५ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

काबुलबाट १२ नेपालीको शव ल्याइँदै, प्रधानमन्त्री विमानस्थल जाने

काठमाडौं—  अफगानस्तिानको काबुलमा सोमबार भएको आत्माघाती आक्रमणमा मारिएका १२ नेपालीको शव नेपाल वायु सेवा निगमको विमानबाट बुधबार दिउँसो काठमाडौं ल्याइँदैछ। काबुलबाट दिउसो २:३० बजे शव बोकेको जहाज काठमाडौं आइपुग्ने बताइएको छ।

नेवानिको आए २४४२ एयरबस बिहान साढे ३ बजे काबुलका लागि उडेको थियो। काबुलबाट नेपाल फर्किने समय २:३० भएको बताइएको छ। विमानको लाइभ अपडेट दिने फ्लाइटराडरका अनुसार नेवानिको जहाज काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंका लागि उडिरहेको छ।

मृतकको शव काठमाडौं ल्याइपुर्‍याइँदा प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाने तयारीमा छन्। प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थल जाने कुराको जानकारी विमानस्थलस्थित सेना, प्रहरी तथा अध्यागमनका उच्च कर्मचारीहरुलाई दिइएको छ। प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले विमानस्थल जानका लागि प्रधानमन्त्री अाेलीका अन्य कार्यक्रमहरु स्थगित गरिएको जनाएको छ।

हिजो मंगलबार सरकारले आत्मघाती आक्रमणमा मारिएको नेपालीको शव ल्याउन नेवानिको जहाज पठाउने निर्णय गरी बुधबार बिहान विमान पठाएको हो। एयरबस ३२०–२३३ सो जहाजमा अफगानिस्तानबाट नेपाल फर्किन चाहने अन्य नेपालीलाई निःशुल्क ल्याउनेछ। पाकिस्तानका लागि कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालले अफगानिस्तान पुगेर सो कार्यका लागि संयोजन गरिरहेका छन्।

नेवानिको जहाजसँगै सरकारको एक प्रतिनिधिमण्डल पनि काबुल पुगेको छ। टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदी, गृहका महेश दाहाल तथा वैदेशिक रोजगार प्रवद्र्धन विभाग र पर्यटन मन्त्रालयका एक एक जना प्रतिनिधि रहेका छन्।

काबुल पुगेको टोलीमा नेपाली सेनाका दुई चिकित्सक र पारामेडिकल अफिसर र एयर लाइजन अफिसर पनि छन्। यस्तै, विशेष ब्युरोका एसपी सुदीप गिरीको नेतृत्वमा एक जना डिएसपी र एक जना नायब निरीक्षक काबुल पुगेका छन्। सेनाले चार जनाको इभाकेसन टिम बनाएको जानकारी दिए।

१ करोड रुपैयाँ खर्च

निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार अफगानिस्तान गएर फर्किंदा करिब १ करोड रुपैयाँ उडान खर्च लाग्छ। काठमाडौं–काबुलको एकतर्फी उडान करिब तीन घन्टा हुनेछ। निगमको एयरबस जहाज १५८ सिट क्षमताको छ।

शव ल्याउने तयारीका लागि मंगलबार दिउँसो पराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा गृहमन्त्री शक्तिबहादुर बस्नेत, नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, श्रममन्त्री दीपक बोहोरासहित नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाली सेना, नेपाल प्रहरीसहितको प्रतिनिधिको बैठक भएको थियो ।

तीन घाइतेलाई उपचारका लागि दिल्ली लगिँदै

सोमबार बिहान आतंकवादी समूह तालिबानले काबुलमा गरेको आत्मघाती आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो भने ७ जना घाइते छन्। तीमध्ये मानबहादुर थापा र कृष्णबहादुर देउजालाई मंगलबारै नयाँदिल्ली ल्याई एपोलो अस्पताल भर्ना गरिएको छ। ‘थप तीन जनालाई आज बुधबार नयाँदिल्ली लगिँदैछ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले भने, ‘सम्बन्धित कम्पनीले नै उपचारका लागि दिल्ली पठाएको हो।’ घाइतेमध्ये च्याङ्बा तामाङको अवस्था गम्भीर रहेकाले चिकित्सकको अनुमतिपछि मात्रै थप उपचारका लागि बाहिर लगिने उनले जानकारी दिए।

क्यानडेली दूतावासको सुरक्षागार्डका रुपमा कार्यरत नेपाली बेलायती सुरक्षा कम्पनीअन्तर्गत अफगानिस्तान पुगेका थिए। द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानमा ९ हजारभन्दा बढी नेपाली कानुनी रुपमा पुगेका छन् भने त्योभन्दा ठूलो संख्यामा गैरकानुनी रुपमा बस्दै आएका छन्।

प्रकाशित: ८ असार २०७३ ०५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App