१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टीभित्रै रहेर संघर्ष गर्छु: रावल

एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे पनि देशभर एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै एमाले नेता भीम रावलले पार्टी नछाड्ने घोषणा गरे। एमालेले संघीय संसद्को टिकट नदिएपछि मौन रहेका एमाले नेता रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेमै रहने र पार्टीको गति र मतिअनुसार आफूले पाइला चाल्ने बताउँदै पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे। उनले अछामको विषयमा त्यहाँको जिल्ला कमिटीको निर्णयअनुसार आफ्नो धारणा आउने समेत बताए।  

एमाले नेता रावलले स्वदेशी र विदेशी प्रतिक्रियावादी र नेपालको स्वतन्त्रता र समृद्धिमा घात गर्नेहरूबाट आफू टाढा रहने जनाए। उनले आफ्ना घोषित दर्शन, सिद्धान्त र कार्यक्रममा दृढताका साथ उभिँदै नेकपा एमाले नेपालको संविधानद्वारा निर्दिष्ट स्वतन्त्रता र स्वाधीनताको बाटोबाट नेपालको सर्वोपरि हित एवं समृद्धिको मार्गमा चलोस् भन्दै पार्टीका इमानदार नेता तथा कार्यकर्ताले भूमिका खेल्नुपर्छ भन्ने आफ्नो धारणा रहेको र त्यही आह्वानपछि तत्काल पार्टीको मूल नेतृत्वबाट बाहिर रहे पनि आफू पार्टीभित्रै संघर्ष गर्ने पक्षमा रहेको उनले संकेत गरेका थिए।  

१०औं महाधिवेशनमा एमाले अध्यक्ष ओलीसँग पराजित भएका रावल हाल पार्टीको साधारण सदस्य मात्रै छन्। उनलाई अछाम पार्टी कमिटीले सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर ओलीले रावल पार्टीको सम्पर्कमा नभएको भन्दै माओवादीबाट एमालेमा रहेका विवादास्पद छविका व्यापारी झपट बोहोरालाई टिकट दिएका छन्। अछाम जिल्ला कमिटीले अहिलेसम्म बोहोरालाई सहयोग गर्ने कि नगर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन। रावलले टिकट नपाए पनि आफूनिकटका नेतालाई पार्टी नछाड्न संकेत गरेका थिए। ‘उहाँले पार्टी छाड्नुहुन्न, अहिले पनि पार्टीका सबै उम्मेदवारलाई जिताउने प्रण गर्नुभएको छ, यसको अर्थ पार्टीभित्रै संघर्ष गर्ने भन्ने हो, तर देशव्यापी रूपमा पार्टी कार्यकर्ताको अपार माया रहेका कारण उहाँले पार्टीको आगामी नेतृत्वको तयारी गर्ने सम्भावना रहेको छ,’ उनीनिकट रहेका एक नेताले भने।  

