खाँडाचक्र नगरपालिकाका प्रशासन शाखा प्रमुख अबिराज शाहीमाथि छानविन गर्न माग गरिएको छ।
नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले शाहीमाथि छानविनकाे माग गर्दै नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र बुझाएका छन्। शाहीले श्रीमती प्रगती ठकुरीलाई नियुक्ती दिएर जागिर खुवाएको विषयको समाचार नागरिक दैनिकमा आएपछि उनीमाथि छानविन गर्न माग गरिएको हो।
‘खाँडाचक्र नगरपालिका प्रशासन शाखा प्रमुखमा कार्यरत अबिराज शाहीले आफ्नो श्रीमतीलाई आफैं नियुक्ती दिएर जागिर खुवाएको विषय र २०७८ फल्गुन १ गतेबाट तलव पाउने गरी आफ्नो श्रीमती प्रगती ठकुरीलाई नियुक्ती गरी हाजिर आफंै लगाई असोज सम्मको तलव आफैं बुझेको विषयमा ध्यानाकार्षण गर्दै यसरी जिम्मेवार व्यक्तीबाट गैर कानुनी रुपमा काम गर्ने शाखा प्रमुख अबिराज शाहीलाई कानुनी कार्वाही गरी दुरुपयोग गरिएको राज्यको सम्पती असुर उपर गर्न गराउन माग गदैछौं।’, हिक्मतजंग मल्ल र सुनिल शाहीद्वारा लेखिएको पत्रमा भनिएको छ।
अघिल्लो सरकारले नियुक्ती गरेको करार कर्मचारीलाई हटाउने र नयाँ कर्मचारी भागबण्डाको आधारमा नियुक्ती गरेको निर्णय विरुद्घ कर्मचारी संगठनले विज्ञप्ती निकालेर ध्यानाकार्षण गराएको थियो।
शाहीले २०७८ साल फागुन १ गते बाट तलव पाउने गरी सामाजिक परिचालक तह पाँचौमा ठकुरीलाई नियुक्ती दिएर आफैं हाजिर गर्ने र तलव भत्ता श्रीमतीको खातामा जम्मा गरेका थिए।
अबिराज शाहीले भने नगरप्रमुखको तोक आदेशमा श्रीमती ठकुरीलाई नियुक्त गरिएको दावी गर्दै कुनै पनि गैरकानुनी नभएको बताएका छन्।
लेखा शाखा प्रमुख धिरवहादुर शाहीले भने आफूलाई नियुक्ती पत्र आएकाले ८ महिना अर्थात् २०७८ साल फागुन देखि २०७९ साल असोज सम्मको तलव निकासा गरेको बताए।
अनेरास्ववियुका युवा नेता हिक्मतजंग मल्लले यो विषय छानबिनको लागि माग गरेको र अब छिटै छानबिन हुने बताएका छन्।
प्रकाशित: ८ पुस २०७९ ०७:४८ शुक्रबार