१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

पार्टी खोल्न उचाल्नेले नै छाडे भट्टराईको साथ

फाइल तस्बिर

उपेन्द्र यादवसँगको सहकार्यपछि नयाँ पार्टी खोलेका बाबुराम भट्टराईलाई आफ्नै भनिएकाहरूले समेत धोका दिएका छन्। यहाँसम्म कि, नयाँ पार्टी खोल्न उचाल्न र नयाँ पार्टी (नेपाल समाजवादी पार्टी)को डिजाइनसमेत गरेकाहरूले भट्टराईको साथ छाडेका हुन्।

जसपामा विवाद हुँदा हरेक बैठकमा भट्टराईलाई कार्यकारिणी सदस्यद्वय डम्मर खतिवडा र प्रशान्त सिंहले सक्रिय साथ दिने गर्थे। अब नयाँ पार्टी खोल्नु पर्छ भन्ने सुझाव यी दुई नेताहरूले नै दिने गर्थे। यी नेताहरूको सुझाब अनुसार भट्टराईले पार्टी खोले, तर पार्टी गठन पनि खतिवडा र सिंह अहिले भट्टराईको साथमा छैनन्।

भट्टराईलाई साथ दिएका अन्य दुई नेता मदन राई र सूर्य राइले पनि भट्टराईलाई छाडेका छन्। यसअघि, यी दुई नेता जसपाका केन्द्रीय सदस्य थिए।

लामो समयका लागि भन्दा पनि कुनै पार्टीसँग एकीकरण गराउने हिसाबबाट भट्टराईले पार्टी खोलेको भन्दै उनीहरूले भट्टराईको साथ छाडेका हुन्। ‘अब हामीलाई कुनै किसिमको दबाब थिएन। वैकिल्पक धारको शक्ति बनाउन सक्थ्यौं तर उहाँ (भट्टराई)ले त्यस्तो गर्न चाहनु भएन,’ प्रशान्त सिंहले ‘कुनै पार्टीमा एकीकरण गराउने अथवा अरू पार्टीसँग मिलेर समाजवादी केन्द्र बनाउने उद्देस्यले पार्टीको उहाँले संरचना तयार गर्नुभयो।’ आफू कुनै पनि अबस्थामा कम्युनिस्ट हुन नसक्ने भएकाले भट्टराईको नयाँ पार्टीमा जान नसकेको उनको भनाइ छ। ‘उहाँ (भट्टराइ)मा कम्युनिस्ट पार्टीसँग एकीकरण गर्ने चाहना देखियो। त्यसैले बेलैमा छाडेको हुँ’उनले भने। यसैगरी, खतिवडा पनि नेपाल समाजवादी पार्टीमा निष्कृय छन्। आगामि चुनावसम्म नेसपाको साधारण सदस्य भएर बस्ने, त्यसपछि निर्णय गर्ने खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्। 

यसैगरी, मदन राइ र सूर्य राइ पनि नेसपामा नरहेको जनाएका छन्। त्यसो त, भट्टराइलाई धोका दिने नेताहरू यती मात्र छैनन। स्थानीय तहको चुनाव अघिसम्म इस्तिायक राई, प्रदीप यादव, महेन्द्र यादव, राजकिशोर यादव, अमृता अग्रहरी लगायतका नेताहरू भट्टराईको पक्षमा खुलेर लागेका थिए। अझ त्यसमा यादवविरुद्ध भट्टराईलाई उचाल्न राई र प्रदीप यादवले हुनसम्म प्रयास गरे। राइ, प्रदीप यादव, राजकिशोर यादव, महेन्द्र यादवको बलमा भट्टराई र उनी पक्षधर नेताहरू कार्यकारिणी अध्यक्ष यादवसँग निरन्तर प्रतिवाद गरीरहे। तर भित्रभित्र परिस्थिति फेरिँदै गयो। जसपाबाट सरकारमा मन्त्री फेर्ने चर्चा सुरु भयो। त्यसबेलासम्म राई र प्रदीप यादवले कित्ता परिवर्तन गरीसकेका थिए। राई र प्रदीप यादवलाई मन्त्री बनाउन कार्यकारिणी अध्यक्ष यादव तयार भए। मन्त्री हुने आकाक्षांमा यी दुइ नेताले रातारात कित्ता परिवर्तन गरे।

