्चिमी तटबन्ध हुँदै जयनगरको काली मन्दिरनजिक पुग्दा प्रहरीलाई देखेपछि मोटरसाइकल चालक भागे। मोटरसाइकल सडकमै छोडेर चालक फरार भएपछि प्रहरीले जाँच गर्दा मदिराका कार्टुन राखिएका बोरा बरामद भएको जयनगरका डिएसपी विप्लव कुमारले बताए।  

कमला नदीको पश्चिमी तटबन्धको बाटो मदिरा तस्करका लागि सुरक्षित मानिन्छ। कमला नदी धनुषा र सिरहाको सीमानदी हो। यस नदीको पूर्वी तटबन्ध सिरहातर्फ छ भने पश्चिमी तटबन्ध धनुषामा पर्छ।

जयनगर पुलिस अधिकारीका अनुसार नेपालबाट भारततर्फ मदिरा तस्करी गर्ने थुप्रै मानिस र सवारीसाधन नियन्त्रणमा छन्। धेरैजना अझै थुनामै छन्। तर नेपालबाट भारततर्फ मदिरा तस्करी रोकिनु त परको कुरा, झन्झन् बढ्दो छ। भारतको बिहार सरकारले त्यहाँ मदिरा निषेध गरेको छ। जसका कारण नेपालबाट सीमावर्ती भारतीय गाउँसहरमा मदिरा तस्करी हुँदै आएको छ। सीमा जोडिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साका विभिन्न नाकाबाट भारततर्फ मदिरा तस्करी गर्नेको जालो संगठित छ।

मदिरा तस्करलाई नेपाली सुरक्षाकर्मीभन्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय पुलिससँग त्रास हुन्छ। मदिरा तस्कर वारि बसेर पारिका एसएसबी र पुलिस नियाल्छन्। मौका मिल्नासाथ मदिरा सीमा कटाउँछन्। कतिपय नाका क्षेत्रमा मदिरा तस्करले एसएसबीसँग मिलेमतो गरेको सीमाक्षेत्रका बासिन्दा बताउँछन्। सीमानाका क्षेत्रका बालकदेखि युवकसम्मले भरिया बनेर मदिरा सीमापारि पुर्‍याउँदै आएको स्थानीय बताउँछन्।

सिरहाको ठाँढी, सप्तरीको गोबरगाढा, कोसीपलार, धनुषाको जटही, महोत्तरीको सम्सीलगायत सीमावर्ती क्षेत्रका दर्जनौं चोर बाटो हुँदै मदिरा, मटर र मरिच तस्करीमा वृद्धि भएको छ। मदिरा, मरिच, मटरको तस्करी टाउकोमा बोकेर र मोटरसाइकलको प्रयोग गरेर भइरहेको पाइएको छ। सिरहाको ठाँढी र अभयनगर नाकाबाट संगठित रूपमा खसीको तस्करी भइरहेको छ।  

सीमाक्षेत्रका बासिन्दा तस्कर र तस्करी हुने सामानबारे खुलेर बोल्न चाहँदैनन्। कारण मुख खोल्नेलाई ज्यानकै जोखिम छ। कसैले मुख खोल्न खोजे पहिला पैसाले चुप लगाउन खोजिन्छ, नमाने धम्क्याएर चुप लागाइन्छ। तीन ‘म’ (मदिरा, मटर, मरिच) तस्करहरूको बलियो र खतरनाक सञ्जाल छ।  

भारतबाट लत्ताकपडालगायत सामान वारि तस्करी गर्न मधेस प्रदेशका सीमानाका सुरक्षित मानिन्छन्। पछिल्लो समय पर्साका सीमानाकाबाट पनि तस्करी भइरहेको छ। पर्साको अमरपट्टी र भिस्वा नाकाबाट तस्करी बढ्दो छ। गत असार २९ गते रक्सौलको भेलाहीको कुकुहियाँ गाउँ हुँदै ल्याउन लागिएका तस्करीका सामान रोक्न खोज्दा एसएसबीसँग तस्करको झडप भएको थियो। तस्करको समूहले एउटा पिकअप गाडी, पाँचवटा ठेला र चारवटा साइकलमा कपडा लोड गरी भेलाही नाका हुँदै वारि ल्याउने क्रममा एसएसबीका जवानले नेपाल–भारत सीमापरै रोकेका थिए। २८ पोका कपडा, ठेला र बिआर०६जी ९७१९ नम्बरको पिकअप गाडीलाई एसएबीले नियन्त्रणमा लिएपछि तस्करहरूले आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन एसएसबीले हवाई फायरिङ गर्नुपरेको थियो। झडपमा एसएसबीका तीन जवान घाइते भएका थिए।

रक्सौलको भेलाही नाका हुँदै पर्साको अमरपट्टी र भिस्वा नाकाबाट ठुलो परिमाणमा भन्सार छलीका कपडा, मोटरपार्ट्सलगायत सामान भित्रिने गरेको प्रमाण हो यो। वारिका सुरक्षा अधिकारीसँग सेटिङ मिलाएर हुने तस्करीलाई एसएसबीले रोक्न खोज्दा तस्कर जाइलाग्छन्। सीमा नाकाबाट भित्राइने भन्सार छलीका कपडालगायत सामान वीरगन्जको गोदाममा राखेर कारोबारीले देशका विभिन्न सहरमा पुर्‍याउँछन्।

