सर्लाहीको बलरा नगरपालिको नगर प्रमुखमा पराजित नेपाली काँग्रेसका कौशलकिशोर सिंह राजपुत कार्यपालिका सदस्यमा निर्वाचित भएका छन्। नगर प्रमुखमा पराजित भएका सिंह अल्पसंख्यक समुदायबाट कार्यपालिका सदस्यमा विजयी भएका हुन्।
सर्लाहीको बलरा नगरपालिकामा ११ वडा रहेकामा नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा ४४ वडा सदस्य गरी ५७ जना नगर सभा सदस्य रहेका छन्। नगर सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिले मतदान गरी कार्यपालिका सदस्यको चयन गर्ने प्रचलन छन्। नगर प्रमुखमा पराजित भएपछि कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको तर्फबाट पुनः उम्मेदवार बनेका सिंहले ५७ मत मध्ये ३९ मत प्राप्त गरी विजयी भएका छन्।
नगर प्रमुखको उम्मेदवार बनेका सिंहले गत वैसाख ३० को निर्वाचनमा पराजित भएका थिए। बलरा नगरपालिकामा नगर प्रमुख र उपप्रमुख नेकपा माओवादी केन्द्रको तर्फबाट जित्दा नगर प्रमुखले चुनाव लडेको नेपाली काँग्रेस ६ वटा वडाको वडाध्यक्षसहित नगर सभामा करिब बहुमत हासिल गरेको थियो। बलरा नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका चार चार जना सदस्य कार्यपालिकामा निर्वाचित भएका छन्।
नगर प्रमुख पदमा पराजित भएपछि बलराका सर्वसाधारण नागरिकले आफूलाई कम्तीमा कार्यपालिकामा जानुपर्ने भनेर दबाब दिएको र पार्टीले पनि कार्यपालिकामा गएर जनताको सेवा गर्न पठाउने तयारी गरेपछि आफू जुनसुकै पदमा रहेर पनि जनताको सेवा गर्ने भएकोले कार्यपालिकाको सदस्यमा चुनाव लडेको बताएका छन्। कार्यपालिकाको सदस्यमा निर्वाचित भएपछि सिंहले जननिर्वाचित प्रतिनिधिहरुले आफूमाथि गरेको विश्वासमा आफू खरो उत्रिने बताएका छन्।
नगर प्रमुखमा पराजित उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएको सर्लाहीमा सम्भवतः पहिलो उदाहरण सिंह नै बनेका छन्।
प्रकाशित: १९ जेष्ठ २०७९ १२:३२ बिहीबार