५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

‘जनताले रवि लामिछानेमाथि अन्याय नै भयो भनिरहेका छन्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर अभियान चलाएको छ। अहिलेसम्म २० लाखभन्दा बढी हस्ताक्षर सङ्कलन भइसकेको छ। सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले भैरहवा कारागारमा छन्। उनी कारागार पुर्‍याइनुलाई रास्वपाले ‘राजनीतिक प्रतिशोध’ भनिरहेको छ। त्यही प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान जारी राखिएको रास्वपा नेताहरूले बताउने गरेका छन्।

रास्वपाले हस्ताक्षर अभियानलाई वडा तहसम्म विस्तार गरेको छ। वडा, पालिका, जिल्ला हुँदै प्रदेश भएर केन्द्रमा अद्यावधिक हुने हस्ताक्षर सङ्कलनका क्रममा रास्वपाले जनतासँग संवाद पनि गरिरहेको छ। त्यस क्रममा जनताले लामिछानेका प्रति सहानुभूति जनाइरहेको नेताहरू बताउँछन्। ‘जनताले रवि लामिछानेप्रति सहानुभूति जनाइरहेका छन्। अन्याय नै भएको छ भनेर भनिरहेका छन्,’ रास्वपा केन्द्रीय सदस्य विजय जैरूले भने।

लामिछाने दोषी छैनन् भनेर संसदीय समितिको प्रतिवेदनले नै भनिसकेको भए पनि पछि उनीमाथि अनेकन् प्रकारका मुद्दा लगाइएको जैरू बताउँछन्। ‘उहाँको कुनै प्रत्यक्ष संलग्नता छैन भनेर संसदीय प्रतिवेदनले नै भनेको अवस्था हो। तर, पछि कहिले ठगी, कहिलेसम्पत्ति शुद्धीकरण, के-के हो के-के मुद्दा चलाइयो उहाँमाथि। उहाँ त कर्मचारी मात्रै हो नि। उहाँको कुनै पनि संलग्नता छैन। पछि गएर सरकार परिवर्तन भयो, दुईतिहाइको सरकार हुनेबित्तिकै उहाँचाहिँ वास्तविक सहकारी गठ भनेर मुद्दा लगाउने कुरा भयो। त्योचाहिँ प्रतिपक्ष मानसिकता भयो,’ जैरूले नागरिकसँग भनेका छन्।

जनताले पनि यो कुरा यही रूपमा बुझेको जैरूको जिकिर छ। हस्ताक्षर सङ्कलन गर्ने क्रममा आफूहरूले नेतृत्व र पार्टीको सम्बन्धमा जनतामा कस्तो ‘मनोभावना’ छ भनेर पनि हेरेको उनले बताएका छन्। ‘यो अभियान हामीले मूलत: मनोभावना बुझ्नकै लागि गरेका हौँ। कुनै अदालतको मानहानि वा प्रश्न उठाउनका लागि यो अभियान चलाएका होइनौँ। जनताले के भन्छन् भनेर हेर्न मात्रै खोजेका हौँ। तर, जनताले अत्यधिक रूपमा रवि लामिछाने खोजेका छन्, उहाँमाथि अन्याय, राजनीतिक प्रतिशोध भयो भनिरहेका छन्,’ उनले भने।

अभियान सफल भइरहेको भनाइ उनको छ। यो अभियानला कम्तीमा तिहारसम्म लम्ब्याउने तयारी गरिएको पनि उनले बताए। ‘पुराना राजनीतिक दलका सदस्यता लिएका व्यक्तिहरूले पनि हाम्रै अगाडि सदस्यता च्यातेर हस्ताक्षर गर्नुभएको छ। यस अर्थमा हाम्रो अभियान सफल भइरहेको छ,’ उनले भने, 'यसलाई कम्तीमा दुई महिनासम्म लाने भन्ने तयारी छ।'

यो पनि पढ्नुहोस्

रविको पक्षमा २० लाख हस्ताक्षर र ४४ लाख चन्दा सङ्कलन

प्रकाशित: ३१ असार २०८२ २०:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App