७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दीपक मनाङेलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्यका लागि मनाङ ‘ख’ उम्मेदवार रहेका राजीव गुरुङ (दीपक मनाङे) लाई स्पष्टीकरण सोधेको छ।

उम्मेदवार गुरुङले निर्वाचन खर्चका सम्बन्धमा ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाखभन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ, ३० लाखमा नेपालमा चुनाव जित्छ यार ! मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ’ भनी दिएको अभिव्यक्ति र श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधिएको हो।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम मङ्सिर ४ हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारका लागि कायम गरिएको खर्चको सीमा मिति २०७९ असोज ३१ गतेको नेपाल राजपत्रमा प्रकाशन गरिसकेको छ।

आयोगले गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेशसभा क्षेत्र नं ‘ख’ का लागि तोकेको खर्चको सीमा २३ लाख रहेको छ। गुरुङलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोगमा वा जिल्ला निर्वाचन कार्यालय मनाङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ।

प्रकाशित: १३ कार्तिक २०७९ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App