रावलले पत्रकार सम्मेलनमा राखेको धारणाले पनि उनी आगामी दिनमा एमालेको नेतृत्वमा आउने चाहना व्यक्त गरेको देखिन्छ। ‘घोषित सिद्धान्त र कार्यक्रमको रक्षा नगरी पार्टीको रक्षा हुन सक्दैन। राष्ट्रिय हित र स्वाधीनताको पक्षमा निर्भीकताका साथ नउभिई बाह्य हस्तक्षेप र षड्यन्त्रलाई रोक्न सकिन्न। यही मान्यताका साथ म आजको बिन्दुसम्म प्रयासरत छु। देश र जनताको पक्षमा मैले उठाउँदै आएको झण्डा अविचलित निरन्तर समाति नै रहनेछु। देश र जनताको हकहितविरुद्धका विचार र गतिविधि विरुद्ध संघर्ष जारी रहनेछ। यसमा मलाई विश्वास छ, नेपाली जनता र पार्टीका अधिकांश कार्यकर्ता–सदस्यको साथ–सहयोग रहनेछ। पार्टी कुनै अन्धविश्वास र अन्धभक्तको मन्त्र जप्ने थलो होइन। देश र जनताको हितमा क्रियाशील रहनुपर्ने गतिशील संस्था हो,’ उनले भने। एमालेका उपाध्यक्ष भएका रावलले राष्ट्र र राष्ट्रियताको सवालमा निरन्तर कुरा उठाउँदै आएका छन्। उनले एमाले अध्यक्ष ओलीमाथि गम्भीर प्रकृतिका आरोप पनि लगाएका छन्। उनले चुच्चे नक्सा जारी गर्न ओलीले आनाकानी गरेको आरोप लगाएका छन्। तर इतिहासले ओली सरकारकै पालामा चुच्चे नक्सा जारी भएको पुष्टि गर्दछ। तापनि रावलले ओली त्यसका लागि तयार नभएको आरोप लगाएका छन्। उनले आफ्नो टिकट काटिनु देशीविदेशी शक्तिको समेत हात रहेको संकेत गरेका छन्। ‘नेकपा ९एमाले० मा मैले पाँच दशकसम्म धेरै पसिना बगाएको छु। अनेकौं जोखिम र कष्टकर क्षणको सामना गर्दै यस पार्टीको विस्तार र विकासमा योगदान गरेको छु। यहाँ मैले उम्मेदवारी पाएँ कि पाइनँ भन्ने विषयभन्दा नेकपा (एमाले)को घोषित दर्शन, सिद्धान्त, नीति र कार्यक्रमविपरीत दक्षिणपन्थी शक्ति र व्यक्तिहरूसँगको साँठगाँठ तथा स्वदेशी र विदेशी प्रतिक्रियावादीसँग सामीप्य र चलखेलले उम्मेदवारीमा दखल भएको त होइन भन्ने चिन्ता हो,’ नेता रावलले भनेका छन्, ‘नेपालको राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान, अखण्डता तथा विधि एवं सुशासनको पक्षमा उठ्ने आवाजलाई संसद्मा कमजोर बनाई दमन गर्ने खेलबाट नेपालको भविष्यमा पर्ने नकारात्मक असरप्रतिको सरोकार हो। मेरो उम्मेदवारी रोकिनुमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीले गाँज्दै आएको राजनीतिक परिवेशका वाहकहरू जिम्मेवार रहेको सर्वत्र चर्चा छ। २००७ सालपछिको कुरा गर्दा पनि देशभक्ति र स्वाभिमानको बाटोमा दृढतापूर्वक उभिँदा सुदूरपश्चिमका भीमदत्त पन्तलाई भारतीय सेना बोलाएर हत्या गरिएको र जननेता मदन भण्डारीलाई त्रिशूलीमा खसालिएको दुर्दान्त इतिहास हाम्रा सामु छ। तर सँगै न्याय र स्वतन्त्रताका लागि एवं बाह्य आक्रमणकारीविरुद्ध वीरतापूर्वक लडेको नेपालीको देशभक्तिपूर्ण गौरवशाली इतिहास पनि जीवित छ। विगतको इतिहास र वर्तमान परिवेशलाई मनन गर्दै नेकपा ९एमाले० का माक्र्सवादी दर्शन र देशभक्तिपूर्ण विचारयुक्त नेता र कार्यकर्ताले गलत पक्षविरुद्ध र सही पक्षको रक्षामा एक भएर सशक्त रूपमा अघि बढ्नु आवश्यक देखिएको छ।’  

नेता रावलले एमाले राष्ट्रियताको पक्षमा उभिएको र आफूले त्यसको वकालत गरिएको विषयलाई पनि प्रस्टसँग राखेका छन्। ‘पार्टीको विशाल पंक्तिमा रहेका देशभक्त, सिद्धान्तनिष्ठ र इमानदार नेता तथा कार्यकर्ताले पार्टीलाई देश र जनताको सर्वोपरि हितमा अघि बढाउन पार्टीले भन्दै आएको कानुनीराज, विधि–पद्धति अनुरूप राज्य र पार्टी सञ्चालन, भारतसँगको १९५० को सन्धि एवं असमान र अपमानजनक गोर्खा भर्ती सन्धिको खारेजी, नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायत अतिक्रमणमा परेका भूभागमा नेपालको हकभोग कायम गर्ने, तराईमा डुबान र सिमानामा दशगजा अतिक्रमणको समस्या समाधान गर्न अग्रसर रहेको छु,’ रावलले भने। उनले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि स्वदेशी कच्चा पदार्थमा आधारित राष्ट्रिय उद्योगधन्दाको विकास गरी राष्ट्रिय उत्पादन बढाउने, प्राकृतिक स्रोत र जनशक्तिलाई देशविकासमा सदुपयोग गर्ने, जनसंख्याको राजनीतिबाट नेपालको स्वाधीनता समाप्त गर्ने खेलबाट जोगिन नागरिकता विदेशीहरूका लागि खुला नगरी नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्ष स्थायी आवासीय परिचयपत्र दिएर त्यसपछि मात्र राजनीतिक अधिकार वा नागरिकता दिने, बाह्य हस्तक्षेप र दबाबबाट राज्यका सबै अंग र क्षेत्रलाई मुक्त गर्ने, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिलाई व्यवहारमा दृढताका साथ अवलम्बन गर्ने, शोषण, अन्याय र विभेदका सबै रूपहरूलाई समाप्त गर्ने जस्ता विषयमा भूमिका खेल्नेछन् भन्ने आशा र अपेक्षाका साथ पार्टीकोे सिद्धान्त र कार्यक्रमको पक्षपोषण तथा पार्टी संगठनको रक्षा र विकासका खातिर चुनौती र अपमानको सामना गरेर भए पनि त्यसको पक्षमा रहेको बताएका छन्।

प्रकाशित: २८ आश्विन २०७९ ०२:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App