१२ मंसिर २०८१ बुधबार
image/svg+xml
राजनीति

अखण्ड मगरात प्रदेश माग

चितवन- नेपाल मगर संघको ११ औं राष्ट्रिय महाधिवेशन शनिबार भरतपुरमा सुरु भएको छ। सभामुख ओनसरी घर्तीमगरले उद्घाटन गरेको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुधबार सकिनेछ। मगर समुदायको बाक्लो बसोबास रहेको क्षेत्र मगरात प्रदेश घोषणा हुनुपर्ने मगर संघको मुख्य माग छ। मगरात क्षेत्रलाई संविधानले तीन प्रदेशमा विभाजन गरेकोमा संघका पदाधिकारीले आपत्ति जनाएका छन्।मगरात प्रदेशअन्तर्गतका भ्रभाग संविधानले प्रदेश नम्बर ४, ५ र ६ मा विभाजित गरेको संघका अध्यक्ष महेन्द्र थापा मगरले बताए। तनहुँ, म्याग्दी, बाग्लुङ, पाल्पा, प्युठान र रोल्पा मगर समुदायको बाक्लो बस्ती भएका जिल्ला हुन्। यीसहित आसपासका १९ जिल्ला मिलाएर मगरात प्रदेश घोषणा गर्नुपर्ने संघको माग छ। अहिलेको प्रदेश विभाजन वैज्ञानिक नभएको संघको टिप्पणी छ।

'ऐतिहासिकता, जातीय पहिचान, सामर्थ्य र उत्पीडनलाई मुख्य आधार बनाएर प्रदेश विभाजन गरिनुपर्थ्याे। राज्य पुनर्संरचना समिति तथा राज्य पुनर्संरचना आयोगले गरेको सिफारिसमा पनि यसैलाई आधार मानिएको थियो। तर पछि त्यसलाई लत्याएर सात प्रदेश तोकिएको छ,' संघका महासचिव नवीन रोक्कामगरले भने। पहिचानसहितको संघीयताले मात्रै जनतालाई राज्यको मूल प्रवाहमा ल्याउने उनले बताए।

२०६८ सालको जनगणना अनुसार देशमा सबैभन्दा धेरै जनसंख्या भएको आदिवासी जनजातिमा मगर समुदाय अग्रस्थानमा रहेको जानकारी अध्यक्ष थापाले दिए। महाधिवेशनको मूल नारा 'अधिकारसम्पन्न एकीकृत मगरात स्वायत्त प्रदेश प्राप्तिका लागि साझा अभियान' छ। २०१२ सालदेखि संगठित हुने अभियानमा लागेका मगरहरूले २०४९ सालमा 'नेपाल मगर संघ' लाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका थिए। त्योभन्दा १० वर्षअघि २०३९ सालमै तनहुँको दमौलीमा संघको पहिलो अधिवेशन भएको थियो।

प्रकाशित: १८ वैशाख २०७३ २०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App