३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

ऐतिहासिक तथा धार्मिक महत्व रहेको यहाँको दुप्चेश्वर महादेव मन्दिरमा धान्यपूर्णिमाका अवसरमा लाग्ने मेलामा दर्शनार्थीको भीड लागेको छ।

मोक्षदा एकादशीदेखि सुरु भएको मेला भोलि पूर्णिमासम्म विशेष रूपमा लाग्ने मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए।

उनका अनुसार, यसवर्ष चतुर्दशी र पूर्णिमा एकैदिन परेकाले मुख्य दर्शनको घुइँचो आजैदेखि लागेको हो।

आज बिहानैदेखि साँझ ५ बजेसम्म १५ हजारभन्दा बढी भक्तजनले मन्दिरको दर्शन गरेको अनुमान छ। भोलि पूर्णिमाका दिन यो सङ्ख्या अझै धेरै हुने दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

मेलामा विशेषगरी बाँस र निगालोका चोयाबाट बनाइएका धुन्से, डोका, भकारी, नाङ्लोलगायत हस्तकलाका सामग्रीको कारोबार हुने स्थानीय राजकुमार श्रेष्ठको भनाइ छ।

गाई भैंसीलाई धुवाउने परम्परागत धुपी र शिखरबेंसी क्षेत्रमा उत्पादन हुने समुन्द्रफिनी जातको धानको चामलसहित अन्य कृषिउपजको व्यापार मेलाको मुख्य आकर्षण मानिन्छ।

प्रकाशित: १७ मंसिर २०८२ १८:४४ बुधबार