सीमावर्ती क्षेत्रमा तस्करको सञ्जाल शक्तिशाली छ। एक महिनाअघि भारतको मधुवनी जिल्ला दलनिया प्रहरी चौकीअन्तर्गत जोगिया गाउँमा नेपालबाट मदिरा लगेको जिपलाई रोक्न खोज्ने सशस्त्र सीमा बलका हेड कन्सटेबल देवराज शर्मालाई सोही जिपले किचेर मारेको थियोे। शर्मा मधुबनी जिल्लाको राजनगर राज कम्प्लेक्समा रहेको १८औं बाहिनी मुख्यालय राजनगरअन्तर्गत आराहा बिओपीमा हेड कन्सटेबल पदमा कार्यरत थिए। उक्त घटनापछि केही दिन रोकिएको मदिरा तस्करी पुनः सुरु भएको छ। मिलेमतोमा यो धन्दा चलिरहेको छ। ‘हामी बोल्यौं भने ज्यानको जोखिम छ,’ सीमावर्ती अभयनगरका एक स्थानीयले भने, ‘हामी मात्र होइन, सीमाञ्चलका अधिकांश मानिस तस्करको डरले बोल्न सक्दैनन्।’

आँखैअगाडि मदिराको तस्करी हेर्दाहेर्दै आजित भइसकेको बताउने धनुषा जटहीमा भेटिएका अमर यादव भन्छन्, ‘नियन्त्रण गर्ने निकायले नै आँखामा पट्टि बाँधेर बसेपछि हामीले कसरी रोक्न सक्छौं। भारतीय सहर जयनगरअन्तर्गत प्रहरी र सशस्त्र सीमा बलले मदिरा र मदिरासहित मानिस नियन्त्रणमा लिने घटना उक्त क्षेत्रका मानिसका लागि सामान्य खबर हुन लागेको छ।  

धनुषा, महोत्तरी, सप्तरी, सिरहा, रौतहट, सर्लाही, बारा र पर्सा जिल्लाका सीमा नाकामा तस्करको राज छ। सप्तरीको बेल्ही, छिन्नमस्ता, कुनैली, गोबरगाढा, बरसाइन, सिरहाको ठाढी, माडर र बरियारपट्टी, धनुषाको मैनाथपुर, भररिया, खौना, जटही, इनर्वा, दुहबी, अकौरा, दिबदिहा, खजुरी, महोत्तरीको सम्सी, इटहर्वाकटी, मरुवाही, मटिहानी, जलेश्वर, भिठामोड, सर्लाहीको लक्ष्मीपुर, छतोनाओकास, बलरा, अर्नाहा, मधुवनी, बहादुरपुर, बाराउधोरन, तेनहारा, मलंगवा, लचका, त्रिभुवननगर, नारायणपुर, पर्सा, रौतहटको बंकुल, सरमुजवा, रामपुरखाप, लक्ष्मनपुर बेलबिचवा, सेरवाब्रहमपुर, बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक र पर्साको इनर्वा, छपकैया, अलौ, अमरपटी, परसौनी, खेस्राहा, सबैठबा, भिस्वा, टिहुकी, मिर्जापुर, जानकी टोला, विजयवस्ती, ठोरी नाका पनि तस्करका लागि सुरक्षित मानिन्छन्। यी नाकाबाट पछिल्लो समय मदिरा, मरिच, मटर, सुन, छोकरा पारि तस्करी हुने र पारिबाट दैनिक उपभोग्य सामानसहित लत्ताकपडा र मोटरपार्टस वारि तस्करी हुने गरेको छ। सुरक्षाकर्मी र भन्सार कर्मचारीसँगको सेटिङमा तस्करको संगठित सञ्जालमार्फत सीमा वारिपारि तस्करी फस्टाउँदो छ।

यता, मधेस प्रदेश प्रहरी प्रमुख (डिआइजी) मसाउद आलम खाँ सीमानाकामा कडाइ गरिएको दाबी गर्छन्। उनी प्रदेश प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी चोरीतस्करी नियन्त्रणमा थप कडाइ अपनाइएको बताउँछन्। मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरको विशेष टोलीले पर्साको छिपहरमाई गाउँपालिकाबाट २३० क्विन्टल गहुँसहित एउटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ।  

यता, तस्करी नियन्त्रणमा सक्रियता नदेखाएको र आर्थिक अनियमितताको आशंकामा सशस्त्र प्रहरी बल मुख्यालयले १२ नम्बर गण (बारा) हेडक्वार्टरका प्रमुख (एसपी) राजेन्द्र थापा र १३ नम्बर गण(पर्सा) हेडक्वार्टरका प्रमुख (एसपी)तेजप्रसाद पोखरेललाई तानिसकेको छ। यी दुई जिल्लाका सशस्त्र प्रहरी उपरीक्षक(एसपी) तानिए पनि तस्करी रोकिएको छैन। मंसिर १९ गते ना३ख ७०५२ नम्बरको ट्रक वीरगन्ज १५ बाट नियन्त्रणमा लिएर अनुसन्धानका लागि पथलैया पठाइएको थियो। मधेस प्रदेशको पर्सा, बारा, रौतहट र सर्लाही तस्करीको हब बनेपछि सशस्त्र प्रहरी बल मुख्यालयले सशस्त्र एसपी उद्धव रावलको नेतृत्वमा विशेष अनुगमन टोली नै खटाएको थियो।

यता, सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जुन क्षेत्रबाट तस्करीको मालसामान ओहोरदोहोर भएको जानकारी आउँछ, त्यस युनिटका इन्चार्जलाई बाहिनीमै तानेर कारबाही गर्ने बताए। तस्करी नियन्त्रणमा कुनै कसर बाँकी नराखिने उनको भनाइ छ। 

प्रकाशित: ९ पुस २०७९ ००:३६ शनिबार

मधेस प्रदेश