नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गरेका छन्।
शनिबार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन्। उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे।
उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए। उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरे। जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने उनको प्रतिवद्धता थियो। उनले नेकपा एमालेले यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा ठूलो जित दर्ता गर्ने बताए।
प्रकाशित: २६ कार्तिक २०७९ १०:५१ शनिबार