४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गैंडा जोगाएका उम्मेदवार

कमलजंग कुँवर।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मैदानमा उत्रिएका राजनीतिक दलका नेताहरू मतदातासामु जाँदै गर्दा धेरै खाले सपना बाँड्न व्यस्त छन्।

सडक, खानेपानी, बिजुली, स्वास्थ्य चौकी, विद्यालय, पुलपुलेसा जस्ता भौतिक पूर्वाधारमा जोड दिँदै दलका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। घरको आँगनदेखि खेतबारीसम्म पुगेर नेताहरू मतदाता भेट्दै भोट माग्छन्। मतदातासामुु पुगेका सबैजसो नेताका चुनावी अजेन्डा एकैखाले छन्।

राजनीतिक दलका यिनै उम्मेदवार बीचमा कमलजंग कुँवर ५१ पनि चुनावी मैदानमा छन्। तर कुँवर न त कुनै दलनिकट छन्, न दलका उम्मेदवारले देखाएजस्तो सपना बाँड्नमा व्यस्त छन्। उनी त केवल प्रकृति र संरक्षणसँग सम्बन्धित रहेर चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका कुँवर कास्की-३ का प्रतिनिधिसभा उम्मेदवार हुन्। प्रकृति र संरक्षणप्रेमी उम्मेदवार कुँवरलाई निर्वाचन आयोगले चुनाव चिन्ह पनि माछा नै दिएको छ।

कमलजंग कुँवर, संरक्षणका क्षेत्रमा नयाँ नाम होइन, नयाँ पुस्ताले उनलाई नचिन्न पनि सक्छ। तर जो प्रकृतिसँग रमाउन चाहन्छ, संरक्षणमा जुट्न खोज्छ, उनीहरूबीच कुँवरको नाम उँचो छ। अझ त्यसमा पनि गैंडा संरक्षणको नाम आउँदा कुँवरलाई जोकोहीले भुल्न सक्दैन। किनकि द्वन्द्वकालमा चितवन राष्ट्रिय निकुञ्जमा धमाधम एकसिंगे गैंडा मारिँदा त्यसलाई रोक्न कुँवरको नेतृत्वमा टिम सक्रिय हुँदा गैंडाको चोरी-निकासी रोकिएको थियो।

२०५९ देखि २०६३ सम्म चितवन राष्ट्रिय निकुन्जमा गैंडाको चोरी-सिकार निकै नै बढेर गैंडा नै लोप हुने अवस्था आएपछि सरकारले कुँवर नेतृत्वको टिम खटाएको थियो। कुँवर त्यही टिमको सक्रियताका कारण गैंडा मार्ने क्रम रोकिएको थियो। गैंडाको चोरी-सिकारी शून्यमा झार्न समेत टिम सफल भएको थियो। त्यही सेरोफेरो पारेर कुँवरले ‘गैंडालाई चार वर्ष’ पुस्तक पनि लेखेका थिए।

संरक्षणका कुरा उठाएर नथाक्ने उनै कुँवर यतिखेर चुनावी मैदानमा छन्। चुनावमा संरक्षणका कुरा अरू दलका उम्मेदवारले नउठाउँदा कुँवर चिन्तित छन्। कुँवर भन्छन्, ‘चुनावमा जित्ने र हार्नेभन्दा पनि मुद्दा कसले कस्तो उठायो भन्ने कुरा महत्वपूर्ण हुन्छ। संरक्षणका मुद्दामा अरू दलको ध्यान पटक्कै गएको छैन।’ आर्थिक विकासको मूल आधार पर्यटन, प्रकृति र कृषि हो तर अरू दलले यसलाई प्राथमिकता दिएका छैनन्। अरू सबैजसो दल बाटो, खानेपानीको नारा देखाएर मतदाता तान्न व्यस्त छन्।

कुँवर भन्छन्, ‘दलका उम्मेदवारहरू मतदाता भेट्न जाँदा घरघरमा खानेपानी ल्याइदिन्छु भन्छन्, तर खानेपानी ल्याउने मुहान संरक्षण गर्छु भनेर कहिल्यै भन्दैनन्। मुहान कस्तो अवस्थामा छ हेर्दैनन्, केवल मुहानबाट बगेको पानी घरमा पुर्‍याउने सपना बाँड्छन्। घरघरमा ल्याइदिने पानीको मूल कहाँ अवस्थामा छ भन्ने पनि थाहा हुँदैन, संरक्षणको त कुरै भएन।’

दलको भन्दा फरक र केही संरक्षणसँग सम्बन्धित अजेन्डा लिएर कुँवरले चुनावी प्रतिबद्धता पत्र बनाएका छन्। कुवर उम्मेदवार भएको कास्की ३ आफैंमा पर्यटकीय क्षेत्र हो। प्रकृतिकै संरक्षणकै कारण त्यो क्षेत्र पर्यटनमा अब्बल छ; जसले धेरैलाई रोजगार दिएको छ। विदेशी मुद्रा भित्र्याउने उपाय दिलाएको छ।

कुँवर भन्छन्, ‘कास्की-३ आफैंमा हिमाल, पहाड र उपत्यकासहितको क्षेत्र हो; जहाँ अन्नपूर्ण संरक्षण क्षेत्र र पञ्चासे वन क्षेत्र समेटिएका छन्। सेती, मर्दी र मादी खोलाको जलाधार क्षेत्र हो। फेवातालको सिमसार पनि यसैमा पर्छ। करिब पाँच सय थरीका चराचुरुङ्गीको बासस्थान यही क्षेत्रमा छ। जडीबुटीका लागि पनि महत्वपूर्ण क्षेत्र हो। पूरै क्षेत्र पर्यटकीय क्षेत्र हो।’

‘मेरो निर्वाचन क्षेत्र पर्यटनमा समेटिएको छ। ९० प्रतिशत क्षेत्रले पर्यटन समेट्छ। यो जलाधार क्षेत्रलाई संरक्षण गर्नुपर्छ’, उनले भने, ‘जलाधार क्षेत्रका कारण तल्लो तटीय क्षेत्रले लिएको लाभलाई वातावरणीय सेवा भुक्तानीका आधारमा माथिल्लो क्षेत्रसँग जोड्नुपर्छ। मेरो चुनावी जोड यसैमा छ।’

त्यसबाहेक मानव र वन्यजन्तुबीचको द्वन्द्व समाधान गर्न पनि भूमिका निभाउनुपर्ने उनले बताए। मानव-वन्यजन्तु द्वन्द्व समाधानका लागि नीति समेत बनाएका उनी प्रकृतिमैत्री पूर्वाधार नबनाउँदाको क्षतिबारे सचेत छन्। कुँवर भन्छन्, ‘प्रकृति नासियो भने हामी सबै सकिन्छौं। मानव सभ्यताको उत्पत्ति नै प्रकृतिबाट भएकाले प्रकृति विनाससँगै हाम्रो पनि विनास हुन्छ।’  

प्रकाशित: २८ कार्तिक २०७९ ०३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App