भट्टराईलाई एक्ल्ल्याउन उपेन्द्र यादवले अर्को चलाखी पनि खेले। भट्टराईको कित्तामा लाग्न नदिन उनले राजेन्द्र श्रेष्ठलाई सरकारबाट फिर्ता बोलाएनन्। यसबाट श्रेष्ठ पनि यादवकै कित्तामा सक्रिय भए।

गत असारमा जब भट्टराई पक्षले यादव पक्षलाई काउन्टर दिन छुट्टै बैठक बोलाउने निर्णय गर्‍यो, त्यसबेला परिस्थिति झनै फेरियो। राजकिशोर यादव र अमृता अग्रहरी भट्टराईले बोालाएको बैठकमा गएनन्। भट्टराईलाई अहिले महेन्द्र यादव र यादव निकट नेता रमेश यादवले मात्र साथ दिएका छन्। नेसपा भट्टराईको जीवनमा १३औं प्रयोग हो। यसअघि उनी १२ वटा पार्टीमा आवद्ध भइसकेका छन। यो अवधिमा केही पार्टी उनले आफै खोलेका छन्।

भट्टराईको राजनीतिक जीवन सन् १९७७बाट सुरु भएको हो। सन् १९७७मा उनी अखिल भारत विद्यार्थी संघको संस्थापक अध्यक्ष थिए। त्यसयता उनले विभिन्न १३ वटा पार्टी गठन गरीसकेका छन्।

सन् १९८१मा उनी नेपाल कम्युनिस्ट पार्टी को सदस्यता लिए। यो उनको पहिलो पार्टी थियो। त्यसपछि उनको जीवनमा पार्टी फेर्ने र नयाँ पार्टी गठन गर्ने क्रम जारी रह्यो। माओवादी पार्टी स्थापना काल देखि २०७२सालसम्म उनी माओवादीमै रहे। आफ्नो राजनीतिक जीवनको अवधिमा भट्टराई संयुक्त राष्ट्रिय जन आन्दोलनको केन्द्रीय प्रवक्ता, नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (मशाल), सर्वहारावादी श्रमिक संगठनको नेतृत्वमा रहे। यसैगरी उनी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र), संयुक्त जनमोर्चा, नयाँ शक्ति पार्टी, समाजवादी पार्टी र जसपाको नेतृत्वमा रहे।

संविधानसभाबाट २०७२ असोजमा संविधान जारी भएसँगै माओवादीबाट अलगिएका भट्टराईले २०७३ जेठमा नयाँ शक्ति नेपाल घोषणा गरेका थिए। २०७६ वैशाख २३ गते संघीय समाजवादी फोरमसँग पार्टी एकता गर्दै समाजवादी पार्टी नेपाल गठन गरेका थिए। २०७७ वैशाख १० गते समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकता भई जसपा गठन भएको उक्त दल २०७८ असार २२ गते फेरि विभाजित भएको थियो।

महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका थिए। लोसपा गठनपछि भट्टराई जसपाका संघीय परिषद् अध्यक्षको जिम्मेवारीमा थिए। तर जसपामा यादव र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा भट्टराइले फेरि नयाँ गठन गरेका हुन्।

उपेन्द्र र रेणबीचको सहकार्य तोडिँदै

जनता समाजवादी पार्टीको कार्यकारिणी समिति र केन्द्रीय समितिबाट राजिनामा दिएकी रेणु यादवले जसपा छाड्ने भएकी छन्। रेणु निकट स्रोतका उनी नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारी गरेका छन्। यसको लागि उनले नेपाली कांग्रेसका माथिल्लो तहका नेताहरूसँग कुराकानी गरीरहेको स्रोतले बतायो। रेणु आफैले पनि अब उपेन्द्र यादवसँग सहकार्य गर्ने सम्भावना निकै कम भएको बताएकी छिन्। उनले भनिन्, ‘अब उहाँ (उपेन्द्र यादव)सँग सहकार्य हुने सम्भावना निकै नै कम छ।’ अहिले आफू जसपाको साधारण सदस्य मात्र भएको उनले बताइन। उनले भनिन्, ‘मैले कार्यकारिणी र केन्द्रीय सदस्यबाट राजिनामा गरिसकेकी छु। अब केही दिनमै निर्णय गर्छु।’ उपेन्द्र र रेणुबीचको राजनीतिक सहकार्य २०६४को मधेस आन्दोलनपछि निरन्तर जारी छ।

प्रकाशित: २६ श्रावण २०७९ ०३:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App