३ मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

लिम्चुङबुङका जनप्रतिनिधि जनता भेटघाट अभियानमा

उदयपुरको विकट पहाडी लिम्चुङबुङ गाउँपालिकाले वडाका बस्तीसम्म पुगेर जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष भेटघाट र सवाल जवाफ गराउने अभियान थालेको.छ। जनतासँग प्रत्यक्ष भेटघाट गरेर उनीहरुको वास्तविक समस्याबारे जानकारी लिने र चालु योजनाको स्थलगत निरीक्षण गर्दै अघि बढ्न यो अभियान थालिएको हो।  

गाउँपालिकाले ‘हामी मिलेर गाउँको विकास गर्छौँ’ भन्ने नारा तय गर्दै अभियान थालेको जनाएको छ। अभियान अन्तर्गत सबै वडाका प्रत्येक टोल विकास संस्थासम्म जनप्रतिनिधि पुगेर जनतासँग भेटघाट गरी उनीहरुको सुख, दुःख बुझ्ने, समस्या पहिचान गर्ने र समाधानको उपायबारे उनीहरुसँगै छलफल गर्ने कार्यक्रम बनाइएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङले बताए।  

गाउँपालिका अध्यक्ष मेजरकुमार राईको नेतृत्वमा रहेको अभियान टोलीमा उपाध्यक्ष पुष्पलाल राई, विषयगत शाखा प्रमुख तथा सम्बन्धित कर्मचारीहरु पनि सहभागी हुनेछन्। टोली हरेक वडा पुगेर वडाभित्र गठित प्रत्येक टोल विकास संस्थाको कार्यालयको निरीक्षण गर्ने, त्यहीँ बसेर स्थानीयसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम छ। टोल विकास संस्थामा आबद्ध जनतालाई उनीहरुकै कार्यालयमा भेला गराई टोलीले वास्तविक समस्या के के हुन्, र समाधानका लागि के गर्नुपर्छ भनेर जनतासँगै छलफल गरी राय सुझाव संकलन गर्ने  गुरुङले बताए।

‘जनप्रतिनिधिहरु पनि जनता भेट्न जानुपर्छ, खाली जनता मात्र गाउँपालिका धाई धाई भेट्न आउने होईन नि’, अधिकृत गुरुङले भने, ‘त्यसैले यो नयाँ खालको कार्यक्रम गर्नुस् भनेर अध्यक्ष र उपाध्यक्षज्युृलाई अनुरोध गरे बमोजिम योजना बनेको हो।’ लिम्चुङबुङ गाउँपालिकाले गरेको यस्तो कार्यक्रम अन्य स्थानीयतहहरुले पनि गरुन् भन्ने उदेश्य रहेको उनले बताए।  

जनतासँग प्रत्येक्ष भेटघाट, साक्षात्कार र अन्तक्रिया गर्दा उनीहरुको पनि आत्मसम्मान बढ्ने तथा त्यहाँको वास्तविक बस्तुस्थिति, यथार्थ समस्या पत्ता लगाएर समाधान गर्न आवश्यक बजेट तर्जुमा गर्न पनि सहज हुने गुरुङको भनाइ  छ। जनप्रतिनिधिहरु चुनावमा भोट मात्र माग्न आउने होईन रहेछ, भेट्न पनि आउँदा रहेछन् भन्ने महसुस जनताले गर्ने हुँदा यो कार्यक्रम फलदायी हुने उनलाई लागेको छ।

वडा र बस्तीसम्म खट्दा जनप्रतिनिधिहरुले चालु योजनाको कार्यान्वयन राम्रो छ छैन भन्ने कुरा प्रत्यक्ष आँखाले देख्न र सुन्न पाउने अवसर पनि यो कार्यक्रमले दिनेछ।  गाउँपालिकाले चालु वर्ष सञ्चालित योजनाको अनुगमन गर्न यही अभियानलाई माध्याम बनाउँदै भावी योजना तर्जुमा गर्न पनि सहयोग गर्ने अनुमान गरेको छ। जनप्रतिनिधि र जनताबीच सोझो सम्पर्क गराउने यो कार्यक्रम प्रभावकारी हुने अनुमान गाउँपालिकाको छ।

हाकिम गुरुङका अनुसार लिम्चुङबुङ गाउँपालिकामा ५ वडा तथा ५४ वटा टोल विकास संस्थाहरु दर्ता भएर क्रियाशिल छन्। अध्यक्ष राई नेतृत्वको टोली प्रत्येक वडावडा पुगेर वडाध्यक्ष, सदस्यहरु र सचिवसमेत सबै टोल विकास संस्था जाने कार्यक्रम छ। जनतासँग भेटघाट र छलफल अन्तरक्रिया गर्दा दिनमा २ वटासम्म टोल विकास संस्थामा कार्यक्रम गर्ने कार्यतालिका बनाइएकाले झण्डै १ महिना लाग्ने गुरुङले बताए।  

पुस ५ गतेदेखि सुरु अभियान प्रभावकारी र सफलतापूर्वक सम्पन्न गर्न सबै वडाध्यक्ष, सचिव र टोल विकास संंस्थाका पदाधिकारीलाई समन्वय र सहकार्यका लागि गाउँपालिकाले आवश्यक निर्देशनात्मक पत्राचारसमेत गरिसकेको उनले बताएका छन्।  

 

क्याप्सनः लिम्चुङबुङ गाउँपालिका। तस्विरः महेश्वर

 

प्रकाशित: ५ पुस २०७९ ०५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App